कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

अमेरिकालाई दुखाउने ‘बन्दुक–संस्कृति’

अमेरिकामा गत वर्षमात्रै बन्दुकसँग सम्बन्धित घटनामा ४० हजार १ सय ६७ जनाको ज्यान गएको छ, तीमध्ये १३ सय ६ जना किशोरकिशोरी र २ सय ७६ जना बालबालिका छन् । जोन हप्किन्स विश्वविद्यालयका अनुसार औसतमा हरेक ११ मिनेटमा एक जनाको बन्दुककै कारण मृत्यु हुने गरेको छ ।

काठमाडौँ — अमेरिकामा जबजब गोलीकाण्डमा निर्दोष नागरिकको ज्यान जान्छ, बन्दुक नियन्त्रणको माग उठ्न थाल्छ । अझ राष्ट्रपति, पूर्वराष्ट्रपति, राजनीतिज्ञ वा उच्च पदस्थ व्यक्तिहरू लक्षित आक्रमण भएपछि त बन्दुकको खरिद–बिक्री नियन्त्रण गर्नुपर्ने माग जोडादार रूपमा अघि सारिन्छ ।

अमेरिकालाई दुखाउने ‘बन्दुक–संस्कृति’

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलक्षित ३० असारमा भएको आक्रमणपछि बन्दुकसम्बन्धी मुद्दा पुन: सतहमा आएको छ । पेन्सिलभेनियामा आयोजित एक चुनावी र्‍यालीका क्रममा ट्रम्पलाई लक्षित गरी २० वर्षीय युवाले अर्धस्वचालित ‘एआर–१५’ राइफलबाट गोली प्रहार गरेका थिए । उक्त गोलीले ट्रम्पको कानको माथिल्लो भाग छेडिएको थियो । घटनामा एक जनाको ज्यान जानुका साथै दुई जना घाइते भएका थिए । गोली प्रहार गर्ने थोमस क्रुक्सलाई सुरक्षाकर्मीले मारिदिएका थिए ।

अमेरिकी संघीय जाँच ब्युरो (एफबीआई) का अनुसार ‘पूर्वराष्ट्रपति ट्रम्पको हत्या गर्ने उद्देश्यले गोली प्रहार गरिएको’ हो । आक्रमणमा ट्रम्पको ज्यान जोगिएको भए पनि अमेरिकी राजनीति तरंगित बनाइदिएको छ । बन्दुक विरोधीहरूले नियन्त्रणको आवाज उठाएका छन् । तर यसका पक्षधरले भने बन्दुकमाथिको नियन्त्रणलाई ‘नागरिकको स्वतन्त्रता र संवैधानिक अधिकारको हनन’ भनेका छन् ।

अमेरिकामा बन्दुकसँग सम्बन्धित घटनामा प्रत्येक वर्ष हजारौं मानिस मारिने गरेका छन् । जोन हप्किन्स विश्वविद्यालयका अनुसार औसतमा हरेक ११ मिनेटमा यहाँ एक जनाको बन्दुकका कारण ज्यान जाने गरेको छ । अमेरिकामा गत वर्षमात्रै बन्दुकसँग सम्बन्धित घटनामा ४० हजार १६७ जनाको ज्यान गएको थियो । तीमध्ये १३ सय ६ जना किशोरकिशोरी र २७६ जना बालबालिका छन् । ‘गन भायोलेन्स अर्काइभ’ का अनुसार २२ हजार ५०६ जनाले बन्दुकको प्रयोग गरी आत्महत्या गरेका हुन् । २०२२ मा त्यसरी मृत्यु हुनेको संख्या ४८ हजार ११७ थियो । तीमध्ये २६ हजार ९९३ जनाले आत्महत्या गरेका थिए । १९ हजार ५९२ को गोली प्रहार गरी हत्या गरिएको थियो । ४७२ जना दुर्घटनावश र ६४९ कानुन कार्यान्वयका क्रममा मारिएका थिए । अमेरिकी सञ्चार माध्यमहरूका अनुसार टेक्सास, क्यालिफोर्निया, फ्लोरिडा, जर्जिया, नर्थ क्यारोलाइना, इलिनोइ र लुजियाना राज्यमा मृत्युदर बढी छ ।

अमेरिकामा एक दशकयता विद्यालय, व्यापारिक भवन, कन्सर्ट, अस्पताललगायतका सार्वजनिक स्थानमा भएका गोलीकाण्डमा मात्र करिब पाँच हजार जनाको ज्यान गइसकेको छ । गत वर्ष (२०२३) मा सार्वजनिक स्थानमा मात्रै ६५६ वटा गोलीकाण्ड मच्चाइएका थिए । ती घटनामा ५९७ जनाको ज्यान गएको थियो । २०२४ मा हालसम्म ३९० जना मारिइसकेका छन् । त्यस्ता आक्रमणमा २०१४ मा २७३ जना, २०१५ मा ३३६, २०१६ मा ३८३, २०१७ मा ३४८, २०१८ मा ३३६, २०१९ मा ४१७, २०२० मा ६१०, २०२१ मा ६९०, २०२२ मा ६४७ र २०२३ मा ७४६ जनाले ज्यान गुमाइसकेका छन् । तीमध्ये २०१७ मा लस भेगासमा भएको आक्रमण दशककै विनाशकारी हो । उक्त गोलीकाण्डमा ६० जना मारिएका थिए भने ८५० जना घाइते भएका थिए ।

अमेरिकी राज्य ओरेगनको सलेमस्थित एक स्टोरमा बिक्रीमा राखिएका हतियार । तस्बिर : एपी

सर्वसाधारणसँग रहेको बन्दुकको संख्याका आधारमा अमेरिका विश्वमै पहिलो नम्बरमा छ । स्मल आर्मस् सर्भे र डाना पान्डासका अनुसार औसत एक सय अमेरिकीसँग १२०.५ वटा बन्दुक छन् । दोस्रो स्थानमा रहेको यमनमा एक सय जनामा ५२.८, न्यु क्यालेडोनियामा ४२.५, सर्बियामा ३९.१, मोन्टेनेग्रोमा ३९.१, उरुग्वे र क्यानडामा ३४.७, साइप्रसमा ३४, फिनल्यान्डमा ३२.४, लेबनानमा ३१.९ वटा बन्दुक रहेका छन् ।

केही अध्ययनहरूले भने बहुसंख्यक अमेरिकीहरू बन्दुक नियन्त्रणको पक्षमा रहेको देखाएका छन् । ग्यालपले गरेको एक सर्वेक्षणअनुसार ५७ प्रतिशत अमेरिकी बन्दुकसम्बन्धी कानुन कडा पार्नुपर्ने पक्षमा छन् । सर्वेक्षणमा सहभागी ३२ प्रतिशतले भने हालको कानुनलाई नै निरन्तरता दिनुपर्ने बताएका छन् । १० प्रतिशत अमेरिकी भने बन्दुकसम्बन्धी कानुन अझै खुकुलो पार्नुपर्ने पक्षमा उभिएका छन् ।

पिउ रिचर्स सेन्टरले २०२३ मा गरेको सर्वेक्षणमा बन्दुक राख्नेमध्ये दुई तिहाइभन्दा बढी अमेरिकी (७१ प्रतिशत) ले आफ्नो व्यक्तिगत सुरक्षाका लागि बन्दुक आवश्यक भएको बताएका थिए । ग्यालपको अध्ययनअनुसार ९१ प्रतिशत डेमोक्रेटहरू कडा कानुन ल्याउनुपर्ने बताउँछन् । रिपब्लिकनहरू भने २४ प्रतिशत मात्र यसको पक्षमा छन् ।

पिउको अध्ययनअनुसार हाल करिब साढे चार करोड अमेरिकीसँग बन्दुक छ । विश्वमा हरेक वर्ष उत्पादन हुने झन्डै ८० लाख बन्दुकमध्ये आधाभन्दा बढी अमेरिकीले खरिद गर्छन् । सन् २०२३ मा ५५ लाख अमेरिकीले नयाँ बन्दुक खरिद गरेका थिए । रिपब्लिकन पार्टीका समर्थकहरूमध्ये दुई तिहाइभन्दा बढीसँग अत्याधुनिक बन्दुक रहेको छ भने २५ प्रतिशत डेमोक्रेटहरूले पनि बन्दुक बोक्छन् । अमेरिकाले गत वर्ष १ खर्ब ७१ अर्बको हतियार बिक्री गरेको थियो ।

विभिन्न गोलीकाण्डका बाबजुद नेसनल राइफल एसोसिएनस (एनआरए) ले अमेरिकामा बन्दुक राख्न पाउने नीतिको पक्षमा लबिइङ गर्दै आएको छ । त्यसका लागि कंग्रेसका सदस्यहरूलाई प्रभावित गर्न एनआरएले ठूलो रकम खर्चंदै आएको छ । जसका कारण बन्दुक नियन्त्रणका लागि कानुन पारित गर्ने प्रयास बारम्बार कंग्रेसमा अस्वीकृत हुँदै आएको छ । त्यसमाथि कतिपय राज्यले बन्दुक राख्न पाउने पक्षमा आफैंले समेत निर्णयहरू गरेको देखिन्छ । उदाहरणका लागि, २०२१ मा टेक्सास राज्यका गभर्नर ग्रेग अबोटले एक कानुन जारी गर्दै राज्यका नागरिकले कुनै पनि लाइसेन्स वा तालिमबिना नै ह्यान्डगन राख्न पाउने व्यवस्था गरेका थिए । त्यस्तै, गत अप्रिलमा जर्जियाले पनि खुला रूपमा बन्दुक बोक्न अनुमति लिनुपर्ने प्रावधान हटाएको थियो । त्यस्तो प्रावधान हटाउने जर्जिया २५ औं अमेरिकी राज्य हो ।

पछिल्लो समय केही राज्यहरूले भने अर्धस्वचालित हतियारमाथि प्रतिबन्ध वा कडाइ गरेका छन् । क्यालिफोर्निया, कनेक्टिकट, डेलावार, हवाई, इलिनोइ, म्यारिल्यान्ड, मासाचुसेट्स, न्युजर्सी, न्युयोर्क राज्यसँगै वासिङ्टन डीसीले अर्धस्वचालित हतियारमाथि प्रतिबन्ध लगाइसकेका छन् । त्यस्तै, मिनेसोटा, भर्जिनिया, वास्ङिटन राज्यले अर्धस्वचालित हतियारमाथि नियमन गरे पनि प्रतिबन्ध लगाएका छैनन् ।

बन्दुक नियन्त्रणको माग जतिसुकै चर्किए पनि यसले अमेरिकाको ‘संवैधानिक अधिकार’लाई भने चुनौती दिन सक्दैन । अमेरिकी संविधानले हतियार राख्न पाउने व्यवस्था सुनिश्चित गरेको छ । तर स्वचालित, अर्धस्वचालित वा बढी क्षमताका हतियार राख्ने विषयमा भने संविधानले केही बोलेको छैन । कतिपय विज्ञहरूले उक्त प्रावधान नै विवादको पाटो रहेको बताउने गरेका छन् । संविधान निर्माणका बखतको अवस्था र वर्तमान समयमा ठूलो परिवर्तन आइसकेको छ । तर पनि अमेरिकी राजनीतिमा यसबारे मतभेद कायमै छ ।

ग्रामीण क्षेत्रबाट प्रतिनिधित्व गर्ने विधायकहरू बन्दुक नियन्त्रणको विषयमा बोल्न चाहँदैनन् । त्यसको मुख्य कारण हो, अमेरिकी ग्रामीण क्षेत्र बन्दुक अधिकारको पक्षपाती हो । दिमागी असन्तुलन भएका वा आतंकवादी सोच भएकालाई बन्दुकको पहुँच दिन नहुने पक्षमा देखिएका डेमोक्रेटहरू हतियार खरिद–बिक्रीलाई कडाइ तथा व्यवस्थित गर्ने पक्षमा देखिन्छन् । तर रिपब्लिकनहरू भने त्यसको विपक्षमा छन् । बन्दुक किन्न पाउनु संवैधानिक अधिकार भएकाले नागरिकले आफ्नो स्वतन्त्रताको उपयोग गर्न पाउनुपर्ने उनीहरूको भनाइ छ । त्यस्तै, कट्टरपन्थीहरूले पनि बन्दुक संस्कृति अमेरिकाको जन्मसँग जोडिएकाले यसलाई छाड्न नहुने अडान राख्छन् ।

उपनिवेशकालमा अमेरिकाका आदिवासी ‘रेड इन्डियन’ लाई बेलायतले बन्दुकमार्फत निस्तेज पारेको थियो । त्यही सिको गर्दै अमेरिकी संविधान लेख्ने क्रममा स्थानीय मिलिसियामाथि केन्द्रीय सरकारको सम्भावित हस्तक्षेपलाई मध्यनजर गर्दै दोस्रो धारामा हतियार राख्न पाउने अधिकारको व्यवस्था गरिएको थियो । अमेरिकाले १७९१ डिसेम्बर १५ मा ‘बिल अफ राइट्स’ अनुमोदन गरेसँगै बन्दुक राख्ने अधिकारलाई नैसर्गिक अधिकारका रूपमा उल्लेख गरिएको थियो । अभिव्यक्तिको स्वतन्त्रता, स्वतन्त्र प्रेस, धार्मिक स्वतन्त्रता र संगठित हुन पाउने स्वतन्त्रताजस्तै हतियार राख्न पाउने अधिकार पनि एक हो ।

अमेरिकामा बेलायतविरुद्धको स्वतन्त्रताको लडाइँ (१७७५–८३) मा मिलिसियाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । समुदायको रक्षाका लागि हतियार उठाएका आम मानिसको समूह ‘मिलिसिया’ १७७६ मा अमेरिका स्वतन्त्र भएसँगै राज्यस्तरमा संगठित भएको थियो । त्यतिबेला मिलिसियाले बोक्ने मुख्य हतियार लामो नाल भएको मस्कट थियो । ९ मिटर टाढासम्म प्रहार गर्न सकिने हतियार एक मिनेटमा तीन पटक फायर गर्न सकिन्थ्यो । उक्त बन्दुक त्यतिबेला अमेरिकाको सांस्कृतिक पहिचान नै बनेको थियो ।

अमेरिकाले १७८८ मा देशको संविधानलाई आधिकारिक मान्यता दिएको थियो । अमेरिकाको संस्थापकमध्येका एक जेम्स मेडिसनले प्रान्तमा मिलिसियालाई बलियो बनाउने उद्देश्यले संविधानमा दोस्रो संशोधन मस्यौदा तयार पारे । त्यसमा नागरिकले नि:सर्त बन्दुक राख्न पाउने व्यवस्था गरिएको हो । संविधानको प्रावधानका विषयमा १९६० को दशकको सुरुसम्म भने कुनै विवाद देखिएको थिएन । तर १९६३ नोभेम्बर २२ मा राष्ट्रपति जोन एफ केनेडीको हत्या, १९६८ को राष्ट्रपतीय चुनावमा उम्मेदवारको दौडमा रहेका उनका भाइ रोबर्ट एफ केनेडीसहितका राजनीतिज्ञहरू मारिएपछि अमेरिकी कंग्रेसले बन्दुक नियन्त्रणसम्बन्धी कानुन ल्याएको थियो ।

डेमोक्रेट र रिपब्लिकनसहित नेसनल राइफल एसोसिएसन (एनआरए) को समेत समर्थन रहेको कानुन बन्दुक संस्कृतिलाई व्यवस्थित र नियन्त्रित गर्ने उद्देश्यले ल्याइएको थियो । तर १९७६ को राष्ट्रपतीय चुनावका क्रममा रोनाल्ड रेगनले बन्दुकमाथि गरिने नियन्त्रणले केन्द्रीय सरकारको एकाधिकार बढाउने र व्यक्तिगत स्वतन्त्रता हनन हुने बताए । जसका कारण १९७२ को पार्टी सम्मेलनमा बन्दुक नियन्त्रणसम्बन्धी कानुनको पक्षमा देखिएको रिपब्लिकन पार्टी १९७६ मा विरोधमा उत्रियो । त्यसयता अमेरिकामा ‘बन्दुक–संस्कृति’ कट्टरपन्थी राजनीतिको महत्त्वपूर्ण हिस्सा बन्यो । त्यसमाथि एनआरएले पनि बन्दुक राख्न यसको पक्षमा पैरवी गर्न थाल्यो । अमेरिकी गृहयुद्धपछि १८७१ मा गठित एनआरएले अमेरिकीहरूले बन्दुक बोक्न पाउने अधिकारको पैरवी गर्छ । ५५ लाख सदस्य रहेको एनआरए अमेरिकाको सबैभन्दा ठूलो संगठन हो । आफ्ना सदस्यहरूबाट लेभीबापत वार्षिक ९७ मिलियन डलर उठाउने एनआरएले स्थानीयदेखि केन्द्रीय चुनावमा बन्दुकका पक्षपाती उम्मेदवार जिताउन लगानीसमेत गर्दै आएको छ ।

पछिल्लो समय बढ्दै गएका गोलीकाण्डमा घटनाप्रति भने चिन्ता र चासो दुवै थपिएको छ । बन्दुकको बिक्री–वितरण बढ्दै गएकाले यसबाट मारिनेको संख्या पनि अकासिएको छ । अब्राहम लिंकन, जेम्स ए गारफिल्ड, विलियम म्यककिन्ली र जोन अफ केनेडी गरी चार पूर्वराष्ट्रपति मात्र होइन, लाखौं सर्वसाधारणले बन्दुककै कारण अकालमा मृत्युवरण गर्नुपरे पनि बन्दुक नियन्त्रणको आवाज उठ्ने र सेलाउने क्रम जारी छ । त्यसका मुख्य कारण हुन्– बन्दुकमाथिको राजनीति, यसको व्यापार र संस्कृतिसँग जोडेर गरिने व्याख्या ।

(एजेन्सीहरूको सहयोगमा)

प्रकाशित : श्रावण २, २०८१ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×