१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

साझा हितलाई प्राथमिकता दिऔं : चिनियाँ राष्ट्रपति

लक्ष्मी लम्साल

(बेइजिङ) — चिनियाँ राष्ट्रपति सी चिनफिङले विश्व समुदायले मानवीयताको साझा हितलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । चीनको व्यापारिक सहर सांघाईमा सुरु एक्स्पोको उद्घाटन गर्दै उनले भने, ‘हामीले आफ्नो स्वार्थभन्दा पनि पहिले सबैको साझा हितका विषयलाई प्राथमिकता दिनुपर्छ ।’ 

साझा हितलाई प्राथमिकता दिऔं : चिनियाँ राष्ट्रपति

उद्घाटनका अवसरमा बोल्दै सीले अन्तर्राष्ट्रिय स्तरमा सौहार्दता र सहकार्यको खाँचो भएको औंल्याए । उनले भने, ‘यसका लागि हामीहरूले एक–अर्कालाई बेवास्था गर्नुभन्दा पनि हातेमालो गर्नैपर्छ ।’


विश्वका उत्पादनहरू भित्र्याउने लक्ष्यसहित चीनले गतवर्षदेखि प्रारम्भ गरेको चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोको दोस्रो संस्करण मंगलबार सुरु भएको हो । एक्स्पोमा सहभागी हुन विश्वका लब्धप्रतिष्ठित राजनीतिक प्रतिनिधि तथा व्यापार संगठनका प्रतिनिधिहरू सांघाईमा भेला भएका छन् ।


प्रदर्शनीमा जम्मा ६४ वटा मुख्य अतिथि मुलुकमध्ये एक तिहाइले पहिलो पटक भाग लिँदै छन् भने कर्पोरेट र क्षेत्रगत गरी कूल १५० वटा मुलुक सहभागी भएका छन् । चिनियाँ सञ्चारमाध्यमका अनसार ३ दर्जनभन्दा बढी विकसित देशले भाग लिएका छन् ।


अमेरिकाले आफ्ना उच्चस्तरीय प्रतिनिधि पठाउन इन्कार गरे पनि सबैभन्दा ठूलो व्यवसायीको संख्या भने अमेरिकाबाटै आएको छ । त्यस्तै जर्मनी, दक्षिण कोरिया, इटाली, फ्रान्स, अस्ट्रेलिया, स्विट्जरल्यान्ड, बेलायतलगायतका मुलुकबाट ठूलो मात्रामा सहभागिता छ ।


संयुक्त परामर्श, संयुक्त निर्माण र संयुक्त बाँडफाँड, विश्व शासन विचारधारालाई आत्मसात गर्दै मुलुकहरूबीच सहयोग तथा आदानप्रदानलाई सबल पार्ने र अन्तर्राष्ट्रिय व्यापारको खुला चौतारोको रूपमा स्थापना गर्ने हेतुले चीनले एक्स्पोलाई लिएको छ ।


पहिलो आयात एक्स्पोको तुलनामा परिमाण, गुणस्तर र सिर्जनात्मकताका हिसाबले दोस्रो अझै भव्य हुने भएकाले विश्वको ध्यानाकर्षण भएको छ । उद्घाटन सत्रलाई चिनियाँ सञ्चारमाध्यमहरूले प्राथमिकताका साथ प्रत्यक्ष प्रसारण गरेका थिए । चिनियाँ राष्ट्रपतिले सोमबार नै आयोजना स्थलको तयारीबारे स्थलगत भ्रमण गरी जानकारी लिएका थिए ।


विश्वका धेरै नामी व्यवसायका जिम्मेवार व्यक्तिहरूले चिनियाँ बजारमाथि भरोसा राख्दै यहाँ आफ्नो उत्पादन विस्तार गर्ने राम्रो अवसर भएको भन्दै दोस्रो एक्स्पोलाई सदुपयोग गर्ने रणनीति बनाएका छन् । चीनले खुला अर्थतन्त्रको वकालत गर्दै मुलुकहरूबीचको आदानप्रदानलाई अघि बढाउने सोच नै चीनको खुलापनको प्रतीक रहेको उनीहरू बताउँछन् ।


विशाल उपभोक्ता भएको मुलुक चीनमा विभिन्न देशहरूले आफ्ना उत्पादन सांघाईमा पुर्‍याएका बेला नेपालजस्ता साना मुलुकहरू भने उपस्थितिमै सीमित भएको देखिन्छ । गतवर्षजस्तै यसपालि पनि नेपालले कुनै विशेष उत्पादन देखाउन सकेको छैन ।


प्रकाशित : कार्तिक २०, २०७६ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?