श्रीलंकामा राष्ट्रपतीय चुनावः राजापाक्ष–प्रेमदासा टक्कर

एजेन्सी

कोलम्बो — श्रीलंकामा सयौं मानिसको मृत्यु हुने गरी भएको आतंकवादी हमलाको ७ महिनापछि नयाँ राष्ट्रपति चयनका लागि चुनाव भएको छ । श्रीलंकाको दशकौं लामो गृहयुद्ध सन् २००९ मा अन्त्य भएपछिको यो तेस्रो निर्वाचन हो । शनिबार सम्पन्न चुनावमा राष्ट्रपतिका प्रत्याशीका रूपमा ३५ उम्मेदवारले प्रतिस्पर्धा गरेका छन् ।

सबै उम्मेदवारको नाम समेट्नुपरेकाले मतपत्र दुईपटक पट्याउनुपर्ने रहेको थियो । वर्तमान राष्ट्रपति मैत्रीपाला सिरिसेनाले चने चुनावी प्रतिस्पर्धामा भाग लिएका छैनन् । इशाईहरूको चाड ‘इस्टर’ का बेला श्रीलंकामा भएको आक्रमणमा कम्तीमा २५० जनाभन्दा बढीको ज्यान गएको थियो । घटनापछि निकै आलोचित बनेका राष्ट्रपति सिरिसेनाप्रति मानिस क्रुद्ध भएका थिए । यो चुनावमा उम्मेदवारी नदिनुमा उक्त कारण प्रमुख ठानिएको छ ।
श्रीलंकाका गिर्जाघर र होटलमा इस्लामिक स्टेट (आईएस) समूहले गराएका शृंखलाबद्ध विस्फोटमा कम्तीमा २५३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका थिए ।

घटनामा आफ्ना गुप्तचर निकाय कमजोर सावित भएका सरकारले स्वीकार गरेको थियो । भारतका गुप्तचर निकायबाट हमलाका योजनाबारे सूचना आएका भए पनि श्रीलंकाली अधिकारीले गम्भीर रूपमा नलिएको रक्षामन्त्रीले बताएका थिए ।श्रीलंकामा हाल राष्ट्रिय सुरक्षाको मुद्दा सबैभन्दा बढी चर्चामाछ । त्यसका साथै अल्पसंख्यक समुदायका मुद्दा र बेरोजगारीका विषयमा समेत मतदाताले उत्तिकै चासो दिएका छन् ।

एक चरणमा हुने निर्वाचनमा मतदाताले आफ्नो प्राथमिकताअनुसार बढीमा तीन जनालाई भोट हाल्न पाउँछन् । तर, कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएको खण्डमा भने शीर्ष स्थानका दुई उम्मेदवारमध्येबाट मतदाताले दोस्रो प्राथमिकतामा हालेको मतको आधारमा विजेता छानिन्छ । कुनै एक उम्मेदवारले ५० प्रतिशत मत ल्याएको खण्डमा चुनावी नतिजा आइतबार आउने बताइएको छ ।

बलियो को ?
चुनावी प्रतिस्पर्धामा दुई जना उम्मेदवारबीच कडा टक्कर रहेको जनाइएको छ । तीमध्ये एक गोटाभया राजापाक्षमाथि आफ्ना दाइको शासनकालमा रक्षामन्त्री हुँदा मानव अधिकार हनन् गरेको आरोप छ ।महिन्दा राजापाक्षको राष्ट्रपतिकालमा एक दशक रक्षामन्त्री बनेका गोटाभयामाथि हजारौं मानिस बेपत्ता पारेको आरोप लाग्ने गरेको छ ।

तर, गृहयुद्ध अन्त्य गर्नमा आफ्नो योगदान रहेको उनको दाबी छ । इस्टर हमलापछि भने उनको आत्मबल उच्च रहेको बताइन्छ । सुरक्षा मामिलामा कडा अडान राख्दै आएका गोटाभयाले सिंहाली बौद्ध समुदायको समर्थन जुटाएका छन् ।राजापाक्षले श्रीलंकालाई सबैभन्दा बढी आर्थिक सहयोग गर्ने चीनसँग सम्बन्ध सुधार गर्ने कुरासमेत प्रमुखताका साथ उठाएका छन् । तर, कतिपयले चीनसँगकोऋण बढिरहेकाले उनको आलोचना गरेका छन् ।

त्यसैगरी, चुनावी प्रतिस्पर्धामा अगाडि देखिएका सजिथ प्रेमदासाले चुनावमा आफू विजयी भए तमिल टाइगर्सलाई पराजित गर्ने सेनाप्रमुख शरथ फोन्सेकालाई राष्ट्रिय सुरक्षा प्रमुख बनाउने वाचा मतदातासँग गरेका छन् ।त्यसका साथै प्रेमदासाले गरिबी निवारण र गुणस्तरीय आवास योजना अघि सारेका छन् । राजापाक्षको विपरीत प्रेमादसाले भारत र अमेरिकासँग थप सम्बन्ध विस्तार गरिनुपर्ने बताउँदै आएका छन् । उनी सन् १९९३ मा तमिल टाइगर्सबाट मारिएका तत्कालीन राष्ट्रपति रनासिंघे प्रेमादासाका
छोरा हुन् ।
किन उठेनन् सिरिसेना ?
चुनावमा वर्तमान राष्ट्रपति मैथ्रीपाला सिरिसेनाले सन् २०१५ मा भएको चुनावमा महिन्दा राजापाक्षलाई अप्रत्याशित रूपमा हराएका थिए । तर, उनले कुनै खास कारण नदेखाई वर्तमान चुनावमा उम्मेदवारी दिएनन् । श्रीलंकालीमाझ उनको लोकप्रियता क्रमशः घटिरहेको छ । इस्टर घटनामा गुप्तचर संयन्त्रका सूचना बेवास्ता गरेका कारण उनी अलोकप्रिय भएका जनाइएको छ । त्यसका साथै उनले प्रधानमन्त्रीलाई पदबाट हटाएपछि श्रीलंकामा संवैधानिक संकट उत्पन्न हुनुका साथै सत्ता संर्घष चर्केको थियो ।

प्रकाशित : मंसिर १, २०७६ ०९:२१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

चिलीमा रोकियो प्रदर्शन

संविधानबारे जनमतसंग्रह गरिने
एजेन्सी

सान्टिआगो — दक्षिण अमेरिकी राष्ट्र चिलीमा संविधानबारे जनमतसंग्रह गरिने सहमतिपछि प्रदर्शन रोकिएको छ । चिलीका जनताले नयाँ संविधान निर्माण तथा सामाजिक–राजनीतिक सुधारको माग गर्दै करिब महिनादेखि दिनहुँजसो आन्दोलन गर्दै आइरहेका छन् । 

प्रदर्शनकारीको माग सम्बोधन गर्दै सरकारले नयाँ संविधान लेखनका लागि जनमतसंग्रह गर्ने निर्णय गरेको जनाएको हो । आन्दोलनकारी र सरकारबीच भएका वार्तामा वर्तमान संविधान विस्थापित गर्न जनमत संग्रह गर्ने विषयमा सहमति भएको हो । घन्टौं लामो छलफलपछि दुवै पक्षबीच सन् २०२० को अप्रिलमा जनमतसंग्रह गर्ने सहमति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

संविधान तथा सरकारले शिक्षा, स्वास्थ्य, रोजगारीलगायत नागरिकका आधारभूत अधिकारहरूको व्यवस्था नगरिएको भन्दै लाखौं नागरिक प्रदर्शनमा उत्रेका थिए । सुरुमा दमनको नीति अख्तियार गरेको सरकार प्रदर्शन चर्कंदै गएपछि पछि हटेको हो । चिलीको वर्तमान संविधान सन् १९८० मा जारी भएको हो । चिलीका पूर्व शासक अगस्तो पिनोचेटले जारी गरेको संविधान लोकतान्त्रिक नरहेको प्रदर्शनकारीको दाबी रहेको थियो । पछिल्ला प्रदर्शनमा तानाशाही शासकले जारी गरेको संविधानलाई लोकतान्त्रिक संविधानले विस्थापित गरिनुपर्ने माग गर्दै आएका थिए ।

चिलीका गृहमन्त्री गोन्जालो बुमलले पछिल्लो सहमति ऐतिहासिक भएको बताएका छन् । उनले सहमतिबमोजिम चिलीमा नयाँ जनमतसंग्रह हुने र वर्तमान संविधानलाई निरन्तरता दिने वा नयाँ बनाउनेबारे निर्णय हुने बताए ।

प्रकाशित : मंसिर १, २०७६ ०९:१८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×