कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९
परिक्रमा

बाइडेन बाहिरिएसँगै बुढ्यौलीको प्रश्न ट्रम्पतिर

उमेरका आधारमा बाइडेनले प्रतिस्पर्धा त्याग्नुपर्ने बताउँदै आएका सभामुख माइक जोन्सनसहितका नेतालाई अब ट्रम्पको उमेरसम्बन्धी डेमोक्रेटिकका तिखा प्रश्नले घोच्ने निश्चित छ । जुन १४ मा ७९ वर्ष लागेका ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएमा कार्यकाल सकिँदा ८४ छोइसकेका हुनेछन् ।

काठमाडौँ — अमेरिकाको अट्लान्टास्थित सीएनएन स्टुडियोजमा चार साताअघि राष्ट्रपतीय चुनावका उम्मेदवारहरूबीचको बहस आयोजना गरिएको थियो । बहसका लागि उपस्थित थिए डेमोक्रेटिक दलका उम्मेवार तथा वर्तमान राष्ट्रपति जो बाइडेन र रिपब्लिकन दलका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प । 

बाइडेन बाहिरिएसँगै बुढ्यौलीको प्रश्न ट्रम्पतिर

जेक टापर र डाना बास सहजकर्ता रहेको बहसमा दुईवटा ‘ब्रेक’ लिइएको थियो । आफ्नो बोल्ने पालो नआएसम्मका लागि दुवै उम्मेदवारलाई लगाइदिएका ‘माइक्रोफोन म्युट’ गरिएको थियो । र, स्टुडियोमा कुनै पनि दर्शकलाई प्रवेश दिइएको थिएन । सीएनएनका अनुसार ९० मिनेटको बहसमा ट्रम्पले ४० मिनेट २ सेकेन्ड र बाइडेनले ३५ मिनेट ७ सेकेन्ड बोलेका थिए ।

राष्ट्रपति बाइडेनले अर्थतन्त्र, गर्भपतन, आप्रवासन, विदेश नीति, अश्वेत अमेरिकीसम्बन्धी नीति, जलवायु परिवर्तन, सामाजिक सुरक्षा, बाल स्वास्थ्य, २०२० को चुनावी नतिजा र आफ्नो उमेरका विषयमा बोलेका थिए । ट्रम्पले अर्थतन्त्र, आयात कर, गर्भपतन, आप्रवासन, विदेश नीति, अश्वेत अमेरिकीसम्बन्धी नीति, वातावरण, सामाजिक सुरक्षा र आफ्नो उमेरका विषयमा आफ्ना कुरा राखेका थिए ।

तस्बिरहरू : रोयटर्स

बहसपछि अमेरिकी राष्ट्रपति जो बाइडेन एकाएक चर्चामा आए । त्यसको कारण हो, उनको प्रस्तुति । अमेरिकी सञ्चारमाध्यम र डेमोक्रेटिक दलबाट उनी निकै आलोचित भए भने अधिकांश अमेरिकी मतदाताहरूले बाइडेनको उमेर र काम गर्न सक्ने क्षमतामाथि प्रश्न उठाए । जुन २७ को उक्त बहसमा फितलो प्रस्तुति भएको भन्दै डेमोक्रेटहरूले नै बाइडेनको चर्को आलोचना गरे । त्यसैमध्येका एक हुन् पेन्सिलभानियाका गर्भनर जोस सापिरो । उनले ‘बाइडेनको प्रस्तुति निकै खराब भएको’ बताएका थिए ।

‘मलाई लाग्छ जो बाइडेनको बहस निकै खराब थियो, तर त्यसले डोनाल्ड ट्रम्प खराब राष्ट्रपति भएको तथ्यलाई परिवर्तन गर्दैन । ट्रम्प हिजो राति मञ्चमा उभिए र आफ्नो विगतबारे मात्र होइन, भविष्यका लागि प्रस्ताव गरेका विषयमा पनि झूट बोले,’ सापिरोले भनेका थिए । उपराष्ट्रपति कमला ह्यारिसले भने राष्ट्रपति बाइडेन सुरुमा कमजोर देखिए पनि अन्त्यमा निकै राम्रो प्रस्तुति दिएको बताएकी थिइन् ।

न्युयोर्क टाइम्सका स्तम्भकार निकोलस क्रिस्टोफले जुन २७ मै ‘प्रेसिडेन्ट बाइडेन, आई ह्याभ सिन इनफ’ शीर्षकमा लेख लेख्दै ‘बाइडेन राष्ट्रपतिको दौडबाट अलग हुनेमा आफू आशावादी रहेको’ बताएका थिए । डोनाल्ड ट्रम्पलाई पुनः निर्वाचित हुनबाट रोक्न डेमोक्रेटिक दलले आगामी अधिवेशनबाट नयाँ राष्ट्रपतीय उम्मेदवार छनोट गर्नुपर्ने र त्यसका लागि बाइडेनले बाटो खोलिदिनुपर्ने उनको भनाइ थियो । त्यसपछिका केही दिन उम्मेदवारी त्याग्न जो बाइडेनले आफ्नै पार्टीेभित्रबाट पनि चर्को दबाब सामना गरे । खासगरी सिनेटमा बहुमत प्राप्त नेता चक सुमर, हाउस अफ रेप्रिजेन्टेटिभ्सका अल्पमत नेता हकिम जेफ्राइस र पूर्वसभामुख नान्सी पेलोसी अग्रपंक्तिमा रहे । पेलोसीले गोप्य रूपमा बाइडेनलाई भेटेर नोभेम्बरको चुनाव जित्न नसकिने सर्वेक्षणहरूले देखाएको बताएकी थिइन् ।

त्यसपछि उनीविरुद्धको टोलीमा थपिए पूर्वराष्ट्रपति बाराक ओबामा । २००८ र २०१२ मा ओबामा राष्ट्रपतिमा निर्वाचित हुँदा बाइडेन उपराष्ट्रपति थिए । ओबामाले त ‘अब बाइडेनले राष्ट्रपति चुनाव जित्ने सम्भावनाको अन्त्य भएको’ भन्दै उम्मेदवारी फिर्ता लिन भनेका थिए । मेरिल्यान्डलाई प्रतिनिधित्व गर्ने कंग्रेस सदस्य जामी रस्किनले जुलाई ६ मा एक पत्र लेख्दै राष्ट्रपति बाइडेनलाई ‘निकै गलेको पाखुरा भएको बेसबल खेलाडी’ को संज्ञा दिएका थिए । तर त्यतिन्जेलसम्म पनि ८१ वर्षीय बाइडेन उम्मेदवारी त्याग्ने पक्षमा थिएनन् । उनले भन्ने गर्थे, ‘आगामी चुनावमा डोनाल्ड ट्रम्पलाई पुनः पराजित गर्नुपर्छ र त्यसका लागि डेमोक्रेटिक दलभित्र अरू कोही छैन ।’

तर अन्य डेमोक्रेटिक नेताहरूसँगै चन्दादाता र मतदाताहरूको संख्या आफूविरुद्धको कित्तामा उभिएपछि बाइडेन थप दबाबमा परे । टेक्सासबाट १५ पटक कंग्रेसमा प्रतिनिधित्व गरेका लोयड डोगेटले जुन २७ को बहसको पाँच दिनपछि ‘बाइडेनले उम्मेदवारी फिर्ता लिने कठिन र पीडादायी निर्णय लिने बेला भएको’ बताएका थिए । सिनेटरहरू पिटर वेल्च (भर्मन्ट), मार्टिन हेनरिच (न्यु मेक्सिको) र जोन टेस्टर (मोन्टाना) पनि बाइडेनविरुद्ध उभिए । त्यस्तै, विभिन्न राज्यका २६ जना डेमोक्रेटिक नेताहरूले पनि बाइडेनले उम्मेदवारी त्याग्नुपर्ने बताए ।

दबाब बढ्दै गएपछि राष्ट्रपति बाइडेनले गत आइतबार एक विज्ञप्ति जारी गर्दै नोभेम्बर ५ मा हुने राष्ट्रपतीय चुनावी दौडबाट बाहिरिएको घोषणा गर्न बाध्य भए । ‘आफ्नो पार्टी (डेमोक्रेटिक) र देशको हितका लागि’ आफूले पुनः राष्ट्रपति बन्ने योजना त्यागेको बाइडेनको भनाइ छ ।

पाँच दशकयता दोस्रो कार्यकालका लागि चुनावी दौडबाट अलग हुने उनी पहिलो राष्ट्रपति बने । यसअघि १९६८ मार्चमा लिन्डन जोन्सन राष्ट्रपतीय उम्मेदवारबाट अलग भएका थिए । बाइडेनले ‘राष्ट्रपतिका रूपमा काम गर्ने अवसरलाई आफूले ठूलो सम्मानका रूपमा लिएको र जनवरीसम्मको बाँकी कार्यकाल पूरा गर्ने’ पनि विज्ञप्तिमा उल्लेख गरेका छन् । हाउस अफ रेप्रिजेन्टेटिभ्सका सभामुख माइक जोन्सनसहित वरिष्ठ रिपब्लिकन नेताहरूले भने बाइडेनले तत्काल राष्ट्रपतिको जिम्मवारीबाट समेत अलग हुनुपर्ने बताउँदै आएका छन् ।

चुनावी प्रतिस्पर्धाबाट अलग भएको घोषणासँगै बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसलाई डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवारका रूपमा अघि सारेका छन् । ह्यारिसले भने आफू राष्ट्रपतिको उम्मेदवारका रूपमा मनोनीत हुन पाउँदा सम्मानित महसुस भएको बताएकी छन् । ५९ वर्षीया ह्यारिसले ‘ट्रम्पविरुद्ध देशलाई एकताबद्ध गर्ने’ प्रतिक्रिया दिएकी छन् ।

अमेरिकी सञ्चार माध्यमहरूका अनुसार डेमोक्रेटिक दलका तर्फबाट ह्यारिस नै उम्मेदवार बन्ने लगभग निश्चित छ । त्यसो भएको खण्डमा उनी अमेरिकाको राष्ट्रपतिका लागि प्रतिस्पर्धा गर्ने पहिलो अश्वेत महिलासमेत हुनेछिन् । अमेरिकामा हालसम्म कुनै पनि महिला राष्ट्रपतिमा निर्वाचित भएका छैनन् ।

२०२० मा उपराष्ट्रपति निर्वाचित ५९ वर्षीया ह्यारिस उक्त पदमा पुग्ने पहिलो अश्वेत महिला हुन् । क्यालिफोर्नियाको ओकल्यान्डमा जन्मिएकी ह्यारिसका उनका आमाबुवा प्रवासी थिए । उनकी आमाको जन्म भारतमा भएको थियो भने बुवा जमैकाबाट अमेरिका पुगेका थिए । ह्यारिसभन्दा अघि अमेरिकामा दुई पटक उपराष्ट्रपति पदका लागि दुई जना महिला उम्मेदवारले चुनाव लडेका थिए । १९८४ मा डेमोक्रेटिक पार्टीबाट गिरालडिन फेरारो र २००८ मा रिपब्लिकन पार्टीबाट सारा पालिन उपराष्ट्रपति पदका लागि निर्वाचन लडेका थिए । तर दुवै जनाले चुनाव जित्न भने सकेका थिएनन् ।

२०२० को चुनावमा ह्यारिसले बाइडेनलाई राष्ट्रपति पदको उम्मेदवारका लागि चुनौती दिएकी थिइन् । तर राष्ट्रपति उम्मेदवारको दौडबाट बाहिरिएसँगै बाइडेनले उनलाई उपराष्ट्रपतिको उम्मेदवारमा चयन गरेका थिए । त्यतिबेला बाइडेनले ह्यारिसलाई ‘बहादुर योद्धा तथा अमेरिकाकै सबैभन्दा उत्कृष्ट कर्मचारी’ को संज्ञा दिएका थिए । बीबीसीका अनुसार बाइडेन राष्ट्रपतिको दौडबाट अलग हुनुका अर्थ विभिन्न छन् । चार वर्षअघि बाइडेनले ह्यारिसलाई उपराष्ट्रपति बनाउने निर्णय आफूले गरेको सबैभन्दा उपयुक्त कार्य भएको बताएका छन् ।

ह्यारिसले पनि बाइडेनको समर्थन पाएकोमा आफूलाई सम्मानित महसुस भएको र पार्टीको उम्मेदवार बन्न सक्दो प्रयास गर्ने बताएकी छन् । त्यसको अर्थ, अधिकांश डेमोक्रेटिक नेताहरूले राष्ट्रपतिको निर्णयलाई स्विकार्दै ह्यारिसको पक्षमा उभिने ठानिएको छ । पार्टीभित्र जारी अनिश्चितता अन्त्य होस् भन्नका लागि पनि अधिकांश नेताहरू ह्यारिसको पक्षमा उभिने देखिन्छ । क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमले ह्यारिस ‘निडर, दृढ र कठिन उम्मेदवार’ भएको बताएका छन् । डोनाल्ड ट्रम्पलाई हराउन सक्ने सबैभन्दा उत्तम उम्मेदवार ह्यारिस भएको उनको भनाइ छ ।

क्यालिफोर्निया, पेन्सिलभनिया, न्यु जर्सी, इलिनोई राज्यका गभर्नर र एलिजाबेथ वारेन, ब्रायन साट्ज, मार्क वार्नर, मार्क केली, एलेक्स पडिला, प्याटी मुर्रे, टिना स्थिमलगायत २६ जना डेमोक्रेट सिनेटरल ह्यारिसलाई समर्थन गरिसकेका छन् ।

त्यस्तै, पूर्वराष्ट्रपति बिल क्लिन्टन र उनकी पत्नी तथा पूर्वविदेशमन्त्री हिलारी क्लिन्टन पनि छन् । क्लिन्टन २०१६ को राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पसँग पराजित भएकी थिइन् । कैयौं ‘फिल्मस्टार र सेलिब्रिटी’हरूले पनि कमला ह्यारिसलाई समर्थन गरेका छन् ।

डेमोक्रेटिक पार्टीभित्रको निर्णयका लागि महत्त्वपूर्ण भूमिका खेल्ने पूर्वराष्ट्रपति बाराक ओबामा भने ह्यारिसको मनोनयनका विषयमा केही बोलेका छैनन् । उनले एक विज्ञप्ति सार्वजनिक गर्दै बाइडेनलाई ‘उच्च कोटीको देशभक्त’ भनेका छन् । ह्यारिसले पनि बाइडेनको निर्णय देशभक्तिपूर्ण भएको प्रतिक्रिया दिएकी थिइन् । पार्टीका महत्त्वपूर्ण व्यक्तित्वहरूले राष्ट्रपतिको उम्मेदवारका रूपमा अघि सारेका भए पनि ह्यारिसको उम्मेदवारी टुंगो लाग्न अझै चार साता कुर्नुपर्ने छ । अगस्ट १९ देखि २२ सम्म हुने डेमोक्रेटिकको राष्ट्रिय अधिवेशनले पार्टीका तर्फबाट राष्ट्रपतीय उम्मेदवार चयनको औपचारिक निर्णय लिनेछ ।

एक रिपोर्टअनुसार पार्टीका करिब ४ हजार प्रतिनिधिमध्ये ५ सय ३१ जना उनको पक्षमा उभिइसकेका छन् । उनीहरू टेनेशी, नर्थ क्यारोलाइना, साउथ क्यारोलाइनालगायतका राज्यका रहेको अल जजिराले जनाएको छ । पार्टी अधिवेशनले उम्मेदवार चयन गरेको खण्डमा ह्यारिस अमेरिकी राष्ट्रपतिमा प्रतिस्पर्धा गर्ने पहिलो अश्वेत महिला हुनेछिन् । र त्यो, डेमोक्रेटिकका लागि जोखिमपूर्ण पनि हुन सक्ने आकलन गरिएको छ ।

डोनाल्ड ट्रम्पसँगको तीव्र प्रतिस्पर्धामा ह्यारिस पनि बाइडेन जस्तै कमजोर हुने सर्वेक्षणहरूले देखाएका छन् । ताजा सर्वेक्षणहरूमा ह्यारिस ट्रम्पभन्दा केही पछाडि देखिएकी छन् । त्यसका विभिन्न कारण छन् । उपराष्ट्रपतिका रूपमा ह्यारिसको भूमिकाप्रति पनि कतिपयले प्रश्न उठाएका छन् ।

उपराष्ट्रपतिका रूपमा अमेरिका–मेक्सिको सीमामा देखिएको आप्रवासन संकट समाधानका लागि उनले चालेका कतिपय कदम गलत रहेका भन्दै ह्यारिसको आलोचना भएको थियो । त्यस्तै, गर्भपतन अधिकारसम्बन्धी बाइडेन प्रशासनकी मुख्य व्यक्ति पनि थिइन् । पछिल्ला निर्वाचनहरूमा डेमोक्रेटिक पार्टीको बाहुल्य रहेका राज्यहरूमा गर्भपतनको मुद्दा बलियो बनेको छ । यस विषयमा बाइडेनले कम पैरवी गरेका थिए ।

ह्यारिसको प्रचार अभियानका अनुसार बाइडेनको घोषणाको २४ घण्टाभित्र उपराष्ट्रपतिले ८ करोड अमेरिकी डलर चन्दा पाइसकेकी छन् । यो अमेरिकाका कुनै उम्मेदवारले यस पटकको निर्वाचनमा एकैदिन पाएको सबैभन्दा ठूलो चन्दा हो । त्यसका साथै उनले यसअघि ‘बाइडेन–ह्यारिस प्रचार अभियान’ को कोषमा रहेको १० करोड अमेरिकी डलरसमेत प्रयोग गर्न पाउनेछिन् । ह्यारिसको प्रचारका लागि यथेष्ट खर्च जुट्नु आफैंमा डेमोक्रेटिक पार्टी पंक्तिमा ऊर्जा थप्ने विषय हो ।

रिपब्लिकनका तर्फबाट ट्रम्पको उम्मेदवारी भने पार्टीको राष्ट्रिय अधिवेशनले पारित गरिसकेको छ । पेन्सिलभनियाको एक चुनावी सभाका क्रममा गरिएको गोली प्रहारमा ज्यान जोगिएको पाँच दिनपछि पार्टीले ट्रम्पलाई राष्ट्रपतिको उम्मेदवार चयन गरेको हो । ट्रम्प रिपब्लिकन दलबाट लगातार तीनवटा राष्ट्रपतीय चुनावमा उम्मेदवार बन्ने पहिलो तथा तेस्रो पटक राष्ट्रपतिको उम्मेदवार बन्ने दोस्रो नेता भएका छन् । यसअघि रिचार्ड निक्सन १९६०, १९६८ र १९७२ मा राष्ट्रपति उम्मेदवार बनेका थिए ।

जुलाई १५ देखि १८ सम्म विस्कन्सिन राज्यको मिलवाकीमा भएको रिपब्लिकनको अधिवेशनले आफ्ना लोकप्रिय एजेन्डा प्रवर्द्धन गर्ने र राष्ट्रपति जो बाइडेनको आलोचना गरेको थियो । तर पछिल्लो घटनाक्रमले रिपब्लिकनले गलत व्यक्तिलाई निसाना बनाइरहेको देखिएको छ । बाइडेन चुनावी दौडबाट बाहिरिएसँगै रिपब्लिकनहरूले ट्रम्प नेतृत्वमा अघि सारेको चुनावी योजना पनि परिवर्तन गर्नुपर्ने भएको छ । खासगरी रिपब्लिकनले बाइडेनको उमेरलाई देखाएर युवा मतदाता आकर्षित गर्ने प्रयास गरेका थिए । तर अब डेमोक्रेटिक उम्मेदवार ट्रम्पभन्दा निकै कम उमेरकी हुने अवस्था आएको छ ।

बाइडेन उमेरकै कारण राष्ट्रपतीय दौडबाट अलग हुनुपरेपछि अब त्यो प्रश्न भने रिपब्लिकन दल र डोनाल्ड ट्रम्पतर्फ तेर्सिने निश्चित छ । २०२१ जनवरी २० मा कार्यभार सम्हाल्दा वर्तमान राष्ट्रपति बाइडेनको उमेर ७८ वर्ष ६१ दिन थियो । हाल ८१ वर्ष पुगेका उनको कार्यक्षमता, स्मरणशक्ति, तन्दरुस्तीलगायत विषयमा प्रश्न उठाउँदै आफ्नै दलका नेताहरूले आवाज उठाउँदै आएका थिए । त्यसमा हाउस अफ रेप्रिजेन्टेटिभ्सका सभामुख माइक जोन्सनसहित वरिष्ठ रिपब्लिकन नेताहरू पनि छन् ।

बाइडेनलाई उमेरका आधारमा पद त्याग्नुपर्ने बताउँदै आएका जोन्सनसहितका नेतालाई अब डेमोक्रेटिक नेताहरूका तिखा प्रश्नले घोच्ने निश्चित छ । गत जुन १४ मा ७८ वर्ष पुगेका ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएको खण्डमा कार्यकाल सकिँदा ८२ वर्ष ७ महिनाका हुनेछन् । त्यसकारण, बाइडेन बाहिरिएपछिको नयाँ परिस्थितिमा डोनाल्ड ट्रम्पको चुनावी अभियान आफैंमा रक्षात्मक हुने देखिन्छ ।

(एजेन्सीहरूको सहयोगमा)

प्रकाशित : श्रावण ९, २०८१ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×