कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिगात्से–केरुङ रेलमार्ग : सम्भाव्यता अध्ययन ‘छिट्टै’

लक्ष्मी लम्साल

(बेइजिङ) — चीनले तिब्बतको सिगात्सेदेखि नेपालको सिमानाका केरुङसम्मको रेलमार्गको सम्भाव्यता अध्ययन छिट्टै थाल्ने भएको छ । सम्भाव्यता अध्ययन कहिले सुरु गर्ने भन्ने नखुलाइए पनि यो अध्ययनलाई केरुङ– काठमाडौं रेलमार्गका लागि पूर्वतयारी ठानिएको छ ।

सिगात्से–केरुङ रेलमार्ग : सम्भाव्यता अध्ययन ‘छिट्टै’

तिब्बत स्वशासित क्षेत्रका पार्टी कमिटी सचिव वु यिङच्येसहितको टोलीले शुक्रबार तिब्बतमा सम्पन्न सम्बन्धित विभागहरूसँगको तयारी बैठकपछि सम्भाव्यता अध्ययन थाल्ने निष्कर्ष निकालेको हो । चिनियाँ राष्ट्रपति सी चिनफिङ र नेपाली नेताबीच भएको सहमति कार्यान्वयनका लागि तीन दिनसम्म चलेको बैठकमा चीनको परराष्ट्र मन्त्रालय, राष्ट्रिय विकास तथा सुधार आयोग, चिनियाँ राज्य रेलवे प्रशासन, चिनियाँ राष्ट्रिय रेलवे ग्रुप कम्पनी लिमिटेड र सम्बन्धित विभागहरू सहभागी थिए । बैठकमा चीनको राष्ट्रिय ग्रिड कर्पोरेसन, तिब्बतबाट साइनो–नेपाल रेलमार्ग सञ्चालनसम्बन्धी स्थलगत अध्ययन गर्न गएको टोलीलगायत पनि थिए । बैठकमा तिब्बतका पार्टी सचिव वुले सिगात्सेदेखि केरुङसम्मको सम्भाव्यता अध्ययन नेपाल–चीन रेलमार्ग निर्माणका लागि महत्त्वपूर्ण हुने बताएका थिए ।


चिनियाँ सञ्चारमाध्यमहरूले जनाएअनुसार सन् २०१७ देखि राष्ट्रिय विकास तथा सुधार आयोग, चिनियाँ राज्य रेलवे प्रशासन, राष्ट्रिय रेलवे ग्रुप, सम्बन्धित विभागहरूले सक्रियताका साथ चीन–नेपाल रेलमार्गको प्रारम्भिक अनुसन्धान अघि बढाउँदै भौगर्भिक र इन्जिनियरिङ प्रविधि अध्ययनद्वारा थुप्रै विशेष अध्ययन प्रतिवेदन तयार पारेको बैठकले मूल्यांकन गरेको थियो । त्यस्तै सोही अवधिमा नेपाली र चिनियाँ रेलवे व्यवस्थापन सहकार्यका लागि जनशक्तिलाई तालिम पनि दिइएको जनाइएको छ । सन् २०१८ डिसेम्बरमा नेपाल र चिनियाँ रेलवे पूर्वसम्भाव्यता अध्ययन संयुक्त रूपमा सम्पन्न भएको थियो ।


राष्ट्रपति सीले गत असोज अन्तिम साता नेपाल भ्रमण गरेका बेला जारी संयुक्त वक्तव्यमा सीमापार रेलवे परियोजनाअन्तर्गत केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनबारे सम्झौता भएको चीनको राष्ट्रिय विकास तथा सुधार आयोगको वेबसाइटले उल्लेख गरेको छ ।


चीन–नेपाल रेलमार्ग विकासलाई चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) कार्यान्वयन गर्दै दुवै मुलुकबीचको आर्थिक तथा व्यापारिक आदानप्रदानलाई सबल पार्ने महत्त्वपूर्ण कडीका रूपमा लिएको जनाएको छ । संसारमा अहिलेसम्मकै सबैभन्दा जटिल रेलमार्ग निर्माणका रूपमा सिगात्से–केरुङ करिब पाँच सय ४० किलोमिटर र केरुङ–काठमाडौं ७२ किलोमिटरको दूरीलाई लिइएको छ ।

प्रकाशित : मंसिर ८, २०७६ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?