कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दिल्लीमा अचाक्ली प्रदूषण : विद्यालय बन्द

सुरेशराज न्यौपाने

(नयाँदिल्ली) — केही दिनयताको प्रदूषणका कारण भारतको राजधानी दिल्ली र आसपास क्षेत्रको जनजीवन कष्टकर बनेको छ । अत्यधिक प्रदूषणलाई ध्यानमा राख्दै प्रदूषणका कारण सर्वसाधारणलाई श्वास फेर्नसमेत असहज भएको छ । दुई साताअघिसम्म पनि दिल्लीको आकाश खुला रहेकोमा विगत केही दिनयता प्रदूषणका कारण पूरै घुम्म भएको छ । जसका कारण हावामा प्रदूषण स्तर बढ्दै गएको छ ।

दिल्लीमा अचाक्ली प्रदूषण : विद्यालय बन्द

दिल्ली र आसपासका क्षेत्रमा रहेका कलकारखाना, अत्यधिक सवारीसाधनका अतिरिक्त पन्जाब र हरियाणाका खेतमा पराल जलाएका कारण प्रदूषणको यो हदसम्म बढेको अनुमान गरिएको छ । विभिन्न सरकारी तथ्यांकले दिल्ली र आसपासको क्षेत्रमा प्रदूषण यो हदसम्म बढ्नुमा करिब ३५ प्रतिशत योगदान पन्जाब र हरियाणाका खेतमा जलाइएको परालको धुवाँको योगदान रहेको देखाएको छ ।


जब कि सरकारले त्यसरी जलाउन गत वर्षनै प्रतिबन्ध लगाएको थियो । तर, किसानले त्यसको अटेरी गर्दै आएका छन् । त्यति मात्र होइन, केन्द्र सरकारले पराललगायतका कृषि उपजका अवशेषलाई जलाउनुका साटो व्यवस्थापन गर्न चाहिने आवश्यक प्रविधि तथा उपकरण खरीदमा ५० देखि ८० प्रतिशतसम्म अनुदानको व्यवस्था पनि गरेको छ । तर, किसानले त्यस्ता उपकरण महँगो पर्ने भन्दै हिउँदे बाली लगाउनुअघि पराल जलाउने गरेका छन् । जसले गर्दा दिल्ली र आसपासको क्षेत्रको वायुको प्रदूषणको स्तर निकै उच्च हुने गरेको छ ।


विभिन्न निकायले गरेको मापनले विगत केही दिनयता हावाको प्रदूषण स्तर निकै नै जोखिमपूर्ण देखिएको छ । बिहीबार राति दिल्लीको हावाको गुणस्तर मापन गर्ने सूचक एअर क्वालिटी इन्डेक्स (एक्बूआई) ४२५ पुगेको थियो । जब कि जनस्वास्थ्यका हिसाबले त्यो इन्डेक्स सयभन्दा तल हुनुपर्छ । पछिल्लो समयमा हावामा पनि हानिकारक पदार्थको परिमाण पनि मापदण्डभन्दा निकै नै बढी पाइएको छ । त्यसैगरी हावामा पाइने त्यस्ता हानिकारक कणहरूको मापन गरिने पीएम २.५ को स्तर २९६.७ माथि थियो । मानवस्वास्थ्यका लागि त्यो ६० भन्दा बढी हुनु हुँदैन । प्रदूषणको यो स्तर गत वर्ष पुसयताकै उच्च हो ।


त्यस्ता हानिकारक कणहरूले फोक्सोलाई नराम्रोसँग असर पुर्याउँछ । प्रदूषण बढेसँगै सर्वसाधारण घरबाहिर निस्कँदा मास्क प्रयोग गर्न थालेका छन् । सरोकारहरूले प्रदूषणका कारण विशेषगरी बालबालिकाहरूको स्वास्थ्यमा असर पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । दिल्ली सरकारले भने अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन सर्वसाधारणलाई आहृवान गरेको छ । दिल्लीमा पनि आनन्द बिहार, विवेक बिहार, दिल्ली छेउका ग्रेटर नोयडा, फरिदाबाद, गाजियाबादको हावाको गुणस्तरमा उच्च गिरावट देखिएको छ ।


हावा गुणस्तरमा बिहीबारको राति सबैभन्दा बढी गिरावट देखिएपछि प्रदूषण नियन्त्रण गर्न सर्वोच्च अदालतद्वारा गठित वातावरण प्रदूषण नियन्त्रण तथा रोकथाम प्राधिकरण (ईपीसीए) ले अघिल्ला वर्षहरूमा जस्तै विभिन्न निर्देशनसमेत जारी गरेको छ । ईपीसीएले जनस्वास्थ्यका हिसाबले संकटकालीन अवस्था घोषणा गर्दै आगामी मंगलबारसम्म दिल्ली र एनसीआर क्षेत्रमा निर्माणसम्बन्धी सबै कामहरू बन्द गर्न आदेश जारी गरेको छ । ईपीसीएले बढ्दो वायु प्रदूषणलाई ध्यानमा राख्दै हिउँदैको याममा पटाका पड्काउन पनि प्रतिबन्ध लगाएको छ ।


त्यसैगरी दिल्लीको हावाको गुणस्तर जोखिमयुक्त देखिएका कारण दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आगामी मंगलबारसम्मका लागि सबै विद्यालय बन्द गर्न आदेश दिएका छन् । साथै दिल्ली सरकारले प्रदूषणलाई ध्यानमा राख्दै ५० लाख मास्क बाँड्ने अभियान पनि सुरु गरेको छ । त्यसैगरी, आगामी सोमबारदेखि दिल्लीमा सार्वजनिक सवारीसाधनका लागि दुई १५ नोभेम्बरसम्म जोरबिजोर प्रणाली लागू हुनेछ । आइतबारबाहेक अन्य दिन बिहान आठ बजेदेखि साँझ आठ बजेसम्म यो व्यवस्था अनिवार्य रूपमा लागू हुनेछ ।

प्रकाशित : कार्तिक १६, २०७६ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?