कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मजदुर आन्दोलनले फ्रान्सको जनजीवन अस्तव्यस्त

ददि सापकोटा

फ्रान्स — फ्रान्स सरकारले घोषणा गरेको वृद्ध भत्ता कटौती र निवृत्तिभरणमा असन्तुलित वितरणका विरुद्ध युनियनहरुले आव्हान गरेको आमहडतालका कारण आज फ्रान्सको जनजीवन अस्तव्यस्त बनेको छ । आमहडतालका कारण रेल, मेट्रो, फेरी, फ्रान्सबाट अन्य मुलुक जोड्ने लामा दूरीका रेल सेवासमेत प्रभावित बनेका छन् ।

मजदुर आन्दोलनले फ्रान्सको जनजीवन अस्तव्यस्त

फ्रान्स ओर्लिने र अन्य देश जाने सयौं उडानहरु रद्द गरिँदा पर्यटकहरु सबैभन्दा बढी मारमा परेका छन् । यो आन्दोलनमा शिक्षक, हुलाक सेवाका कर्मचारी, रेलवे, प्रहरी, स्वास्थ्य, विद्युत प्राधीकरणलगायत अधिकांश मजदुर युनियनहरुको सहभागिता छ ।

प्रदर्शनकारीहरुले बिहीबार बिहानै रुवाँ सहरमा ग्रिनेड हानेर सडक अवरुद्ध पारेका छन् । उत्तरी फ्रान्सको बुलोन्य भन्ने ठाउँमा प्रदर्शनकारीहरुले सडक अवरुद्ध पारेर सवारी साधनहरु गुड्न दिएका छैनन् । ओर्लेअँ सहरनजिक इन्धन बोकिरहेका ट्यांकीहरुलाई रोकेर जिलेजोनहरुले इन्धन ओसारपसारा अवरुद्ध पारेका छन् । बिहीबार बिहानै करिब दुईसय पेट्रोल पम्पहरुमा तेल रित्तिएको र चार सय पेट्रोल पम्पमा स्टक बाँकी नरहेको इन्धन आपूर्तीकर्ताहरुको भनाइ छ । सुरक्षाकै कारण देखाउँदै फ्रान्सकै मूख्य पर्यटकीय आकर्षण आइफल टावरसमेत बन्द गरिएको छ ।

यही मौका पारेर जिलेजोन र ब्ल्याक ब्लक भनिने समूहको समेत सहभागिता देखिएपछि सरकारले सुरक्षा व्यवस्थालाई अझ कडा पारेको छ । सम्भावित आक्रमणलाई ध्यानमा राखेर विभिन्न ठाउँमा सेना परिचालनसमेत गरिएको छ । पेरिस शहरमा मात्रै छ हजार सुरक्षाकर्मी थप गरिएको छ । सुरक्षामा खटिएका प्रहरीहरुलाई आवश्यक परे अस्रु ग्याँस हान्न सक्ने अधिकार दिइएको छ ।

पहेंला कोटधारी (जिले जोन) हरुको समूहको राजनितिक पार्टी नभएपनि फ्रान्समा गत एक वर्षदेखि सरकारविरुद्ध आन्दोलन गर्दै आएका छन् । यहि समूहसँगै ब्ल्याक ब्लक भनिने युरोपभरी नै सक्रिय साम्राज्यवाद विरोधी उग्र समूहको समेत संलग्नता देखिएपछि सरकार बढी सशंकित बनेको छ । यिनीहरुको उद्देश्य शान्तिपूर्ण आन्दोलनमा घुसेर विस्फोट गर्ने, सुरक्षाकरीमाथि आक्रमण गर्ने र तिनलाई आक्रोशित पारेर आन्दोलन चर्काउने हो । कालो ड्रेस र कालै मुकुन्डोमा उपस्थित यो ब्ल्याक बक समूहले प्रदर्शनीकारीको पहिलो लहरमा बसेर सुरक्षा निकायको प्रतिवाद गर्ने बताइसकेका छन् ।

आमहडताल आव्हान गरेका मजदुरहरुले आज बिहानै तीन बजेदेखि राजधानी पेरिस, बोर्दो, मासेइ, लिल, निस, तुलुज लगायतका मुख्य सहरहरुमा सरकारविरुद्ध प्रदर्शनी गरेका छन् । मेट्रो, रेल, बस र अन्य यातायात सुविधामा आज ९० प्रतिशतसम्म कटौती गर्दा सबैभन्दा ठूलो सास्ति पर्यटकहरुले व्यहोर्नु परेको छ ।

फाट्टफुट्ट रुपमा यातायात चलेपनि तिनले सर्वसाधारण र पर्यटकको खाँचो धान्न सकेको छैनन् । जिलेजोन र ब्ल्याक बक समूहसमेत सहभागी हुने भन्ने खबरले गर्दा सर्वसाधारणहरुको आवतजावत कम भएको छ ।

प्रदर्शनकारीहरुले सरकारले अगाडि सारेको वृद्धभत्ता र निवृतभरण कटौतीको प्रस्ताव फिर्ता नलिएसम्म आन्दोलन जारी राखिने बताएका छन् । उता सरकारपनि यो प्रस्तावबाट पछि नहट्ने देखिन्छ । फ्रान्सको यातायात मन्त्री एलिजाबेथ बर्नले आज बिहानै सरकार यो प्रस्तावबाट पछि नहट्ने बताएकी छन् । सरकारको यो भनाइले अन्दोलनकारीहरु झन क्रुद्द बनेका छन् । मन्त्रीको यो भनाइपछि प्रदर्शनकारीहरुले आन्दोलन नयाँ वर्षसम्म लम्ब्याउने चेतावनी दिएका छन् । प्रतिपक्षी दलका नेताहरुले पनि आन्दोलनकारीहरुलाई समर्थन गर्दै सरकारले सरकारले आफ्नो प्रस्ताव फिर्ता लिनुपर्ने माग गरेका छन् । पाख्यी द गोस पार्टीका नेता तथा सांसद जँ लुक मेलसोँले सरकारको विरोध र प्रदर्शनकारीको समर्थन गर्दै आन्दोलन जारी राख्नुपर्ने बताएका छन् ।


प्रकाशित : मंसिर १९, २०७६ १९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?