कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लगातारका प्रदर्शनपछि हङकङमा आर्थिक मन्दी

(एजेन्सी)

हङकङ — पछिल्ला महिनाहरूमा लगातार गरिएका सरकारविरोधी प्रदर्शनका कारण हङकङमा एक दशकयता पहिलोपटक आर्थिक मन्दी छाएको छ । हङकङले गत जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा विगतको तुलनामा देशको अर्थतन्त्र ३.२ प्रतिशतले ओरालो लागेको जनाएको छ ।

लगातारका प्रदर्शनपछि हङकङमा आर्थिक मन्दी

विरोध प्रदर्शन कारण हङकङको जनजीवन निकै प्रभावित भएको, पर्यटकहरुको आगमन निकै घटेको तथा व्यवसायहरू निरन्तर घाटामा गएका जनाइएको छ ।


सरकारद्वारा जारी विज्ञप्तिमा आन्तरिक समस्याका कारण उपभोग्य वस्तु उत्पादन तथा लगानीका क्षेत्र निकै प्रभावित भएका जनाइएको छ । ‘हिंसा अन्त्य गरि शान्ति स्थापना नै अर्थतन्त्र सुधारको प्रमुख शर्त हो,’ विज्ञप्तिमा भनिएको छ ।


हङकङमा लोकतन्त्रको माग गर्दै २४ सातादेखि हरेक सप्ताहन्तमा प्रदर्शन हुँदै आएको छ । पछिल्ला प्रदर्शनमा विवादास्पद विधेयक खारेज, कार्यकारी प्रमुख क्यारी लामको राजिनामा, प्रहरी दमनको स्वतन्त्र छानबिनलगायतका माग राखिंदै आएको छ ।


चीनले हङकङ मामिला आफ्नो आन्तरिक भएको बताउँदै आएको छ । सन् १९९७ मा स्वतन्त्र हुनुअघि बेलायतको उपनिवेश हङकङलाई चीनले आफ्नो ‘विशेष प्रशासकीय क्षेत्र’ बताउने गर्छ । यसअन्तर्गत मुख्य भूमि चीनको तुलनामा हङकङका जनताले उच्च स्वतन्त्रताको अभ्यास गर्दै आएका छन् ।


गत जुनमा सरकारले विवादास्पद सुपुदर्गी विधेयक पारित गराउने योजना गरेपछि त्यसको विरोधमा प्रदर्शन सुरु भएको हो । विधेयकमा हङकङमा अपराध तथा बलात्कार आरोप लागेकालाई मुख्यभूमि चीनमा सुपुर्दगी गर्ने प्रावधान राखिएको छ । स्वतन्त्रताविरोधी चिनियाँ न्याय प्रणालीले हङकङका जनता पीडित हुने प्रदर्शनकारीको दाबी छ ।


लगातारको प्रदर्शनपछि सरकारले विधेयक स्थगित गरिसकेको छ । तर प्रदर्शनकारीले विधयेकको खारेजी हुनुपर्ने माग छाडेका छैनन् । सुपुर्दगी विधेयकले हङकङको स्वतन्त्रतालाई अवमूल्यन गर्ने र राजनीतिक कार्यकर्ता निसानामा पर्ने उनीहरुको दाबी छ ।


विधेयकको विरोधमा व्यापारी, कानुन व्यवसायी, विद्यार्थी, धार्मिक समूह तथा प्रजातन्त्र पक्षधर सडकमा उत्रेका छन् । हङकङका एक १९ वर्षीय युवाले ताइवानमा गर्भवती प्रेमिकाको हत्या गरी आफ्नो देश फर्केपछि सुपुर्दगी कानुनबारे चर्चा सुरु भएको हो ।


शुक्रबार गरिएको विरोध प्रदर्शनका क्रममा एक वृद्धको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार खाजा खाने समयमा घरबाहिर निस्केका ७० वर्षीय व्यक्तिलाई ‘मास्क लगाएका प्रदर्शनकारीले प्रहार गरेको इटाको टुक्रा’ लागेको हो ।


गतसाता प्रहरी कारबाहीका क्रममा भवनबाट खसेर एकजना प्रदर्शनकारीको मृत्यु भएको थियो । सरकारले विज्ञप्तिमार्फत आफूहरू उक्त घटनाका कारण ‘दुखी भएको’ बताएको छ ।


‘मास्क लगाएका प्रदर्शनकारीले विभिन्न स्थानमा लगातार तीन दिन निकै हिंसात्मक क्रियाकलाप गर्नुका साथै सर्वासाधारणलाई समेत आक्रमण गरे,’ सरकारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा प्रदर्शनकारी तथा सरकार समर्थकले एकअर्कामाथि इट्टा प्रहार गरिरहेका देखिन्छ । त्यही क्रममा टाउकोमा इट्टा लागेपछि एकजना मानिस लडेका छन् । अधिकारीका घटनामा घाइते ती वृद्धको उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित : कार्तिक २९, २०७६ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?