३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

आगलागी चपेटामा परेको अस्ट्रेलियामा वर्षाले केही राहत

एजेन्सी

सिड्नी — शुक्रबारदेखि वर्षा भएपछि आगलागी र खडेरीसँग जुधिरहेकाे पूर्वी अस्ट्रेलियामा केही राहत महसुस गरिएकाे छ । वर्षाले केही ठाउँको आगो निभाए पनि धेरै ठाउँको आगो भने ननिभेको एएफपीले जनाएको छ ।

आगलागी चपेटामा परेको अस्ट्रेलियामा वर्षाले केही राहत

सेप्टेम्बरदेखि फैलिएको भीषण आगलागीमा अहिलेसम्म २९ जनाको मृत्यु भएको छ । त्यस्तै आगलागीका कारण लाखौँ वन्यजन्तु र पशुपन्छी मारिएका छन् । वन्यजन्तु र सुन्दर समुद्री किनारका लागि प्रसिद्ध अस्ट्रेलियाको झण्डै एक लाख तीन हजार वर्ग किलोमिटर भूभागमा आगो फैलिएको छ । २५ सय घर आगोमा जलेर ध्वस्त भएका छन् ।

आगलागीले सबैभन्दा बढी प्रभावित भिक्टोरिया, न्यु साउथ वेल्स तथा क्वीन्सल्याण्ड राज्यमा केही राहत दिए पनि पूर्ण रुपमा आगो भने ननिभेको अधिकारीहरुले जनाएका छन् । ‘हामी निरन्तर वर्षा भइरहोस् भनेर प्राथना गरिरहेका छौँ,’ न्यु साउथ वेल्स अग्नि नियन्त्रण कार्यालयले शुक्रबार ट्विटरमा लेखेको छ ।

त्यहाँकाे मौसम विभागका अनुसार केही दिनसम्म न्यु साउथ वेल्स र क्वीन्सल्याण्डमा भीषण हावाहुरी र पानी पर्ने सम्भावना रहेको छ । वर्षाले अग्नि नियन्त्रण कर्मचारी र किसानलाई राहत दिए पनि केही ठाउँमा बाढी र रुखहरु पनि ढलेका छन् ।

वर्षाले डढेलोका कारण धुमिल भएको अस्ट्रेलियाको आकाश सफा भएको छ । तर पनि शुक्रबार सिड्‌नी, क्यानबेरा र मेलबर्न विश्वका सबैभन्दा बढी प्रदूषित एक सय शहरमा परेका थिए ।

आगलागीका कारण अस्ट्रेलियाली अर्थतन्त्रलाई ठूलो धक्का पुगेको छ । अस्ट्रेलियाली अर्थतन्त्रको मुख्य आधार मानिने पर्यटन क्षेत्रमा आगलागीका कारण झण्डै एक अर्ब अमेरिकी डलर घाटा भएको बताइएको छ ।

प्रकाशित : माघ ३, २०७६ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?