कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

परोपकार : ९३ वर्षीया महिलाले मेडिकल कलेजलाई दिइन् एक बिलियन डलर

विश्वविख्यात धनाढ्य वारेन बफेटका पार्टनरका रुपमा चिनिएका श्रीमान् डेभिड गोटेसम्यानको मृत्युपछि उनले छोडेर गएको बिलियन डलरबारे श्रीमती डा. रुथ गोटेसम्यानले थाहा पाइन् । अनि सबै रकम नि:शुल्क पढाउनुपर्ने सर्तमा मेडिकल कलेजलाई दिइन् ।
ब्रोन्क्स मेडिकल स्कूल, अल्बर्ट आइन्स्टाइन कलेज अफ मेडिसिनलाई दिएको उक्त रकम नेपाली करिब १ खर्ब ३२ अर्ब ६४ करोड नेपाली रुपैयाँ बराबर बराबर हुन्छ ।
एजेन्सी

काठमाडौँ — न्यूयोर्ककी ९३ वर्षीया एकल महिलाले न्यूयोर्ककै सबैभन्दा गरिब स्थानका रुपमा परिचित ब्रोन्क्समा रहेको ब्रोन्क्स मेडिकल स्कूल, अल्बर्ट आइन्स्टाइन कलेज अफ मेडिसिनलाई १ बिलियन अमेरिकी डलर उपहार स्वरूप दिएकी छन् । वाल स्ट्रिट फाइनान्सरकी पत्नी डा. रुथ गोटेसम्यानले त्यहाँ पढ्ने सबै विद्यार्थीहरुको पढाइ खर्च तिर्नका लागि प्रयोग गर्ने सर्तसहित करिब १ खर्ब ३२ अर्ब ६४ करोड नेपाली रुपैयाँ बराबरको रकम मेडिकल कलेजलाई उपहार दिएकी हुन् ।

परोपकार : ९३ वर्षीया महिलाले मेडिकल कलेजलाई दिइन् एक बिलियन डलर

डा. रुथ गोटेसम्यान, आइन्स्टाइनकी पूर्व प्रोफेसर पनि हुन् । त्यहाँ उनले सिक्ने असक्षमताहरू बारे अध्ययन गरिन् र त्यसको स्क्रीनिंग गर्ने परीक्षणको विकास गरिन् र साक्षरताका कार्यक्रमहरू चलाइन् । यो उपहार संयुक्त राज्य अमेरिकामा एक शैक्षिक संस्थाका लागि गरिएको ठूलो परोपकारी दानमध्ये एक हो भने मेडिकल स्कूलका लागी सम्भवतः सबैभन्दा ठूलो हो ।

डा. रुथले उक्त रकम स्वर्गीय श्रीमान् डेभिड गोटेसम्यानबाट प्राप्त गरेकी हुन् । विश्व विख्यात धनाढ्य वारेन बफेटका पार्टनरका रुपमा चिनिएका आफ्ना स्वर्गीय श्रीमान् डेभिड गोटेसम्यानले उनका लागि बिलियन डलर छोडेर गएको पछिमात्रै थाह भएको थियो। स्याण्डी नाम बाट परिचित उनका श्रीमानले बफेटले स्थापना गरेको बर्कसायर ह्याथवेमा प्रारम्भिक लगानी गरेका थिए ।

यो उपहार ठूलो रकमका लागि मात्रै नभएर न्यूयोर्ककै सबैभन्दा गरिब बरो ब्रोन्क्समा रहेको मेडिकल कलेजमा जाने भएकाले पनि उल्लेखनीय भएको हो । ब्रोन्क्समा अकालमा मृत्यु हुने दर उच्च छ र यो न्यूयोर्कको सबैभन्दा अस्वस्थ काउन्टीको रूपमा सूचीकृत छ । विगतको पुस्तामा, धेरै अर्बपतिहरूले न्यूयोर्कको सबैभन्दा धनी बरो म्यानहट्टनका प्रख्यात मेडिकल स्कूल र अस्पतालहरूलाई करोडौं डलर दिएका छन् ।

डा. गोटेसम्यानका अनुसार उनको यो उपहारले नयाँ चिकित्सकहरूले ऋण मुक्त रहेर मेडिकल कलेज छोडी आफ्नो करिअर सुरु गर्न सक्ने छन् । नभए एक चिकित्सकले मेडिकल कलेज छोड्दा उसको टाउकोमा थोरैमा पनि २ लाख डलरको ऋणको बोझ हुन्थ्यो । यसका साथै यो सहयोगले पैसा नभएकै कारण मेडिकल कलेज जान नसकिरहेकाहरूलाई पनि चिकित्सक बन्न सहयोग पुग्ने आशा डा. रुथको छ ।

उनका श्रीमानले फर्स्ट म्यानहट्टन नामक लगानी फर्म चलाउँदा डा. गोटेसम्यानले सन् १९६८ मा मनोशैक्षिक सेवाको निर्देशकको रूपमा आइन्सटाइनमा जागिर सुरु गरेकी थिइन् । उनले लामो समय सोही मेडिकल कलेजमा आफ्नो सेवा दिइन् र अहिले उनी बोर्ड अफ ट्रस्टी हुँदै त्यसको अध्यक्ष छिन् ।

हालका वर्षहरूमा, उनी उक्त मेडिकल कलेजका साथै त्यससँग आवद्ध मोन्टेफोर मेडिकल सेन्टरको नेतृत्व गरिरहेका बाल रोग विशेषज्ञ डा. फिलिप ओजुआहसँग घनिष्ठ मित्र छिन् । आफ्नो श्रीमानले छाडेको पैसालाई के गर्ने भन्ने निर्णय लिन यही मित्रताले सहयोग पुर्‍याएको थियो ।

शिक्षामा विद्यावारिधी गरेका दुवैले ब्रोन्क्सस्थित एउटै संस्थाबाट आफ्नो करिअर सुरु गरेर त्यहीँ आफ्नो जीवन बिताइरहेका छन् । उनीहरूले सधैं सँगै मद्दतको खाँचो परेका परिवार र बालबालिकालाई सहयोग पनि गरेका छन् ।

कोरोनाभाइरसले विश्वलाई ठप्प अवस्थामा पुर्‍याएको बखत डा. गोटेसम्यान र डा. ओजुआहको मित्रता झनै प्रगाढ बनेको हो । ९० को दशकमा रहेका डा. गोटेसम्यानका श्रीमानलाई नयाँ भाइरसको संक्रमणले बिरामी बनायो । डा. गोटेसम्यानलाई पनि हल्का खालको संक्रमण भयो । डा. ओजुआहले दुवैलाई लिएर ब्रोन्क्सको सबैभन्दा ठूलो अस्पताल मोन्टेफियोर ल्याउनका लागि एम्बुलेन्स पठाइदिए । त्यसपछिका हप्ताहरूमा, डा. ओजुआहले दैनिक डा. गोटेसम्यानको घर गएर दुवैजना पूर्ण स्वास्थ्य नभएसम्म निगरानी राख्न थाले । यसरी नै मित्रताको विकास भयो ।

करिब तीन वर्ष पहिले, डा. ओजुआहले डा. गोटेस्म्यानलाई मेडिकल स्कूलको ट्रस्टीहरूको बोर्डको नेतृत्व गर्न आग्रह गरे । उनले पहिले पनि त्यहाँ सदस्यका रुपमा काम गरिसकेकी थिइन् । तर उनको यो उमेरमा आएको अवसरले उनलाई सिंह र मुसाको कथाको सम्झना गराइदियो । उनले त्यस समयमा डा. ओजुआहलाई भनेकी थिइन्– जब सिंहले मुसाको ज्यान जोगाइ दिन्छ तब मुसाले उसलाई भन्छ, ‘सायद कुनै दिन म तिमीलाई मद्दत गर्नेछु ।’

कथामा, घमण्डी सिंह हाँस्छ । तर डा. फिलिप हाँसेनन् । डा. गोटेसम्यानले मुस्कानका साथ टिप्पणी गरिन् ।

डा. गोटेसम्यानका श्रीमानको २०२२ मा ९६ वर्षको उमेरमा निधन भएको थियो । ‘उहाँले मलाई अन्जानमा बर्कशायर ह्याथवे स्टकको सम्पूर्ण पोर्टफोलियो छोड्नुभयो,’ उनले सम्झिन् । र, निर्देशन पनि सरल थिए– ‘तिमीलाई जे ठीक लाग्छ त्यही गर्नु,’ उनले भनिन् ।

यो उमेरमा यति धेरै रकम के गर्ने भनेर सोच्न धेरै कठिन थियो । त्यसैले सुरुमा उनले वास्तै गरिनन् । तर उनका छोराछोरीले उनलाई धेरै समय नपर्खिन प्रोत्साहित गरे ।

जब वसीयतमा ध्यान केन्द्रित गरिन् तब यसले के गर्ने भन्ने तुरुन्तै महसुस भएको उनी बताउँछिन् । ‘म आइन्स्टाइनमा अध्ययनरत विद्यार्थीहरूलाई नि:शुल्क पढ्नका लागि कोष निर्माण गर्न चाहन्थें,’ उनले भनिन्, ‘त्यो सदाका लागि गर्न पर्याप्त पैसा थियो ।’

वर्षौं आइन्सटाइनमा काम गर्दा उनले सयौं सम्भावित विद्यार्थीहरूको अन्तर्वार्ता लिइन् । त्यहाँ एक वर्षको पढाइ खर्च ५९ हजार डलर थियो र अधिकांश विद्यार्थी ऋणको भारी बोकेर बाहिरिन बाध्य थिए । मेडिकल कलेजका अनुसार ५० प्रतिशतभन्दा धेरै विद्यार्थीले कलेजबाट पास आउट हुँदा दुई लाख डलर तिर्नुपर्ने हुन्छ । न्यूयोर्कमै रहेका अन्य मेडिकल कलेजमा भने यो संख्या २५ प्रतिशत मात्रै छ ।

आइन्स्टाइनमा पहिलो वर्षमा अध्ययनरत मेडिकल विद्यार्थीहरूमध्ये झण्डै आधा न्यूयोर्कवासी हुन् र झन्डै ६० प्रतिशत महिला छन् । आइन्स्टाइनमा रहेका मेडिकल विद्यार्थीहरूमध्ये करिब ४८ प्रतिशत गोरा, २९ प्रतिशत एसियाली, ११ प्रतिशत हिस्पानिक र ५ प्रतिशत अश्वेत छन् ।

यो रकमका कारण एकातर्फ भविष्यका विद्यार्थीहरूले ऋणको बोझबिना आफ्नो क्यारियर सुरु गर्न सक्षम हुनेछन् भने अर्कोतर्फ मेडिकल स्कूलमा आवेदन दिन इच्छुक डाक्टरहरूको संख्या पनि बढेर जाने छ । ‘हामीसँग उत्कृष्ट मेडिकल विद्यार्थीहरू छन् । तर यसले अरू धेरै विद्यार्थीहरूका लागि अवसर खोल्ने छ जसले आर्थिक स्थितिकै कारण मेडिकल स्कुल जाने बारे सोच्न सक्दैनन्,’ उनले भनिन् ।

यो उपहार दिन पाएकोमा आफू निकै खुसी भएको उनले बताएकी छिन् । ‘मसँग फिलिपलाई मद्दत गर्ने अवसर मात्र छैन, तर मोन्टेफिओर र आइन्स्टाइनलाई परिवर्तनकारी तरिकामा मद्दत गर्ने अवसर छ । यसमा म धेरै गर्व गर्छु र कृतज्ञ छु, कि मैले यो गर्न सकें,’ उनले भनिन् ।

डा. गोटेस्म्यान डिसेम्बरमा डा. ओजुआहलाई एउटा ठूलो उपहार दिने सोचमा छु भन्ने सुनाउनका लागि भेट्न गएकी थिइन् । उनले डा. ओजुआहलाई सिंह र मुसाको कथा सम्झाइन् र भनिन्– यो मुसाको क्षण हो ।

‘यदि कसैले भन्यो, म तपाईंको मेडिकल स्कूलका लागि परिवर्तनकारी उपहार दिन चाहन्छु । तपाईं के गर्न भन्नुहुन्छ ?’ उनले सोधिन् ।

‘तपाईंले गर्न सक्ने तीनवाटा कुरा छन्,’ डा. ओजुआहले भने, ‘पहिलो नि:शुल्क शिक्षा हुनसक्छ ।’

‘म त्यही गर्न चाहन्छु,’ डा. गोटेसम्यानले भनिन् र उनको अन्य दुई विचार कहिल्यै सुनिनन् ।

डा. गोटेसम्यान कहिलेकाहीँ आफ्नो स्वर्गीय श्रीमानले उनको यो निर्णयको बारेमा के सोच्थे होलान् भनेर सोच्छिन् । ‘मलाई आशा छ कि उहाँ मुस्कुराउनुभएको छ र झोक्किएको छैनन्,’ उनले हाँस्दै भनिन्, ‘तर, उहाँले मलाई यो गर्ने मौका दिनुभयो, र मलाई लाग्छ कि उहाँ खुसी हुनुहुन्छ । मलाई आशा छ ।’

आइन्स्टाइन निशुल्क पढाउने पहिलो मेडिकल स्कूल भने होइन । २०१८ मा, न्यूयोर्क विश्वविद्यालयले चिकित्सा विद्यार्थीहरूलाई निशुल्क पढाउने घोषणा गरेको थियो ।

डा. गोटेसम्यान सबैभन्दा ठूलो उपहार दिएपनि त्यसमा आफ्नो नाम नजोड्न भनेकी छन् । ‘कसैलाई पनि थाहा हुनुपर्दैन,’ डा. ओजुआहले रुथको भनाइ सम्झाए । तर डा. ओजुआहले उनको जीवनले अरूलाई प्रेरणा दिनसक्ने लागेर आफूले जोड गरेको बताए । ‘यहाँ यस्ता पनि कोही छन् जो अरूको हितमा पूर्ण रूपमा समर्पित छ र कुनै प्रशंसा वा प्रमाणीकरण चाहँदैन,’ डा. ओजुआहले भने ।

डा. ओजुआहका अनुसार मेडिकल स्कूल वा अस्पतालमा आफ्नो नाम जोड्नका लागि डा. गोटेसम्यानले दिएको उपहारको पाँच भाग थोरै हुन्छ ।

तर, आइन्स्टाइन कलेज अफ मेडिसिनको नाम परिवर्तन नगर्ने पनि डा. गोटेसम्यानको उपहारको सर्त हो । सापेक्षताको सिद्धान्तको विकास गर्ने भौतिकशास्त्री अल्बर्ट आइन्स्टाइनले सन् १९५५ मा खोलिएको मेडिकल स्कूलमा आफ्नो नाम प्रदान गर्न सहमत भएका थिए । आइन्सटाइनको नामलाई उछिन्न नसकिने उनको भनाइ थियो । ‘बाफरेबाफ, हामीसँग खतरा नाम छ । हामीले अल्बर्ट आइन्स्टाइन पाएका छौं ।’

(एजेन्सीहरूको सहयोगमा अनुवाद गरिएको ।)


प्रकाशित : फाल्गुन १७, २०८० १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?