चीनसँग पुनर्मिलनबाहेक ताइवानको कुनै भविष्य छैन: विदेशमन्त्री वाङ यी- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीनसँग पुनर्मिलनबाहेक ताइवानको कुनै भविष्य छैन: विदेशमन्त्री वाङ यी

एएनआई 

रोम — चिनियाँ विदेशमन्त्री वाङ यीले शुक्रबार ताइवानले चीनसँग पुनर्मिलन गर्नु बहेक अर्को कुनै विकल्प नभएको र चीनको हिस्सा हुनु बाहेक यसको कुनै अन्तर्राष्ट्रिय कानुनी हैसियत पनि नभएको बताएका छन्।

चिनियाँ विदेशमन्त्री वाङ यी । फाइल तस्बिर : रोयटर्स

संयुक्त राष्ट्र संघमा ताइवानको 'अर्थपूर्ण सहभागिता' को लागि अमेरिकाले आह्वान गरेको प्रतिक्रिया स्वरूप उनले यस्तो टिप्पणी गरेका हुन्। रोममा हुने जी-२० शिखर सम्मेलनअघि वाङ यीले अमेरिका र केही अन्य देशले एक चीन सिद्धान्तलाई रोक्न नसक्ने बताएका छन् ।

मन्त्री वाङले एक चीनको विपक्षमा रहन खोज्नेहरू २१ औं शताब्दीमा सफल हुने सम्भावना धेरै कम रहेको र यदि तिनीहरू निरन्तर त्यसै किसिमले सक्रिय रहे भने ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन् । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मंगलबार संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूलाई संयुक्त राष्ट्र प्रणालीमा ताइवानको 'अर्थपूर्ण' सहभागितालाई समर्थन गर्न आह्वान गरेपछि वाङको यस्तो टिप्पणी आएको हो।

सन् १९७१ मा चीनले आफ्नो ठाउँ लिएपछि ताइवानले संयुक्त राष्ट्रसंघ छोडेको थियो । त्यसयता ताइवानलाई महासभा र अन्य विश्व मञ्चहरूमा सहभागी हुनबाट वञ्चित गरिएको छ।

प्रकाशित : कार्तिक १३, २०७८ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्

फूल टिप्न भ्याइनभ्याई

उपयुक्त माटो र बजार पाउँदा किसानलाई सहज
ज्योति कटुवाल

सुर्खेत — करिब तीन कट्ठा जग्गा भाडामा लिएर सयपत्री खेती गर्न थालेका वीरेन्द्रनगर–३ हिलेखालीका इन्द्रजित सुनारलाई अहिले फूल टिप्न भ्याइनभ्याई छ । सुनारले लगाएको थाइल्यान्डबाट आयात हुने ‘कर्मा–५५५’ जातको सयपत्रीको फूलले उत्पादन दिन थालेको हो ।

बगैंचामा सयपत्री फूल टिप्दै सुर्खेतको वीरेन्द्रनगर–३ का इन्द्रजित सुनार । तस्बिर : ज्योति/कान्तिपुर

‘तिहार नजिकिएकाले माला र फूलको अनलाइन बुकिङ भइरहेको छ,’ उनले भने, ‘माग बढ्दै गएपछि फूल र माला पुर्‍याउन हम्मे भयो ।’

यसअघि सयपत्रीको फूल भारत र देशका अन्य सहरबाट आउने गरेकाले त्यसको आयात रोक्न फूलखेती सुरु गरेको उनले बताए । सुनारले फूलबारीमा करिब २ हजार बिरुवा लगाएका छन् । त्यसबाट झन्डै ४ हजार माला बन्ने उनको भनाइ छ । कर्मा ग्रुप अफ कम्पनीले यो जातको फूलको बीउ सुर्खेत ल्याएको हो । उनले यसअघि उक्त कम्पनीमा काम गरेकाले खेतीमा खासै समस्या नभएको बताए । अहिले सुनारसहित अन्य ७ युवालाई फूल टिप्न भ्याइनभ्याई छ । ‘हामीले सोचेभन्दा पनि बढी माग पाएका छौं,’ उनले भने, ‘अहिले माला बुन्न मात्रै दैनिक ५ जनालाई रोजगारी दिएको छु ।’ उनले बजारमा १ सय ५० रुपैयाँमा माला बिक्री गर्ने तयारी गरेको बताए ।

कृषि विषय नै पढेकाले धेरै प्राविधिक विषयमा जानकारी रहेकाले फूलखेतीमा लाग्न सहज भएको सुनाए । ‘मागका आधारमा व्यवसायलाई क्रमशः विस्तार गर्ने योजना छ,’ उनले भने, ‘उपयुक्त माटो भएकाले सुरुमै राम्रो उत्पादन दिएको छ, बजारको पनि समस्या देखिएन ।’ उनले फूलखेतीका लागि १ लाख रुपैयाँ लगानी गरेका छन् । यो तिहारमा फूल बेचेर करिब ३ लाख रुपैयाँ आम्दानी हुने उनको अनुमान छ । ‘फूललाई जति छिटो टिप्यो उति नै उत्पादन हुन्छ । यो पटक मंसिरसम्मै फूल टिप्न सकिने देखिन्छ,’ उनले भने ।

सुर्खेतमा कस्मेटिक व्यवसाय गर्दै आएकी चन्द्रा बस्नेतका अनुसार यसअघि बाहिरबाट आउने फूलको माला ४ सय रुपैयाँसम्ममा किनबेच भएको थियो । स्थानीय रूपमै उत्पादन हुन थालेपछि फूलको मूल्य घटेको उनको भनाइ छ । सुर्खेतमा भारत र अन्य ठाउँबाट वार्षिक २० देखि २५ लाखसम्मको फूल आउने गरेको सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कँडेलले बताए । ‘यहीं उत्पादन भए बजार थप बढाउन सकिन्छ,’ उनले भने ।

प्रकाशित : कार्तिक १३, २०७८ १२:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×