कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मृत्युदण्डअघि नै मुसर्रफको मृत्यु भए तीन दिन शव झुण्ड्याउनू : अदालत

एजेन्सी

इस्लामाबाद — पाकिस्तानको विशेष अदालतले पूर्वसैनिक प्रमुख तथा पूर्वराष्ट्रपति परवेज मुसर्रफमाथि सुनाएको मृत्युदण्डको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ ।

मृत्युदण्डअघि नै मुसर्रफको मृत्यु भए तीन दिन शव झुण्ड्याउनू : अदालत

१६९ पृष्ठ लामो फैसलाको पूर्णपाठमा मुसर्रफलाई ५ पटकसम्म फाँसी दिन सकिने लगायतका विषय छन् । मुसर्रफलाई तीनवटा देशद्रोहका मुद्दासहित ५ वटा मामिलामा दोषी ठहराइएको छ ।


७६ वर्षीय पूर्वसैनिक शासक मुसर्रफ अहिले दुबईमा उपचारमा छन् । यदि मृत्युदण्ड पहिले नै मृत्यु भएमा उनको शवलाई डी–चोक (डेमोक्रेसी चोक) मा ल्याएर तीन दिनसम्म झुण्ड्याउन पनि अदालतले आदेश दिएको छ ।


विशेष अदालतका तीन जना न्यायाधीशको बेन्चमा २–१ को बहुमतले मुसर्रफलाई देशद्रोह र संविधान उल्लंघनमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको हो ।


न्यायाधीश वकार सेठ र शाहिद करिम प्राप्त प्रमाणका आधारमा मुसर्रफ दोषी ठहर भएकाले मृत्युदण्ड दिनुपर्ने निर्णयमा पुगेका हुन् । न्यायाधीश नजर अकबरले भने यो निर्णयमा नोट अफ् डिसेन्ट लेखाएका थिए ।


प्रतिशोधका कारण गलत सजाय : मुसर्रफ

मुसर्रफले भने प्रतिशोधका कारण आफूलाई गलत सजाए सुनाइएको प्रतिक्रिया दिएका छन् । अस्पतालको ओछ्यानबाटै एउटा भिडियो सन्देश जारी गर्दै उनले भने, ‘मेरा विरुद्धमा नियोजित रूपमा यस्तो फैसला गर्न लगाइएको छ, यसमा प्रस्ट रूपमा व्यक्तिगत प्रतिशोध देखिन्छ ।

मुसर्रफले विशेष अदालतको फैसलाविरुद्ध पुनरावेदनको प्रक्रिया थाल्ने बताएका छन् । त्यसका लागि आफ्नो कानुनी सल्लाहकारको टोलीले गृहकार्य गरिरहेको उनको भनाइ छ ।

बचाउमा सेना

पाकिस्तानका पूर्वसैन्य प्रमुख तथा पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई अदालतले मृत्युदण्डको सजाय सुनाएपछि उनको बचाउमा पाकिस्तानी सेना अघि सरेको छ ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले प्रेस विज्ञप्ति जारी गर्दै अदालतको फैसला दुःखद् रहेको र सेनालाई धक्का पुगेको बताएका छन्।

गफूरले विज्ञप्तिमा भनेका छन्, ‘पूर्वसेना प्रमुख तथा पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफले ४० वर्ष देशको सेवा गरेका छन्। जुन व्यक्तिले देशको रक्षाका लागि लड्यो, त्यो व्यक्ति कहिल्यै देशद्रोही हुन सक्दैन। यो अदालती कारबाहीमा संविधानको पनि उपेक्षा गरियो। मुसर्रफलाई अदालतमा आत्मरक्षा गर्ने मौका पनि दिइएन। बिनाठोस सुनुवाइ हतारमा फैसला सुनाइयो।'

प्रवक्ता गफूरले पाकिस्तानी सेनाले अदालतको फैसला देशको संविधानअनुसार होस् भन्ने आशा राखेको पनि बताएका छन्।

इस्लामाबादस्थित विशेष अदालतको तीन सदस्यीय इजलासले मुसर्रफलाई संविधानको अवहेलना तथा गम्भीर देशद्रोहको मुद्दामा पाकिस्तानी संविधानको धारा ६ अनुसार दोषी ठहर गरिएको सरकारी कानुन अधिकृत सलमान नदिमले बताए । मृत्युदण्डको सजाय भने गम्भीर देशद्रोह (सजाय) ऐन, १९७३ अनुसार दिइएको स्थानीय सञ्चारमाध्यले जनाएका छन् ।

सन् २००७ को नोभेम्बर ३ मा संकटकाल घोषणासँगै संविधान निलम्बन गरेपछि मुसर्रफविरुद्ध देशद्रोहको मुद्दा लगाइएको थियो । सन् २०१३ को डिसेम्बर देखि विचाराधीन मुद्दामा अदालतले मुसर्रफलाई सन् २०१४ को मार्च ३१ देखि अभियुक्त बनाएको थियो ।

मुसर्रफसँग विकल्प के छ ?

पाकिस्तानका महान्यायाधिवक्ता मन्सुर खानले फैसलाविरुद्ध मुसर्रफले अपिल गरेमा सरकारले अदालतमा उनकाे बचाउ गर्ने बताएका छन् ।


कानुनी जानकारहरुका अनुसार अदालतले आफ्नाे अन्तिम फैसला सुनाए पनि संसदले 'एक्ट अफ् पार्लियामेन्ट' काे प्रावधानअनुसार सजायमा राेक लगाउन सक्नेछ । विशेष अदालतको फैसलाविरुद्ध सर्वाेच्च अदालतमा अपिल गर्नुभन्दा ३० दिन पहिले नै अभियुक्तले आत्मसमर्पण गर्नु पर्ने छ ।

प्रकाशित : पुस ४, २०७६ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?