कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाकाल केलाउने कला

सुशीला तामा‌ङ

काठमाडौँ — कोरोनाकालमा मानवीय गतिविधि घट्दा वन बढे । चराचुरुंगी रमाए । अनपेक्षित रूपमा मान्छे घरघरमै खुम्चिए । मान्छे घरमा खुम्चिनुले प्रकृतिको चक्रमा केही न केही प्रभाव अवश्य पर्‍यो । खोप सहज हुँदै जाँदा जनजीवन विस्तारै सहजीकरण भइरहेको छ । त्यो कस्तो असर हो जसले हामीलाई घर घरमा खुम्च्यायो भनेर केलाउनुपरे इशान परियारको चित्र हेरे पुग्छ ।

कोरोनाकाल केलाउने कला

काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा ई–आर्टस नेपालको आयोजनामा सुरु भएको प्रदर्शनीमा राखिएका चित्रले कोरोनाकालको असरलाई केलाएको छ । ‘हामी एउटै डुंगाका यात्री’ शीर्षकमा परियारले राखेका आफ्ना चित्रमा कोरोनाकालको असरलाई विभिन्न आयाममा केलाउन खोजेका छन् । प्रदर्शनमा उनीजस्तै थुप्रै कलाकारका कृति हेर्न सकिन्छ ।

‘महामारीमा ठप्प भएको कला प्रदर्शनीलाई सुचारु गर्ने उद्देश्यले जोखिम मोलेर भए पनि आँट गरेका हौं,’ कलाकार आशा डंगोलले भने, ‘हामीले नियमित गर्दै आएका प्रदर्शनी रोकिए, युवापुस्ताका कलालाई प्रवर्द्धन गर्न यस्तो प्रदर्शनको क्रमलाई फेरि जोडेका छौं ।’

गत वर्ष लकडाउनकै कारण फेस्टिभल रोकिएको थियो । यद्यपि ई–आर्टस नेपालले अनलाइन ग्यालरीमार्फत कला प्रदर्शनीहरू भने जारी राखेको उनले सुनाए । ‘महामारीको जोखिम हेरेर नै यो वर्ष भीडभाड हुने पाराको कार्यक्रम गरिएको छैन,’ उनले भने । प्रदर्शनीमा ६० जना कलाकारका २ सयको हाराहारी कलाकृति छन् ।

साताव्यापी प्रदर्शनीको सुरुवातका कलाकर्मीले एकअर्काका सिर्जना हेरे । कोरोनाकालका अनुभव साटासाट गरे । ई–आर्टसमा आबद्ध चित्रकार एरिना ताम्राकारले अनलाइन प्रदर्शनीमा कलाकारले गर्न नसकेको आनन्द अनुभव यहाँबाट हुने बताइन् ।

कलाकृति अवलोकनसँगै कामको समीक्षाका लागि भर्चुअल प्रदर्शनीभन्दा भौतिक नै उपयोगी हुने चित्रकार सविता डंगोलको भनाइ छ । उनले भनिन् । उनको कुरामा सही थप्दै चित्रकारहरू प्रमिला वज्राचार्य, सौरगंगा दर्शनधारी, मुना भँडेल, विनोद प्रधानलगायतकाले कलाको वास्तविक भाव बुझ्न भौतिक ग्यालरीको औचित्य रहेको सुनाए । आफ्नै अनुभव तथा धारणाहरू समेटिएका कलाकृतिका भाव सहभागी दर्शकलाई कलाकृति देखाउँदै बुझाउनुको बेग्लै आनन्द हुने सहभागी चित्रकारहरूको आशय थियो ।

हुन त महामारीकै बीच सिद्धार्थ आर्ट ग्यालरीले भौतिक रूपमै कला प्रदर्शनी सुरु गरिसकेको छ । कला र कलाकारलाई विस्थापित हुन नदिन प्रदर्शनी जरुरी रहेको ग्यालरीकी निर्देशक संगीता थापाको धारणा छ । ‘प्रदर्शनीलाई स्थगन गर्नुभन्दा सामान्य ढंगले सुचारु गर्न सबै कलाकारहरू जुट्नुपर्छ,’ उनले भनिन् ।

चित्रकार लक्ष्मण श्रेष्ठले कलालाई विस्तार गर्न ग्यालरीसँगै बाहिर आममानिसको पहुँचमा पनि कला ल्याउनुपर्ने बताए । उनले भने, ‘महामारीले कला क्षेत्र पनि प्रभावित छ । हामीले सिर्जनालाई भौतिक रूपमा पारखीसामु आर्ट ल्याउने कोसिस जारी राख्नुपर्छ ।’ आर्ट ग्यालरीमा आगामी आइतबारसम्म चल्ने प्रदर्शनीमा फोटोग्राफीको कलादेखि चित्र, मूर्तिकला, पौभा, प्रिन्ट मेकिङ, सेरामिक कलाहरू प्रदर्शित छन् । । मानव जीवनका विभिन्न आयामलाई कलाकारले आआफ्नो प्रस्तुतिका माध्यममा पस्केका छन् ।

अग्रज चित्रकारहरु किरण मानन्धर र मदन चित्रकारदेखि रवीन्द्र श्रेष्ठका कलाकृति, प्रदीप वज्राचार्यको ‘हेरिटेज’ सिरिजका धार्मिक सम्पदा, खोकोनाको परम्परागत संरचना, कैलाश श्रेठको राजनीतिक दलको खिचातानी, लकडाउनमा आममानिसले भोगेको पीडालाई दर्साएका कृतिहरु निकै चाखलाग्दा छन् । डंगोल र ताम्राकारसँगै ई–आर्टसमा चित्रकारहरु भाइराजा महर्जन, विनोद प्रधान र प्रमिला वज्राचार्य आवद्ध छन् भने सुजन श्रेष्ठ यस समूहका अगुवा हुन् ।

प्रकाशित : भाद्र १७, २०७८ १३:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?