कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उमेरले नछेकेको सिर्जना-यात्रा

अस्ट्रेलिया जाँदा हेरेको पाकिस्तानी सिरियलले मास्केलाई कलाकारिताको यात्रातिर मोडिदिएको हो
सुशीला तामा‌ङ

काठमाडौँ — उमेरले ६५ वर्ष टेकिन् तर सञ्जु प्रधान मास्केको कला सिर्जना–यात्रा भने ‘बामे सर्दै’ छ । क्यानभास, कुची र रंगमा बल्ल जीवनको समग्र रंग खोज्दै छिन् । अचेल उनी अधिकांश समय क्यानभासमा चित्र कोर्नमै व्यस्त रहन्छिन् ।

उमेरले नछेकेको सिर्जना-यात्रा

उनलाई लागेको छ, भर्खरै जीवनको यात्राले बाटो तय गरेको छ । चित्रकार तथा कला समीक्षक रमेश खनालसँग क्यानभासमा रंग भर्न सिकेकी हुन् ।

अरुपण आर्ट ग्यालरीले हरेक शनिबार गर्ने ‘स्यार्टडे अरुपण पेन्टिङ क्लास’ मा दुई वर्षअघिदेखि उनले प्रशिक्षण थालेकी थिइन् । चित्रकारका रूपमा उनको पहिलो एकल प्रदर्शनी जारी छ । अरुपणमा ‘आर्ट फर पिस’ शीर्षकमा चलिरहेको प्रदर्शनीमा राखिएका चित्रहरूमा उनले जीवनका अनगिन्ती अनुभवहरूजस्तै विविधता झल्काएकी छन् । ‘म साइन्सको विद्यार्थी भएकोले स्केच त राम्रो कोर्थें । जता गए पनि राम्रो दृश्यहरूमा मन भुलिन्थ्यो, फोटो खिच्नतिर मन जान्थ्यो र त्यसैलाई जम्मा पारेर राख्थें,’ उनले भनिन्, ‘ती सबै रहरलाई कलाका रूपमा मैले चिन्न नै सकिनँ । यतिका वर्ष म एक आर्टिस्ट नै बन्नका लागि भौंतारिएकी रहेछु ।’

कला प्रशिक्षण थालेपछि उनले आफ्ना भोगाइहरूलाई कलाकृतिमा नियाल्ने कोसिस गरिन् । केही छुटेका, केही अपूरा र केही हुनै बाँकी रहेका समग्र पक्षलाई उनले रंगहरूको मिश्रणबाट हेर्ने कोसिस गरेकी छन् । भन्छिन्, ‘रंगहरूसँग खेल्दा छुट्टै आनन्द मिल्दो रहेछ । खुसी हुँदा पनि सबै रंगहरूमा पोख्छु, दुःख लाग्दा पनि पहिले रंग नै सम्झन्छु ।’ धरानमा जन्मिएकी प्रधानमा यही नै बन्छु भन्ने निश्चित लक्ष्य थिएन । विवाहपछि अध्ययन छुटेसँगै उनले थुप्रै ठाउँमा पाइला चालिन् तर कुनै कामबाट पनि सन्तुष्ट भइनन् ।काठमाडौंमै झन्डै एक दशक शिक्षण पेसामा बिताइन् । सौन्दर्यकला र सिलाइतिर पनि मोडिइन्, तर आफूलाई अडिग राख्न सकिनन् । श्रीमती, आमा हुँदै बदलिरहेका भूमिकामा पनि एक्लो महसुस गर्दै गइन् ।

कला सिर्जना थाल्नुभन्दा केही समयअघि जब उनी छोरी भेट्न अस्ट्रेलिया पुगिन्, त्यहाँ उनले थुप्रै पाकिस्तानी फिल्म र सिरियल हेरिन् । त्यही बेला हेरेको एउटा सिरियलले उनलाई कलाकारिताको यात्रातिर मोडिदियो । ‘पाकिस्तानी एउटा सिरियलमा मैले चित्र कोर्दै गरेकी एक महिलालाई देखेँ । बुर्का अनि चित्र देख्ने बित्तिकै म त्यसैको बारेमा सोच्न थालेँ । ओ हो ! यो त कला पो रहेछ, म पनि यस्तै चित्र कोर्न सकिहाल्छु भन्ने बल्ल मनमा महसुस भयो,’ उनले भनिन् ।

त्यसपछि स्केचबाट सुरु भएको उनको यात्रा अहिले धर्म, दर्शन, प्रकृति, मानव र दैनिक जीवनीसँग जोडिन थालेको छ । कला सिर्जनाको सुरुवात उनले भगवान् गणेशको चित्र कोरेर गरिन् । हिन्दु धर्मशास्त्रअनुसार गणेशलाई सुरुमै पुजिने भएकोले शुभकार्यको सुरुवातको प्रतीक स्वरूप उक्त चित्र उतारेको उनको भनाइ छ । मुहार चित्र, दृश्य चित्रलाई उतार्ने प्रयास गर्दै अर्धनारी, कृष्णराधा, कुमारी, चरा, स्टिललाइफ, विभिन्न परिवेशका युवती, मातृत्वको भावलाई पनि उनले कलाकृतिमा उतारेकी छन् । अधिकांश चित्रहरूमा उनले उज्यालो र छायाको पाटो खोजेकी छन् । जहाँ पहेँलो र हरियो रंग विशेष छन् । जीवन भनेकै उज्यालो र अँध्यारोबीच चल्ने यात्रा न हो । उनले यही जीवन दर्शनलाई कलामा चित्रण गरेकी छन् । ‘कलाप्रतिको मेरो सोख बलिरहेको आगोजस्तै रहेछ, जसलाई चिन्न नै मैले थुप्रै समय खर्च गरेँ । मभित्रको त्यो बर्निङ लाइटलाई शीतल र शान्त पार्न म हरियो रंगहरू प्रयोग गर्छु,’ उनले प्रस्ट्याइन् ।

हाल उनी छोरी, नातिनी उमेरका नवचित्रकारहरूसँग बसेर निर्धक्क चित्रकलाका हरेक पक्षहरूबारे पनि सिकिरहेकी छन् । जब उनी क्यानभास र कुची समाउँछिन्, तब उनीहरूकै उमेरमा आफूलाई ढाल्छिन् । सिकाइको क्रममा उनलाई आनो उमेरको हेक्का हुँदैन । ‘सिक्ने क्रम जीवनभर चल्छ । उमेरले सिकाइलाई रोक्न सक्दैन,’ उनलाई लाग्छ । त्यसैले त उनले सेतो रंगधारी सातवटा कुदिरहेका घोडालाई आनो शक्ति र निरन्तर यात्राको प्रतिबिम्बका रूपमा उठान गरेकी छन् । जहाँ उदाउँदै गरेको सूर्यको ७ रंग चित्रित छन् । उनले कलालाई जीवनको दर्शन, शून्यताको साथी, मनको शान्तिको रूपमा लिएकी छन् ।

कला सिर्जनालाई अबका दिनमा शृंखलाका रूपमा ल्याउने उनको उद्देश्य छ । उनी कलामा बुढ्यौली अनुभव समेटिनुपर्ने धारणा राख्छिन् । ‘आजका बा–आमाहरू सन्तान भएर पनि एक्ला छन्,’ उनी भन्छिन्, ‘रंगले पनि उनीहरूको कुरा उठान गर्ने बेला आएको छ ।’

प्रकाशित : चैत्र १३, २०७७ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?