कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अरनिकोको पूर्णकदको सालिक बन्दै

१७ फिट उचाइको मूर्ति स्थापना गर्न ५० लाख रूपैयाँ बजेट अनुमान

काठमाडौँ — १७ वर्षकै कलिलो उमेरमा अरनिको चीनतिर प्रस्थान गर्दा कस्ता थिए ? उनको जीवनशैली र बाह्य आवरणहरू कस्ता थिए ? ठ्याक्कै उनैको हुबहु स्वरूपलाई जीवन्त रूपमा मूर्तिमा ढाल्न यतिबेला नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा चार जना मूर्तिकार प्रयासरत छन् ।

अरनिकोको पूर्णकदको सालिक बन्दै

सन् १२४४ मा जन्मेका अरनिको १७ वर्षमा ८० जना कलाकारसहित मूर्तिकलाका लागि चीन गएका थिए । त्यहाँ पुगेर कलाको शिल्पबाट सबैलाई मन्त्रमुग्ध पारेका उनको निधन सन् १३०६ मा भएको थियो । बलबाहु उपनाम दिइएका अरनिको चीन प्रस्थान गर्दाताकाको स्वरूपलाई प्रतिमामा आकार दिन गंगाधर सारुमगरको अगुवाइमा दीपक लामा, देवेन्द्र पाण्डे र चन्द्रमणि मगर खटिएका छन् ।

चीन र नेपालबीचको सम्बन्धलाई कलाको माध्यमबाट युगयुगान्तरसम्म बलियो बनाउने अरनिकोको योगदानको कदरस्वरूप प्रतिष्ठानको परिसरमा १७ फिट उचाइको मूर्ति स्थापना गर्न लागिएको मूर्तिकला विभागका प्रमुख लालकाजी लामाले बताए । उनका अनुसार प्रतिष्ठानले अरनिकोको पूर्ण कदको सालिक निर्माण प्रस्तावलाई एक दशकअघि नै ल्याएको थियो ।

हाल ५० लाख रुपैयाँ बजेट अनुमान गरिएको योजनालाई यही आर्थिक वर्षभित्र नै पूरा गर्ने प्रतिष्ठानको लक्ष्य छ । १७ वर्षको उमेरमा अरनिको चीनमा गएकाले त्यति नै उचाइको मूर्ति बनाउन लागिएको प्रतिष्ठानको भनाइ छ ।

गएको असोजदेखि मूर्ति बनाउन थालिएको सारु मगरले बताए । उनका अनुसार हाल निर्माणको दोस्रो चरणको काम चलिरहेको छ । पहिलो चरणमा फलाम पूर्ण कदमा ढालिएको थियो । अहिले माटोबाट निर्माण भइरहेको छ । शरीरको तल्लो भाग खुट्टा, जुत्ताका साथै माथिल्लो तहमा हातका औंलाहरू र टाउको बन्ने क्रममा नै छन् । निर्माणका लागि भक्तपुरको सेरामिक्स माटो प्रयोग गरिएको मगरले बताए । तीन हजार किलोजति माटो लाग्ने उनले अनुमान गरेका छन् ।

सालिक बनाउन नमुनाका रूपमा पहिले चित्रकला अघि सारिएको थियो । सारु मगरसहित प्रदीप पल, कमलेश महर्जनलगायतको उत्कृष्ट पाँच चित्रकला छनोट गरिएको थियो । नमुना मूर्तिकला प्रस्तुतिमा सारु मगरको डिजाइन छनोट भएपछि मूर्ति बनाउन थालिएको थियो । झन्डै दुई दशक मूर्तिकलाको अनुभव रहेको सुनाउँदै सारु मगरले अरनिकोको मूर्ति बनाउनु आफ्ना लागि अवसर र चुनौती दुवै भएको बताए ।

‘अरनिको राष्ट्रिय विभूति हुन्, कलाका लागि उनको उचाइ त्यसै पनि उचो छ,’ उनले भने, ‘उनको मूर्ति बनाउनु भनेको सिर्जनात्मक रूपमा सामान्य कलाकृति बनाउनु जस्तो होइन । मूर्तिमा उनको व्यक्तित्व र उचाइलाई पनि जीवन्त देखाउनु अर्को महत्त्वपूर्ण काम हो ।’ अरनिकोको पहिरन शैली र विशेषगरी मुहारमा जीवन्तता ल्याउन निकै ध्यान दिनुपर्ने उनले सुनाए । उनीसँगै खटिरहेका मूर्तिकारहरू लामा, पाण्डे, मगरले पनि यसमा विशेष मिहिनेत गर्दै छन् ।

‘मूर्तिकला आफैंमा सौन्दर्य छ,’ विभागका प्रमुख लामा भन्छन्, ‘अरनिको मूर्ति स्थापना हुनु कलामा गौरवका साथै यसलाई अग्रजको कदर र स्मरण गर्ने अभ्यासका रूपमा पनि लिनुपर्छ ।’ यस कार्यबाट अन्य कलाकारहरूमा उत्साह र जागरण आउने उनको विश्वास छ ।

प्रकाशित : पुस २७, २०७७ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?