कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एउटै चित्रमा १६ वर्षको साधना

रातो रङमा १२ हात, घाँटीमा कण्ठी, हरियो सर्पको माला, हातमा आयुध, तरबार, धनुष–वाण, शिरमा मुकुट, पछ्यौरामा सुसज्जित रक्त गणेशको चित्रमा अझै पनि केही वर्ष काम गर्न सकिने 
सुशीला तामा‌ङ

काठमाडौँ — कलाकारले सामान्यत: एउटा चित्र तयार गर्न कति समय खर्च गर्लान् ? एक दिन, एक हप्ता, एक महिना या एक वर्ष ? झट्ट सुन्दा अपत्यारिलो लाग्न सक्ला । कलाकार लोक चित्रकारले १६ वर्ष लगाएर तयार पारेको एउटा चित्र प्रदर्शनीमा राखेका छन् । 

एउटै चित्रमा १६ वर्षको साधना

ठमेलस्थित म्युजियम अफ नेपाली आर्ट (मोना) मा क्युरेटर उजेन नोर्बु गुरुङले ‘पञ्चतत्त्व’ थिममा सुरु गरेको प्रदर्शनीमा जलतत्त्व भावमा यतिबेला चित्रकारका अन्य चित्रहरूसँगै लामो समयको साधनाबाट तयार गरिएको ‘महारक्त गणपति’ शीर्षकको रक्त गणेशको पौभा कला आकर्षणको केन्द्र बनेको छ । रक्त गणेशको चित्र बनाउन सुरु गरेको समय र मिति चित्रकार आफैंले बिर्सिसकेका थिए । दुई वर्षअघि स्विट्जरल्यान्डबाट आएका उनका शिष्यले गणेशको चित्रका बारेमा चासो राखेपछि मात्र चित्रकारलाई त्यसको सुरु गरेको वर्ष र मिति सम्झना भयो ।

‘मलाई चित्र बनाएको ठ्याक्कै यति वर्ष भनेर याद थिएन । मैले समय नै बिर्सिसकेको थिएँ,’ उनले भने, ‘२०१९ मा मेरो एक जना स्विट्जरल्यान्डका विद्यार्थी १० वर्षपछि मलाई भेट्न आयो । ऊ आउँदा चित्र सुरु गरेको नै दुई वर्ष भइसकेको थियो । बल्ल १२ वर्ष बितेको थाहा भयो ।’ त्यसपछि थप तीन वर्षको साधनापछि १६ औं वर्षमा प्रदर्शनीका लागि तयार गरिएको उनले सुनाए । पहिलो लकडाउनमा उनले चित्रलाई पूरा गर्ने प्रयत्न गरेका थिए ।

रातो रंगमा १२ वटा हात, घाँटीमा कण्ठी, हरियो सर्पको माला, हातमा आयुध, तरवार, वाण, धनुष, शिरमा मुकुट, पछ्यौरालगायतका आभूषणबाट सुसज्जित लाइन बेसमा परम्परागत शिल्पबाट तयार गरिएको रक्तगणेशको चित्रमा अझै पनि केही वर्ष लगाएर काम गर्न सकिन्छ भन्ने उनलाई लागेको छ ।

‘कलाकारका लागि कला नै साधना हो । कलाकारको शिल्प र सिर्जना कहिल्यै सकिँदैन,’ उनी भन्छन्, ‘काम गर्दै जाँदा कुन शैली के राख्ने भन्ने कुरा समयअनुसार आउँदै जान्छन् । स–सानो लाइन र स्थानको पनि छनोट हुन्छ । यसमा अझै पनि दुई/चार वर्ष लगाएर काम गर्न सकिन्छ ।’

परम्परागत कलामा स्थान, रंग, लाइन, बुट्टा परिवर्तन गर्दा धार्मिक तथा शास्त्रीय अनुशासनमा रहनुपर्ने उनको जोड छ । एउटै कलाका लागि यति समय किन ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘चित्र बनाउँदा यति पैसाले बेच्छु र यति वर्ष लगाउँछु भन्ने मेरो कुनै योजना छैन । मेरो कर्म भनेको चित्र बनाउनु हो । काम गर्दै जाँदा कहिले सकिन्छ भन्ने नै हुँदैन ।’

रक्त गणेशको चित्र उनले नेपालका पुराना कलाकार जीवरामको सम्मान तयार गरेको सुनाए । १५ औं शताब्दीतिर तिब्बतमा नेपाली मौलिक कला विकास गर्न जीवरामले अहं भूमिका खेलेका थिए । नेपाल फर्कंदा जीवरामले ल्याएका नोटबुकका आधारमा उनको नाम र कामका बारेमा केही जानकारी भए पनि तथ्यगत रूपमा नेपालमा खोज अनुसन्धान नभएको चित्रकारले सुनाए ।


उनले भने, ‘विभिन्न लेख र विदेशतिर प्रदर्शनीका लागि जाँदा उहाँबारे र उहाँको सानो रक्त गणेशको चित्र फेला पारेँ । त्यही चित्रको आइकोनोग्राफी लिएँ । उहाँ नेवारी समुदायबाट नै भन्ने अनुमान छ तर यकिन छैन ।’ पुराना कलाकारलाई आफूले चित्रमा खोज्ने प्रयास गरे जसरी नै अरूलाई अनुसन्धानका लागि प्रेरणा मिल्ने छ भन्ने उनको आशा छ ।

यतिधेरै समय खर्च गरिएको चित्रकारको यो पहिलो कला भने होइन । पौभा कलामा सिद्धहस्त मानिने चित्रकारको २५ वर्षदेखिको साधनारत चित्र पनि उनको पाटनढोकास्थित ग्यालरीमा छ ।

१२ वर्ष समय लगाएर तयार गरिएको वसुन्धराको चित्र पनि मोनामा प्रदर्शनीमा राखिएका छ । जुन चित्रलाई केही समयअघि अस्ट्रियाको भियना वेल्ट म्युजियममा प्रदर्शनीमा राखिएको थियो । उनको ग्यालरीमा कैयौं वर्षदेखि सुरु गरिएका चित्रहरू छन् । कतिपय चित्रहरू चित्त नबुझेपछि उनले त्यतिकै छोडेका छन् ।

जुन चित्रहरूलाई यथावत् नै राख्ने उनले सोचेका छन् । ‘चित्र टाँस्न राखेका भिनिस्ताहरू कीरा लागेपछि पुरानो भएको थाहा हुन्छ । कति चित्त नबुझेर त्यतिकै छोडेको छु ।’ नयाँ पुस्तामा समय र विषयवस्तु नयाँ आउन सक्छ भन्ने उनको मान्यता छ । उनको कलालाई पूरा गर्नेभन्दा पनि नयाँ सिर्जना गर्ने पुस्ता आउनुपर्ने उनको भनाइ छ ।

नेपालमा बुद्धकालीन समयदेखि नै पौभा कला सिर्जनाको थालनी भएको शास्त्रीय मान्यता रहे पनि विदेशी लेख र अन्य प्रमाणका आधारमा १३ औं शताब्दीसम्म बनेका पौभा कलाको ऐतिहासिक दस्तावेज पाइन्छ । चित्रकारका अनुसार परम्परागत पौभा कला धर्म, संस्कृति र जीवनपद्धतिको जीवन्त राख्ने साधनमध्ये एक हो ।

‘यसले बौद्ध र हिन्दु धर्म, दर्शन तथा शास्त्रका शाश्वत पक्षलाई चित्रमार्फत प्रस्तुत गर्छ,’ चित्रकार भन्छन्, ‘आराध्यदेव र देवताको फर्ममा बुझ्नलाई चित्रका माध्यममा सजिलो हुन्छ । पौभा कला हाम्रो मौलिक जीवनसँग जोडिएको छ ।’ पौभामा कलाकारको स्वतन्त्र अभिव्यक्तिभन्दा शास्त्रीय नियमम र विषयवस्तुमा हिँड्न जरुरी छ ।


खनिज तथा वनस्पतिका प्राकृतिक रंगको प्रयोग, लामो समयको अनुभव तथा साधना पौभा कलाका विशेषता हुन् । चित्रकार भन्छन्, ‘यो प्रतीकवाद ज्ञान सिकाउने भाषा हो । यसमा चित्र बनाउने शिल्प, शास्त्रीय ज्ञान चाहिन्छ ।’

परम्परागत कलामा पुर्खाको सभ्यता, समाजको संरचना तथा मानवशास्त्रसँग जोडिएकाले धरोहरका रूपमा जगेर्ना गरेर आफ्नो गच्छेअनुसार थप्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जानुपर्ने उनको धारणा छ ।

प्रकाशित : भाद्र २, २०७८ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?