१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

हैदराबाद बलात्कार प्रकरण : चार आरोपित प्रहरीबाट मारिए

तेलंगना प्रहरीले ‘फेक इन्काउन्टर’ गरेको विपक्षी दल, अधिकारकर्मी र पत्रकारको दाबी
सुरेशराज न्यौपाने

(नयाँदिल्ली) — भारतको हैदराबादमा गतसाता भएको बलात्कार र हत्याका चार जना आरोपितलाई प्रहरीले ‘इन्काउन्टर’ गरेको छ । 

हैदराबाद बलात्कार प्रकरण : चार आरोपित प्रहरीबाट मारिए

तेलंगना प्रहरीको नियन्त्रणमा रहेका आरोपितलाई शुक्रबार बिहान ३ बजे ‘इन्काउन्टर’ गरिएको हो । उनीहरूमाथि २७ वर्षीय पशु चिकित्सकको बलात्कारपछि हत्या गरेको आरोप लगाइएको थियो ।


तेलंगना प्रहरीमाथि आरोपित चारै जनालाई ‘फेक इन्काउन्टर’ गरेको आरोपसमेत लागेको छ । त्यसको जवाफमा प्रहरीले घटनाको सजीव चित्रण लिन आरोपितलाई घटनास्थलमा लगिएको तर त्यहाँ पुगेपछि उनीहरूले प्रहरीको हतियार खोस्न खोजेको तथा नियन्त्रणबाट फुत्केपछि आत्मरक्षाका लागि गोली चलाएको दाबी गरेको छ ।


भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरीले आरोपितलाई हैदराबाद छेउको छत्तापल्लीमा पुर्‍याएको थियो । त्यहाँ पुर्‍याएपछि चारै जनामाथि गोली प्रहार गरेको आंशका गरिएको छ । प्रहरीले त्यस्तो दाबी गरे पनि अदालती प्रक्रिया जारी रहेका बेला बिहीबार राति एकाएक प्रहरी एनकाउन्टरमा चारै जना मारिनुले भारतीय लोकतन्त्र र न्याय प्रणालीको खिल्ली उडाएको भन्दै विरोधसमेत भएको छ ।


प्रहरीको प्रारम्भिक अनुसन्धानमा घटना भएको राति आरोपितहरूले सडक छेउमा रोकिराखेको महिलाको स्कुटरको टायर पन्चर गरेका थिए । त्यसपछि उनीहरूले महिलालाई नजिकैको पर झाडीमा लगेर बलात्कार गरेका थिए । प्रहरी अनुसन्धानअनुसार महिलालाई बलात्कारपछि मट्टितेल खन्याएर आगो लगाइएको थियो ।


घटनाको भोलिपल्ट दूध बेच्ने एकजना स्थानीयले महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव जलेको अवस्थामा भेटिएपछि हैदराबादमा प्रदर्शन चर्केको थियो । प्रदर्शनमा संलग्नहरूले आरोपितलाई तत्काल पक्रेर कडाभन्दा कडा सजाय दिनुपर्ने माग गर्दै आएका थिए ।


त्यसपछि तेलंगनाका मुख्यमन्त्री केसी रावले फास्ट ट्र्याक गठन गर्दै तत्काल जाँचको आदेश दिएका थिए । स्थानीय अदालतले आरोपित चारै जनालाई दुई साताका लागि न्यायिक हिरासतमा राख्न आदेश दिएको थियो ।

इन्काउन्टर घटनापछि भारतमा प्रहरीको पक्षविपक्षमा बहस चर्किएको छ । विपक्षी दलहरू, अधिकारकर्मी तथा पत्रकारहरूले घटनाले विधिको शासनको खिल्ली उडाएको भन्दै विरोध गरेका छन् भने केही राजनीतिक कर्मी तथा विश्लेषकहरूले त्यसको समर्थन गर्दै तेलंगना प्रहरीको प्रशंसा गरेका छन् ।


भारतको राष्ट्रिय मानवअधिकार आयोगले घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ । त्यसैगरी, भारतको राष्ट्रिय महिला आयोगकी अध्यक्ष रेखा शर्माले घटनाले संविधान र कानुनी प्रक्रियामाथि प्रश्न उठाएको बताएकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार राजनीतिकर्मी, अधिकारकर्मी, पत्रकार तथा विपक्षी दललेसमेत घटनाप्रति विरोध जनाएका छन् ।


विपक्षी भारतीय राष्ट्रिय कंग्रेसका वरिष्ठ नेता तथा पूर्वअर्थमन्त्री पी चिदम्बरमले घटनाप्रति चासो व्यक्त गर्दै छानबिनको माग गरेका छन् । त्यसैगरी, वरिष्ठ पत्रकार तथा विश्लेषक शेखर गुप्ताले घटनाप्रति आक्रोश जनाउँदै हैदराबाद घटनाप्रति दंग हुनेहरूले आईएसले टाउको काटेको, तालिवान र माओवादीले आफैं मृत्युदण्डको सजाय दिएका घटनाप्रति गुनासो गर्न नमिल्ने भनेका छन् ।


त्यसैगरी, महिला अधिकारकर्मी तथा लेखिका सोनम मित्तलले आफू स्वयं बलात्कार पीडित भए पनि पछिल्लो घटनालाई समर्थन गर्न नसकिने जनाएकी छन् । ‘म आफैं बलात्कारपीडित तर लैंगिक न्यायका नाममा दिइएको यस किसिमको सजायको भर्त्सना गर्छु,’ उनले ट्वीटमा लेखेकी छन् ।


कतिपय सत्तापक्षीय सांसदले पनि घटनाको विरोध गरेका छन् । सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) नेतृ मेनका गान्धीले घटनाप्रति आपत्ति जनाउँदै तेलंगना प्रहरीको आलोचना गरेकी छन् । ‘जे भयो देशका लागि अत्यन्त भयानक भयो । कसैलाई पनि मार्न पाइँदैन । कसैले पनि कानुन हातमा लिन मिल्दैन । आरोपितलाई अदालतले नै फाँसी दिन सक्थ्यो,’ पूर्व केन्द्रीय महिला तथा बालविकास मन्त्रीसमेत रहेकी गान्धीले भनेकी छन् ।




सत्तारुढ पक्षका र अन्य केही राजनीतिकर्मी भने घटनाको समर्थनमा उभिएका छन् । समाजवादी पार्टीका प्रमुख अखिलेश यादवले हैदराबाद घटनाप्रति संकेत गर्दै पीडितले न्याय पाएको ट्वीट गरेका छन् । त्यसैगरी, पूर्वमन्त्री राज्यवर्द्धन राठौरले पनि राजनीतिक नेतृत्वले पनि यही शैलीमा काम गर्नुपर्ने भन्दै घटनालाई लिएर प्रहरीको प्रशंसा गरेका छन् ।

सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) की नेतृ मिनाक्षी लेखीले शुक्रबार भारतको तल्लो सदन लोकसभामा प्रहरीलाई हतियार खेलौनाका रूपमा राख्न नदिइएको बताउँदै घटनाको बचाउ गरेकी छन् ।

प्रकाशित : मंसिर २०, २०७६ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?