१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

बिनायो प्रतियोगितामा राई प्रथम

काठमाडौँ — ‘विश्वव्यापी अनलाइन कोङकोङमा (बिनायो) वादन खुला प्रतियोगिता २०७८’मा झापा कमल गाउँपालिका–६ का बलबहादुर राई प्रथम भएका छन् । किरात राई सांस्कृतिक कलाकार संघले अनलाइन माध्यमबाट प्रतियोगिताको आयोजना गरेको हो ।

बिनायो प्रतियोगितामा राई प्रथम

प्रतियोगितामा दोस्रो स्थानमा खोटाङ जाल्पाकी पम्फा खालिङ राईले दोस्रो, ओखलढुंगाकी जितुमाया राईले तेस्रो र झापाकी मनकुमारी राईले सान्त्वना स्थान हासिल गरेका छन् । विजयीलाई क्रमश: १६ हजार, ११ हजार, ७ हजार र ५ हजार रुपैयाँ नगद तथा प्रमाणपत्र प्रदान गर्ने घोषणा गरिएको छ ।

प्रतियोगिताको पहिलो चरणमा देश विदेशबाट १ सय १९ जनाले बिनायो वादन गरी भिडियो पठाएर सहभागी थिए । दोस्रो चरणमा ५० जना छानिएका थिए भने अन्तिम २० जनामध्येबाट विजयी घोषणा गरिएको प्रतियोगिताका संयोजक रोशन चाम्लिङ राईले जनाएका छन् । सहभागीमध्ये ज्येष्ठ सदस्य खोटाङ जन्तेढुंगा गाउँपालिका–६ ओडालेकी ९५ वर्षीया विष्णुमाया राई र हलेसी तुवाचुङ नगरपालिकाकी ९२ वर्षीया देशलक्षी राईलाई विशेष सम्मान स्वरूपमा जनही पाँच हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरिएको छ ।

लोपोन्मुख परम्परागत बिनायो बाजाको संरक्षण, संवर्द्धन तथा पुस्तान्तरणका निम्ति प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष रामकर राईले बताएका छन् । वरिष्ठ संगीतकर्मी जीतेन राई, गायिका पार्वती राई र संस्कृतिकर्मी राजुएन राई निर्णायक रहेका थिए ।

भर्चुअल घोषणा सभाका प्रमुख अतिथि वरिष्ठ संगीतकर्मी तथा लेखक गणेश रसिकले बिनायो बाजा किराती पहिचान भएकाले एकले अर्काको अस्तित्व स्वीकार्न आवश्यक रहेको बताए । साथै कोरोना महामारीको बीचमा भर्चुअल माध्यमबाट बिनायो प्रतियोगिताले संसार जोडेको उनले बताए ।

प्रकाशित : असार ३१, २०७८ २२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?