कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

पाकिस्तानमा कसले जित्यो ?

पूर्वप्रधानन्त्रीद्वय इमरान खान र नवाज सरिफद्वारा विहीबार भएको निर्वाचनमा विजयी भएको दाबी, सरकार गठनका लागि पाकिस्तान पिपुल्स पार्टीको समर्थन नभइ नहुने विलावल भुट्टो जर्दारीको भनाइ

काठमाडौँ — पाकिस्तानमा बिहीबार भएको आमनिर्वाचनको नतिजा सार्वजनिक भएको छ । तर कुनै पनि दलले सरकार गठनका लागि आवश्यक बुहमत ल्याउन भने असफल भएका छन् ।

पाकिस्तानमा कसले जित्यो ?

पूर्वप्रधानमन्त्री इमरान खानको दल पाकिस्तान तेहरिक–ए इस्लाम (पीटीआई) समर्थित स्वतन्त्र उम्मेदवारहरूले सबैभन्दा धेरै स्थानमा विजयी भएका छन् । पूर्वप्रधानमन्त्री नवाज सरिफको पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) दोस्रो र पूर्व विदेशमन्त्री विलावल भुट्टो जर्दारीको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) तेस्रो भएका छन् ।

पाकिस्तानी सञ्चार माध्यमहरूका अनुसार घोषित २ सय ५३ मध्ये एकसय सिटमा स्वतन्त्र उम्मेदवारहरू निर्वाचित भएका छन् । तीमध्ये ९२ उम्मेदवारहरू पीटीआई समर्थित भएका हुन् । पीएमएल–एनले ७१ सिट जितेको छ । पीपीपीका उम्मेदवारहरू ५४ स्थानमा विजयी भएका छन् । अन्य दलले २८ सिट जितेका छन् ।

पाकिस्तानमा ३ सय ३६ सदस्यीय संसद् छ । तीमध्ये २ सय ६६ सिटमा प्रत्यक्ष चुनाव हुन्छ । जसअनुसार सरकार गठनका लागि कम्तीमा १३४ सांसदको समर्थन आवश्यक पर्छ । समानुपातिक प्रणालीबाट चुनिने ७० सिटमध्ये भने ६० सिट महिला र १० सिट गैरमुस्लिमका लागि छुट्याइएको छ ।

हाल जेलजीवन विताइरहेका पूर्वप्रधानमन्त्री खानले चुनावी नतिजा आफ्नो पक्षमा आएको दाबी गरेका छन् । निर्वाचन आयोगले खानको दल पीटीआईलाई चुनावी प्रस्पिर्धामा उत्रन प्रतिबन्ध लगाएको थियो । जसका कारण उनको दलका नेताहरू स्वतन्त्र उम्मेदवारका हैसियतमा चुनावी प्रतिस्पर्धामा उत्रेका थिए । पाकिस्तानी कानुनअनुसार उनीहरू स्वतन्त्र हैसियतमै रहन वा अन्य कुनै दलमा आवद्ध हुन सक्नेछन् ।

सामाजिक सञ्जाल एक्समा सार्वजनिक एआईद्वारा निर्मित भिडिओमा खानले अनेकौं कारबाही र षड्यन्त्रबीच आफ्नो पार्टीले विशाल जित हासिल गरेको बताएका छन् । ‘म तपाईंहरू हरेकलाई २०२४ को चुनाव जितेकोमा बधाई दिन चाहन्छु । तपाईंहरूले इतिहास रच्नुभएको छ,’ उनले भनेका छन् । पीटीआईसँग सम्बन्ध भएका उम्मेदवारहरूले जितेको स्थान विश्लेषकहरूले अनुमान गरेको भन्दा निकै बढी हो ।

२५ करोड जनसंख्या भएको प्रगतिशील देशमा राजनीतिक ध्रुबीकरण सुहाउँदैन । सबै दलले एकता र परिपक्वता देखाउनुपर्छ : असिम मुनिर, पाकिस्तानी सेना प्रमुख

१९९७ मा स्थापित पीटीआई २०१३ को चुनावबाट तेस्रो ठूलो दल बनेको थियो । २०१८ को चुनावमा दलले ११६ सिट जितेपछि खान प्रधानमन्त्री बनेका थिए । तर सेना र गुप्तचरको सहयोगमा पाकिस्तानी राजनीतिमा उदाएका ठानिएका खान प्रधानमन्त्री बनेपछि भने सेनासँग दूरी बढ्यो । त्यसका साथै, चीन र रुससँग नजिकिएपछि खानको अमेरिकासँग सम्बन्ध ब्रिग्रियो । २०२२ अप्रिलमा संसदमा विश्वासको मत प्राप्त गर्न नसकेका खानले अमेरिका र सैनिक नेतृत्वको षड्यन्त्रमा आफूलाई सत्ताबाट हटाइएको आरोप लगाए ।

सत्ताच्युत भएयता खानमाथि परेका विभिन्न मुद्दामध्ये केहीको फैसला भयो । जसका कारण खानको उनको दललाई निर्वाचन आयोगले चुनावी प्रतिस्पर्धाका लागि अयोग्य घोषित गरेको थियो । तोसाखाना अर्थात् सरकारी स्वामित्वको एक विभागबाट पाएका उपहार र गोप्य दस्ताबेजसम्बन्धी मुद्दामा दोषी ठहर भइसकेका छन् । यद्यपि, ती मुद्दा राजनीतिक रुपमा प्रेरित रहेका खानले दाबी गर्दै आएका छन् ।

उक्त फैसलापछि खानले फेब्रुअरी ८ मा हुने मतदानमार्फत प्रत्येक अन्यायको प्रतिशोध लिन समर्थकहरूलाई आह्वान गरेका थिए । चुनावी नतिजाले खान अझै पनि पाकिस्तानी राजनीतिम महत्वपूर्ण शक्तिकै रुपमा हरेको प्रष्ट पारिदिएको छ । यसको अर्थ, पाकिस्तानी जनताले खानलाई अझै प्रधानमन्त्रीमा देख्न चाहेका देखिएको छ । क्रिकेट ब्याट चुनाव चिन्ह लिएर चुनाव लड्न दिइएको भए पीटीआईले अझै बढी सिट जित्ने चुनावी नतिजाले देखाएको छ । यस अर्थमा, जेलभित्र रहेर मतदातालाई रिझाउन सफल इमरान ‘म्यान अफ द इलेक्सन’ भएका छन् ।

पूर्वप्रधानमन्त्री सरिफ नेतृत्वको पीएमएल–एनको पक्षमा आएको नतिजा पनि केही अनपेक्षित ठानिएको छ । सरिफको दलले बुहमा ल्याउन नसकेपनि स–साना दलसँगको सहकार्यमा सरकार बनाउन सक्ने आंकलन गरिएको थियो । तर त्यसविपरित पीएमएल–एनले सरकार गठनका लागि पीपीपी वा पीटीआईसँग सहकार्य गर्नुपर्ने भएको छ ।

पाकिस्तानको आन्तरिक राजनीतिमा महत्वपूर्ण र निर्णायक भूमिका हुने ठानिएको शक्तिशाली सेना सरिफको पक्षमा रहेको विश्लेषकहरूले दाबी गरेका थिए । तर चुनावी नतिजा भने सोचेअनुसारको देखिएको छैन । पाकिस्तानी राजनीतिलाई निर्देशित गर्ने ठानिएको सेनासमेत असफल भएको चुनावी परिणामले देखाएको छ ।

पूर्वप्रधानमन्त्री सरिफले पनि चुनावमा आफ्नो दल विजयी भएको दाबी गरेका छन् । आफ्नो दल सबैभन्दा ठूलो बनेको भन्दै उनले सरकार गठनका लागि अन्य दललाई गठबन्धनमा सहभागी हुन आग्रह गरेका छन् ।

पीटीआईलाई चुनाव लड्न प्रतिबन्ध लगाइएका कारण पार्टीको मान्यता पाएको छैन । त्यसैले, प्राविधिक रूपमा भने पीएमएल–एल नै सबैभन्दा ठूलो राजनीतिक दल भने बनेको छ । पाकिस्तानी सञ्चारमाध्यमहरूले सरिफको पीएमएल–एन दल र अन्य केही समूहबीच गठबन्धन बनाउनेबारे छलफल चलिरहेको जनाएका छन् । देशलाई कठिन परिस्थितबाट बाहिर निकाल्न आफूले मात्र सक्ने उनको दाबी छ । उनी चौथोपटक प्रधानमन्त्री बन्ने दाउमा छन् ।

चुनावी नतिजाअनुसार तेस्रो स्थानमा रहेको पीपीपीले भने सरकार गठनका विषयमा कुनै पनि दलसँग कुराकानी नभएको बताएका छन् । पीपीपी प्रमुख जर्दारीले ‘स्वतन्त्र रुपमा निर्वाचित केहीले सम्पर्क गरेका भएपनि पीटीआई ब्लकका कसैसँग कुराकानी नभएको’ बताए । संघीयसँगै पंजाब र बलोचिस्तान प्रान्तमा पीपीपीको समर्थनबिना सरकार गठन नहुने उनको दाबी छ । यसअघि उनले पटकपटक पीएमएल–एनसँग गठबन्धन नगर्ने बताएका थिए ।

चुनावी नतिजापछि भने पाकिस्तानी सेना प्रमुख जर्नेल असिम मुनिरले देशलाई अराजकता र ध्रुवीकरणको राजनीतिबाट बाहिर निकाल्न आह्वान गरेका छन् । देशमा एउटा स्थिर नेतृत्व आवश्यक रहेको उनको भनाइ छ । ‘२५ करोड जनसंख्या भएको प्रगतिशील देशमा राजनीतिक ध्रुबीकरण सुहाउँदैन,’ उनले भनेका छन्, ‘सबै दलले एकता र राजनीतिक परिपक्वता देखाउनुपर्छ ।’

धाँधलीको आरोप–प्रत्यारोपमाझ भएको निर्वाचनको परिणाम विगतका चुनावहरूको भन्दा ढिलो आएको बताइएको छ । कतिपय विश्लेषकहरूले पाकिस्तानको पछिल्लो निर्वाचनलाई ‘हालसम्मकै कम विश्वसनीय आमचुनाव’ को संज्ञा दिएका छन् ।

(एजेन्सीहरूको सहयोगमा)

प्रकाशित : माघ २७, २०८० २०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×