कुमार बस्नेतलाई वसुन्धराश्री र मीरा राणालाई मानश्री पुरस्कार- कला - कान्तिपुर समाचार

कुमार बस्नेतलाई वसुन्धराश्री र मीरा राणालाई मानश्री पुरस्कार

कान्तिपुर संवाददाता

काठमाडौँ — यस वर्षको वसुन्धराश्री र मानश्री पुरस्कार गायक कुमार बस्नेत तथा गायिका मीरा राणालाई प्रदान गरिने भएको छ ।

वसुन्धरा–मान प्रज्ञा प्रतिष्ठानले जारी गरेको विज्ञप्तिअनुसार, वसुन्धराश्री पुरस्कारको राशि ७५ हजार रुपैयाँ र मानश्री पुरस्कारको राशि ५० हजार रुपैयाँ तथा सम्मानपत्र रहेको छ । १७ वर्षको उमेरदेखि नेपाली लोकगीतको संकलन तथा गायनमा सक्रिय ७७ वर्षीय बस्नेतका 'लोक कोसेली', 'नयाँ कोसेली', 'मादल घनघन', 'बेष्ट अफ कुमार बस्नेत'लगायतका संग्रह सार्वजनिक भइसकेका छन् ।

यस्तै, १४ वर्षको उमेरदेखि नेपाली गीत–संगीतका क्षेत्रमा सक्रिय रहँदै आएकी ७१ वर्षीया गायिका राणाका ‘लेकै फूल्यो लालीगुराँस’, ‘सदावहार लोकगीत’, ‘मीरा राणाका गीतहरु’ आदि संग्रह सार्वजनिक भएका छन् । प्रतिष्ठानका सदस्य सचिव कृसु क्षेत्रीका अनुसार, अनुकुल स्थिति रहेमा आगामी असोज १३ मा पुरस्कार वितरण गरिनेछ । नेपाली भाषा–साहित्य, कला–संगीतको प्रवर्द्धनमा सहयोगी बन्नेगरी प्रतिष्ठान २ दशकअघि स्थापना भएको हो ।

प्रकाशित : वैशाख ७, २०७८ १९:३७
प्रतिक्रिया
पठाउनुहोस्

मन्त्री बनेका चार सांसदलाई जसपा संसदीय दलको २४ घण्टे स्पष्टीकरण

घनश्याम गौतम

रूपन्देही — पार्टी नीति र निर्णयविपरीत प्रदेश सरकारमा चार सांसद मन्त्री भएपछि जनता समाजवादी पार्टी (जसपा) को लुम्बिनी प्रदेश संसदीय दलले कारबाही प्रक्रिया अघि बढाएको छ । जसपा संसदीय दलका नेता सहसराम यादवले चारैजना सांसदलाई छुट्टाछुट्टै रुपमा २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूलाई सोमबार शपथ गराइँदै । तस्बिर: कान्तिपुर

लुम्बिनी प्रदेश सरकार र मन्त्रिपरिषद्‌प्रति विश्वास छैन भन्ने जसपाको लुम्बिनी प्रदेश समितिको चैत २६ को बैठक निर्णय र वैशाख ६ गतेको संसदीय दलको बैठकमा उपस्थित भएर हस्ताक्षर गरेको निर्णय किन उल्लंघन गरेको भन्दै राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा २८ को उपदफा १ (क) र २ बमोजिम ह्विप उल्लंघन किन गरेको भन्ने विषयमा स्पष्टीकरण सोधिएको उनले बताए । ‘चारैजना मन्त्रीलाई मन्त्रालयको उहाँहरुको टेवुलमा लगेर र इमेलमार्फत पनि स्पष्टीकरण पत्र दिएका छौं,’ उनले भने, ‘तोकिएको समयमा जवाफ आउँछ, आउँदैन त्यसपछि थप कानुनी प्रक्रिया अघि बढ्छ ।’ सोमबार नै सरकार विरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपा सांसद सन्तोष पाण्डेय, बिजयबहादुर यादव, कल्पना पाण्डे मन्त्री र सुमन शर्मा रायमाझी राज्य मन्त्रीमा नियुक्त भएर शपथ लिएका थिए । कल्पना पाण्डेबाहेक अन्य तीन जना अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सांसद हुन् ।

चार सांसद मन्त्री बनेपछि जसपा दुई खेमामा विभाजन भएको छ । दुवै खेमाले छुट्टाछुट्टै कारवाही अघि बढाएका छन् । जसपाको लुम्बिनी प्रदेश समिति र रूपन्देही जिल्ला समितिले पनि चारै जनालाई कारबाही प्रक्रिया अघि बढाएको छ । लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले पनि सोमबार नै विज्ञप्ति जारी गर्दै पार्टी निर्णयविपरीत सरकारमा गएको भन्दै २४ घण्टाभित्र मन्त्रीबाट राजीनामा दिएर फिर्ता हुन निर्देशन दिएका थिए । फिर्ता नहुँदासम्म पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै जसपाकै रूपन्देही जिल्ला समितिका अध्यक्ष रामअवतार यादवले पनि विज्ञप्ति जारी गर्दै पार्टीको निर्णयविपरीत सरकारमा सहभागी भएका मन्त्रीको कुनै पनि राजनीतिक र सार्वजनिक कार्यक्रममा सहभागी नहुन कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टीको जिम्मेवारीबाटसमेत हटाइएको विज्ञप्तीमा उल्लेख छ ।

जसपाकै लेटरप्याडमा रवीदत्त मिश्राले भने सोमबार नै प्रदेश अध्यक्षको हैसियतमा विज्ञप्ति जारी गर्दै मन्त्री बनेका चारै जना सांसदको बचाउ गरेका छन् । उनले पार्टीको प्रत्यक्ष सम्पर्कमा रहेर पार्टीकै निर्देशनअनुसार चार जना सांसद मन्त्री भएको उल्लेख गर्दै केही नेताले तानाशाही प्रवृत्ति लाद्‌न खोजेकाले त्यस्तो भ्रममा नपर्न आग्रह गरेका छन् ।

प्रकाशित : वैशाख ७, २०७८ १९:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×