कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दिल्लीको आगलागीमा ४३ को मृत्यु

सुरेशराज न्यौपाने

(नयाँदिल्ली) — भारतको राजधानी नयाँदिल्लीको रानी झाँसी रोडमा रहेको पुरानो अनाज मण्डी बजार । त्यसकै साघुँरो गल्लीमा ठडिएका चार देखि छतले घर । प्रत्येक तल्लामा आठ/नौ वटा कोठा । तिनै कोठामा झोला, पर्स, खैलानाका हजारौं ससाना कारकाखाना ।

दिल्लीको आगलागीमा ४३ को मृत्यु

घरमा तलमाथि गर्ने एउटै साँघुरो भर्‍याङ । कोठाहरू पुरै झ्यालखानाजस्ता । बाटोपट्टिका कोठामा मात्र केही झ्याल ।

कारखानामा काम गर्ने बालबालिका, महिला र पुरुष मजदुरहरू प्रायः जसो बिहार र उत्तरप्रदेशका । तिनीहरूको काम गर्ने र सुत्ने थलो पनि त्यही । न कुनै आपतकालीन द्वार, न सुरक्षा प्रबन्ध । जीर्ण घर भएकाले बिजुलीका तार पनि निकै पुराना । आआफ्नो गाउँघरमा रोजगारीको अवसर नहुँदा विहार र उत्तरप्रदेशबाट हुलका हुल बाँधेर आएका मजुदर दैनिक छाक टार्न दिल्लीका यस्ता असुरक्षित कारखानामा काम गर्नुपर्ने बाध्यता छ ।


आखिर त्यही कठोर र विषद वातावरण एउटा त्रासदीपूर्ण घटनाको कारण बन्यो । सधैंजसो शनिबार राति मध्यरातसम्म जागेको थियो यो बजार । सामान्यतः आइतबार काम नहुने भएकाले शनिबार करिब दुई बजेसम्म कारखानाको काम हुने गर्छ ।

अघिल्लो दिन सामान्य अवस्थामा विश्राम लिएको यो बजारमा भोलिपल्ट भयानाक अनिष्ट हुन्छ भनेर कसैले पनि सोचेको थिएन । आइतबार बिहान करिब साढे पाँच बजारको एक घरबाट एकाएक धूवाँको मुस्लो निस्केसँगै कोलाहल मच्चिन थाल्यो । गल्लीभित्र रहेको एक चारतले घरको दोस्रो तल्लामा रहेको कागज र खेलौना कारखानामा विद्युत् तार सट भएर आगो सल्केको थियो ।


कागजलगायत खेलौना बनाउन प्रयोग हुने अन्य कच्चापदार्थ राखिएकाले पनि आगो तत्काल फैलियो । आगो लागेसँगै निद्राबाट बिउँझिएका मजुदरबीच भागाभाग मच्चियो तर दोस्रो तलाको बाहिर निस्कने ढोकामा ताला लगाएकाले उनीहरूमध्ये कपितयले भने ज्यान जोगाउन सकेनन् ।

आगालागीपछि निसासिएर ३५ जनाको घटनास्थलमै र सात जनाको उपचार क्रममा मृत्यु भयो । १५ जना घाइते भए । तत्कालै घटनास्थल पुगेका विपद व्यवस्थापन सुरक्षादल (एनडीआरएफ) का सदस्यले करिब ५० जनालाई सुरक्षित उद्धार गरेको थियो । आगलागी नियन्त्रणका लागि करिब ३ दर्जन दमकल खटाइएको थियो ।

घटनाप्रति भारतीय राष्ट्रपति रामनाथ कोविन्ददेखि प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय राष्ट्रिय कंग्रेस अध्यक्ष सोनिया गान्धीलगायतले दुःख व्यक्त गरेका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि ट्वीटमार्फत् घटनाप्रति दुःख व्यक्त गरेका छन् । यसैबीच, आइतबार बिहानै घटनास्थल पुगेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले प्रत्येक मृतकका परिवारलाई जनही रु दस लाख दिने घोषणासमेत गरेका छन् साथै प्रधानमन्त्री मोदीले पनि तत्कालका लागि राहतस्वरूप मृतकका परिवारलाई दुई लाख र घाइतेहरूलाई पचास हजार दिने घोषणा गरेका छन् ।

घटनाको छानबिनका लागि क्राइम ब्रान्चलाई जिम्मा दिइएको छ । प्रहरीले आइतबारै भवनका मालिक रेहान र कारखानाका म्यानेजर फुर्कानलाई पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धानमा आगलागी भएको घरमा सुरक्षाका कुनै पनि मापदण्ड पूरा गरिएको थिएन ।

यसघटनाले फेरि एक पटक दिल्लीको व्यापारिक क्षेत्रको सुरक्षालाई लिएर प्रश्न उठेको छ । गत वर्ष माघमा नयाँदिल्लीकै चिरपरिचित बजार करोलबागको होटल अर्पित प्यालेसमा मंगलबार बिहान आगलागी हुँदा १८ जनाको मृत्यु भएको थियो ।

होटलको चौथो तल्लाको एउटा कोठाको एसीबाट आगो सल्केको थियो । ज्यान गुमाउनेमध्ये दुई जनाबाहेक सबैको निसासिएर मृत्यु भएको थियो । आगलागी हुँदा ६५ वटा कोठाको उक्त होटलमा करिब डेढ सय जना थिए । उक्त घटनामा चितवनबाट छोरा सौम्यको उपचारका लागि दिल्ली आएर त्यही होटलमा बसेका उमंग श्रेष्ठको परिवार मुस्किलले बाँचेको थियो ।

सस्ता र मध्यमखालका होटल रहेको करोलवाग क्षेत्र नेपालीका लागि निकै परिचित मानिन्छ । उपचार, व्यापार, घुमघामलगायत विभिन्न प्रयोजनका लागि दिल्ली आउने नेपाली करोलवागका होटलमा बस्ने गरेका छन् ।


प्रकाशित : मंसिर २३, २०७६ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?