कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

रंगमञ्चमा युद्धका घाउ

भर्चुअल माध्यमबाट देखाइए ४ लघु नाटक 
सुशीला तामा‌ङ

काठमाडौँ — अर्घाखाँचीको सिद्धधारामा २०६० असोज २५ मा सेनासँगको दोहोरो भिडन्तका क्रममा सल्यानको कुमाख–२ खारखोलाका लालबहादुर वलीको आँखामा गहिरो चोट लाग्यो ।

रंगमञ्चमा युद्धका घाउ

उपचार गर्न जाने क्रममा पक्राउ परेका उनलाई हिरासतमा करेन्ट लगाएर यातना दिएपछि उनको आँखाको ज्योति गुम्यो । माओवादी घाइते लडाकु, सल्यान दमाचौरकी सीता केसीसँग बिहे गरेका वलीले ऋण गरेर नै बमको छर्राबाट हड्डीमा क्यान्सरपीडित श्रीमतीको उपचार गरे । सशस्त्र द्वन्द्वले उज्यालो ल्याउने आसमा युद्धमा होमिएका वली दम्पतीको संसार नै अन्धकार छ । शारीरिक, मानसिक मात्र होइन, आर्थिक अभावको चपेटामा पिरोलिएका छन् दम्पती ।

केही महिनाअघि मात्र दाङबाट कान्तिपुरका लागि दुर्गालाल केसीद्वारा प्रेषित सशस्त्र युद्धमा होमिएका लडाकुहरूको पीडा समेटिएको समाचारमा वली दम्पती दसवर्षे सशस्त्र द्वन्द्वका प्रतिनिधिमूलक पात्र हुन् । द्वन्द्वका क्रममा हजारौंले ज्यान गुमाए, कैयौं घाइते भए । बेपत्ता र यौनहिंसामा परेकाहरूको यकिन तथ्यांक राज्यसँग नै छैन । विस्थापितहरूको पीडा ज्युँका त्युँ छ । यस्तै पीडालाई मण्डला थिएटरले रंगमञ्चका माध्यममा देखाउने जमर्को गर्‍यो ।

सन् २०१५ देखि हरेक वर्ष बेपत्ताविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सोमबार थिएटरले ‘युद्धका घाउहरू’ शीर्षकमा चारवटा लघु नाटक ‘थाहा’, ‘भँवर’, ‘लिई’ र ‘जिउँदो लास’ मञ्चन गराएको हो । मण्डला ड्रामा स्कुल पहिलो ब्याजका १६ जना प्रशिक्षार्थीर्मार्फत तयार गरिएको १२ देखि २० मिनेटका यी लघु नाटकलाई दर्शकले भर्चुअल माध्यममा नै हेरे ।

‘थाहा’ नाटकमा सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएका परिवारको पीडा प्रस्तुत गरियो । आवाजविहीन बनेका द्वन्द्वपीडित परिवारको आवाज न त राज्यले सुन्यो न त सत्ताले । हराएका परिवारका सदस्यको अवस्था के छ, कहाँ छन् र कहिले फर्किने आशामा रहेका परिवारको पीडा नाटकमा समेटिएको छ । यसलाई लेखन तथा निर्देशन प्रदीप ढुंगाना, शिव परियार, आदित्य मिश्रा र निरज चौधरीले गरेका हुन् ।

‘भँवर’ ले भने द्वन्द्वकालमा यौनजन्य हिंसाबाट प्रभावितहरूको कथा समेटेको छ । यौनजन्य हिंसाका विषयमा काम गरिएको ‘द किचन स्टारी’ सँग छलफल गरेर पीडितहरूको भोगाइ र अनुभवलाई समेटेर नाटक तयार गरिएको हो । यसमा तत्कालीन समयमा विभिन्न उमेर तथा वर्गका महिलाले भोगेका पीडा, उनीहरूको स्वास्थ्य अवस्था, सामाजिक तथा राजनीतिक दृष्टिकोण र राज्यले गरेको उपेक्षा समेट्ने प्रयास गरिएको थियो । नाटकको परिकल्पना, लेखन, निर्देशन तथा अभिनय समृद्धि नेपाल, पासाङ ल्हामु शेर्पा, सुस्मिता पोखरेल, अनिल कुर्मी र सुस्मिता गुरागाईंले गरेका हुन् ।

‘लिई’ मा तामे भान्जा भनिने गाउँको शिल्पी दलित पात्रको जीवन भोगाइ समेटिएको थियो । ग्रामीण भेगमा शिल्पमार्फत कृषिमा चाहिने उपकरण, दैनिक प्रयोगमा आउने हातहतियार बनाएर जीविका चलाइरहेका दलित समुदायका व्यक्तिलाई द्वन्द्वकालमा कसरी क्रान्तिकारीका रूपमा यातना दिइयो भन्ने कारुणिक दृश्य नाटकले जीवन्त रूपमा देखाएको थियो । क्रान्तिलाई सघाएको आरोपमा हातको औंला नै काटिदिएको पात्रको सत्य कथा समेटिएको नाट्य समूहको भनाइ छ । यसमा परिकल्पना, लेखन, निर्देशन सुमित्रा पेहिम र सञ्जय विश्वकर्माले गरेका हुन् भने विश्वकर्माको नै एकल प्रस्तुति रहेको थियो ।

त्यसैगरी, ‘जिउँदो लास’ भने सशस्त्र द्वन्द्वमा सेनाले आतंककारी घोषित गर्दै अनाहकमा ज्यान लिएकाका परिवारले भोग्नुपरेका पीडा समेटिए । धादिङको जोगीमारा गाउँका १७ जनालाई कालीकोटमा काममा खटिएकै बेला तत्कालीन शाही सेनाबाट हत्या गरी आतंककारी घोषित गरिएको थियो । घरको भार थेग्ने घरमूली नै मारिएपछि विपन्न परिवारले भोगेको कथा नाटकमा छ । मोहन मैनालीको पुस्तक ‘मान्ठ डराएको जुग’ र उनकै वृत्तचित्र ‘जोगीमाराका जिउँदाहरू’ लाई आधारमा तयार गरिएको हो । सरिता कठायतको लेखन, अकाश नेपालीको निर्देशन, हाङ्ग ओ हाङ्ग राईको मञ्च परिकल्पना र दीक्षा चौधरीको प्रकाश परिकल्पना नाटक मञ्चन गरिएको हो ।

महामारीलाई मध्यनजर गर्दै रंगकर्मीहरूले थिएटरमै नाटक लेखन, निर्देशन तथा अभ्यास गरे । दर्शकको अनुपस्थितिमा सुनसान बन्दै गएको रंगमञ्चलाई भर्चुअल माध्यमबाट जीवन्तता दिने प्रयास गरिएको रंगकर्मी सोमनाथ खनालले बताए । यसले महामारीकै बीच रंगमञ्च र दर्शकबीचको दूरी नजिक बनाउने उनको मत छ ।

प्रकाशित : भाद्र १६, २०७८ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?