कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाकालका सिर्जना

कलाको माध्यमबाट चित्रकारहरुले स्वास्थ्य सुरक्षाका लागि सामाजिक दूरी कायम गर्ने, साबुनपानीले हात धुने, मास्क लगाउनेजस्ता सचेतना फैलाए ।
सुशीला तामा‌ङ

कोरोनाकालमा कैयन् महिना देशभर आवागमन बन्द भयो । बजार बन्द रह्यो । कार्यथलोका ढोका बन्द भए तर कलाकर्मीका सिर्जना रोकिएनन् । कला साधकहरूले आ–आफ्नो थलोबाट कसैले कलम उठाए, कसैले कुची चलाए । कसैले आवाजमार्फत सिर्जनालाई निरन्तरता दिए ।

कोरोनाकालका सिर्जना

महामारी कालमा कलाका सबैजसो विधा अत्यन्तै सक्रिय रूपमा देखा परे । चित्र, मूर्ति, नाट्य तथा अभिनय, साहित्य, संगीत आदिका माध्यमबाट कलाकारले आफ्ना कला प्रस्फुटन गर्दै यो अवधिलाई झनै फलदायी बनाए ।

चित्रकार सरिता डंगोल महामारी काल अवसरका रूपमा सावित भएको बताउँछिन् । कलालाई भिन्न कोणबाट अध्ययन–अनुसन्धान गर्न महामारीले समय जुराइदिएको उनको अनुभव छ । हुन त लकडाउनसँगै बन्द भएको पाटनढोका चाकुपाटस्थित उनको क्लासिक आर्ट ग्यालरीमा अझै पनि सामान्य रूपमा प्रदर्शनी हुन सकेको छैन ।

ग्यालरी बन्द भएलगत्तै उनले कला सिर्जनालाई भने तीव्र गतिमा अगाडि बढाइन् । पछिल्लो समय उनले आफ्नो कलामा प्रयोग भएका विषय, प्रतीकात्मक वस्तु, रङ र माध्यमलाई अध्ययन गर्दै त्यसलाई अझै फराकिलो बनाइन् ।खुर्सानीलाई मानव जीवन चक्रसँगै जोडेर प्रकृतिबारे अर्थ्याउँदै आएका उनका कलाकृतिले महामारीकालमा स्वास्थ्य सुरक्षा, परम्परागत सोच र मान्यतालाई जोड्दै सांस्कृतिक बिम्बसमेत खोज्ने प्रयास गरेका छन् । ‘कोभिडले मलाई अध्ययन र अनुसन्धानमा समेत अग्रसर गरायो,’ उनले भनिन्, ‘म कुची र रङमा रमाउने मान्छे, अहिले केही लेख र कवितासमेत सिर्जना गर्ने भएकी छु ।’ कोभिड कालमै सिर्जित आफ्ना सिर्जनालाई अहिले उनले भर्चुअल रूपमा प्रदर्शन गरिरहेकी छन् । कलालाई विश्वसामु पुर्‍याउनुपर्छ भन्ने मान्यता स्थापित गर्न आफ्नै ग्यालरीमार्फत अन्तर्राष्ट्रिय तथा राष्ट्रिय रूपमा आधा दर्जनभन्दा बढी भर्चुअल प्रदर्शनी गरिन् ।

कलाकै माध्यमबाट चित्रकारहरूले स्वास्थ्य सुरक्षाका लागि सामाजिक दूरी कायम गर्ने, साबुनपानीले हात धुने, मास्क लगाउनेजस्ता सचेतना फैलाए । चित्रकारहरू रागिनी उपाध्याय, एरिना ताम्राकार, प्रमिला वज्राचार्य, सुनैना ठाकुरलगायतले आफ्नो कलाकृतिमा मास्कलाई प्रतीकात्मक रूपमा दर्शाए । आफ्नो कलामा मास्क प्रयोगले केही नयाँपनसँगै समकालीन समयलाई प्रतिनिधित्व गरेको ताम्राकारको ठहर छ । यसअघि उनले परम्परागत कलाभन्दा केही अगाडि बढेर समकालीन कलाको छनक दिँदै ‘थर्ड आई’ को कन्सेप्टमा सिर्जनालाई दौडाइरहेकी थिइन् । लकडाउनयता लगभग डेढ/दुई महिना उनले आफ्नै घरलाई स्टुडियो र ग्यालरी बनाइन् । विश्वभर भएका मानवीय क्षति, त्रास, कोलाहल, स्वास्थ्य अवस्था, घरमा थुनिएका मानिस सबैलाई यी दुईले कलामार्फत व्यक्त गरे । लकडाउन सुरु भएलगत्तै यो दम्पतीले कुपन्डोलमा रहेको स्टुडियोबाट भएभरका रङ र क्यानभासलाई रातारात ओसारेर कला सिर्जनालाई भिन्न कोणबाट नियाल्ने जमर्को गर्‍यो । ‘बाहिर त्रासको माहोल थियो तर हामीले त्यही माहोललाई क्यानभासमा रंग्याउँदै भुल्ने प्रयास जारी राख्यौं,’ ताम्राकारले भनिन् ।

महामारीले मानव समुदायलाई परिवर्तनका लागि बाटो देखाइदिएको अर्का चित्रकार रवीन्द्र श्रेष्ठ बताउँछन् । ‘क्रिएटिभ मान्छेका लागि यो महामारी फरक भोगाइ हो,’ उनले भने, ‘विश्वमा यस्ता महामारी पहिले पनि आएकै हुन्, ती सबैले मानव जातिलाई केही न केही त छाडेर गएका छन् ।’ दृष्टान्त चित्रभन्दा पनि अवधारणागत कलाकृति सिर्जना गर्न रमाउने उनले यस अवधिमा नयाँ अवधारणा र विषयवस्तुलाई केही फरक ढंगले उतार्न भ्याए । उनले कोरोना कहरमात्र होइन, यही कालभित्र विश्वभर भइरहेका सामाजिक तथा राजनीतिक घटनाक्रमलाई समेत आफ्नो कलामा देखाउने प्रयास गरे । उनका कलामा अमेरिकामा अफ्रिकी मूलका अमेरिकी जर्ज फ्लोयडको मृत्युदेखि रुकुममा जातीय विभेदका कारण नवराज विकसहित आधा दर्जन युवाको हत्यासम्मका घटना प्रतिबिम्बित छन् । उनी भन्छन्, ‘कलालाई केवल सिर्जना होइन, यो समयको बलियो दस्ताबेज र पछिल्लो पुस्ताका लागि इतिहास बनाउन म निरन्तर प्रयासरत छु ।’

चित्रकारहरूले महामारीका बेला समकालीन समयको यथार्थतालाई निकै दरिलो रूपमा प्रस्तुत गरे । श्रमिक वर्गको पीडालाई जीवन्त कलामा ढाले । लकडाउनकै समयमा पैदल यात्रा गरी घर जाने कैयौं भोका मानिसका दुःखलाई चित्रकार, संगीतकार तथा गायक ज्योति प्र्रकाशले चित्रमार्फत देखाएका थिए । जुन चित्रले आममानिसको पीडालाई बोलेको थियो । त्यस्तै पृथ्वी श्रेष्ठ, विधाता केसी, सुन्दर लामाका कलाकृति उत्तिकै यादगार छन् ।

कोभिडकालमै उदाएको म्युजियम अफ नेपाली आर्ट्स (मोना) ले पहिलो भर्चुअल कला प्रदर्शनी थालनी गर्‍यो । अन्तर्राट्रिय जल रङ समाज नेपालले कला प्रदर्शनीसँगै विश्व रेकर्डका लागि भर्चुअल माध्यमबाट देशभरिका करिब ६ दर्जन चित्रकारलाई सहभागी गराएर निरन्तर सय घण्टाको आर्ट कार्यशाला सम्पन्न गर्‍यो ।

कोरोना कहरमा संगीत, साहित्य र रंगमञ्चका स्रष्टा तथा कलाकार पनि उत्तिकै सक्रिय रूपमा देखा परे । कोरोना कहरकै अवधिमा सरला गौतमको उपन्यास ‘डुमेरो’, भुवन ढुंगानाको ‘परित्यक्ता’, बिना थिङको कथासंग्रह ‘याम्बुनेर’, असिम सागरको कवितासंग्रह ‘क’ लगायतका कृति सार्वजनिक भए । रंगमञ्चमा पनि अन्य कार्यक्रमसहित भर्चुअल रूपमै विभिन्न विधामा नाटक मञ्चनको प्रयास भयो । स्रष्टाले भर्चुअल माध्यममै साहित्यिक तथा अन्तरक्रियात्मक कार्यक्रममार्फत आफ्नो दरिलो उपस्थिति देखाए ।

प्रकाशित : फाल्गुन ७, २०७७ १३:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?