आईएस प्रमुख बग्दादीमाथिको आक्रमणको दृश्य सार्वजनिक

एजेन्सी

न्युयोर्क/सिरिया — अमेरिकी सेनाले इस्लामिक स्टेटका नाइके इस्लामिक स्टेट (आर्ईएस) प्रमुख अबु बकर अल–बगदादीलाई मार्न आफूले गरेको कारबाहीको दृश्य सार्वजनिक गरेको छ ।

सेनाले सार्वजनिक गरेको भिडियोमा स्थल कारबाहीका लागि बगदादी लुकेर बसेको स्थानतर्फ जानुअघि अमेरिकी हवाई सेनाले जमिनमा रहेका लडाकुलाई लक्षित गरी आक्रमण गरको देखिन्छ । सेनाहरू जमिनमा उत्रनुअघि ज्यान जोगाउन सुरुङभित्र पसेका बगदादीले भेस्ट बम विस्फोट गराई आत्महत्या गरेका थिए ।


अमेरिकी केन्द्रीय कमान्डर जेनरल केनेथ म्याक्केन्जीले बगदादीसँगै पहिले भनिएजस्तै तीन नभई दुई बालबालिकाको मात्र ज्यान गएको बताए । राष्ट्रपति डोनाल्ड ट्रम्पले भने जस्तो त्रासले चिच्याहट गर्दै मरेको म्याक्केन्जीले पुष्टि भने गर्न सकेनन् ।


‘दुई बालबालिकासहित उनी सुरुङमा पसे । आफ्ना सहयोगी माथि नै भएका बेला आत्मघाती विस्फोट गराए । यसैबाट बगदादी कस्ता मानिस थिए भन्ने तपाईं थाहा पाउन सक्नुहुन्छ,’ म्याक्केन्जीले बताए । बगदादीसँगै आत्मघाती पोसाक लगाएका ४ महिला तथा एक पुरुषको पनि मृत्यु भएको म्याक्केन्जीले बताए ।


अमेरिकी हेलिकप्टरमाथि गोली चलाएपछि केही लडाकुलाई पनि अमेरिकी सेनाले मारेको उनको दाबी छ । म्याक्केन्जीका अनुसार कारबाहीका क्रममा गैरसैनिकको मृत्यु नहोस् भनेर निकै ध्यान दिइएको थियो ।


म्याक्केन्जीका अनुसार डीएनए टेस्टपछि बगदादीको शव पहिचान गरिएको हो । उनको डीएनएको नमुना सन् २००४ मा इराकी जेलमा रहँदा लिइएको थियो । उनका अनुसार ‘सशस्त्र युद्धको कानुनअनुसार बगदादीको शव समुद्रमा व्यवस्थापन गरिएको’ छ ।


आईएस लडाकुले प्रतिशोधको भावनाले आक्रमण गर्न सक्नेबारे आफूहरू सचेत रहेको म्याक्केन्जीको भनाइ छ ।


आईएसमा नेतृत्वको खोजी

बगदादीको मृत्युपछि संगठनले नयाँ नेतृत्वको खोजी सुरु गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले आइतबार सिरियामा अमेरिकी विशेष सुरक्षा कारबाहीका क्रममा बगदादीले आत्महत्या गरेको बताएका थिए । ट्रम्पले ‘उत्तर–पश्चिम सिरियामा अमेरिकी स्पेसल फोर्सले गरेको कारबाहीमा संसारकै कुख्यात आतंकवादी’ को मृत्यु भएको जनाएका थिए ।


विद्रोहीहरूको समूहबाट गठन गरिएको खतरनाक र हिंस्रक चरमपन्थी संगठन इस्लामिक स्टेटले अफ्रिकादेखि अस्ट्रेलियासम्म संगठन विस्तार गरिरहेको थियो तर प्रमुखलाई गुमाएसँगै नयाँ नेतृत्वको खोजी गरिरहेको कपितयको दाबी छ । यद्यपि, संगठनले आफ्ना समर्थकलाई न कुनै कमजोरी बताउन चाहेको छ न त बगदादीको हत्यापछि कुनै प्रकारको असन्तुलनको संकेत सार्वजनिक गर्न चाहेको छ ।


संगठनका उच्च नेता रहेको सुरा कमिटी (सबै पुरुष) ले पहिले नै संगठन प्रमुखका लागि उम्मेदवारीमाथि विचार गरिसकेको अड्कल गरिँदै छ । यो भूमिकाका लागि उम्मेदवारमा जुन योग्यताको आवश्यकता निर्धारण गरिएको छ, त्यो हो आईएसप्रति पूर्ण निष्ठा, कुशल रणनीति बनाउने क्षमता, कुनै प्रकारको दाग नलागेको धार्मिक पहिचान, युद्ध लड्ने अनुभव र कठोर सजाय दिनेका लागि चर्चित व्यक्ति ।


इस्लामिक स्टेटमा पूर्वइराकी राष्ट्रपति सद्दाम हुसेनका सेना र खुफियातन्त्रका पूर्वसदस्यसँगै अति रूढिवादी जेहादी दुवै सहभागी थिए । बाथिस्ट भनिने समूहले हतियार, गोला–बारुद, खुफिया जानकारी दिन्छन् र योजना तयार गर्छन् । बगदादीपछि आउने नेतामा पनि दुवै समूहसँग निरन्तर सम्पर्कमा रहने व्यक्ति हुनुपर्ने बताइएको छ । यद्यपि, आईएसलाई केही समय बगदादीको अभाव खड्किने निश्चितप्रायः छ । प्रकाशित : कार्तिक १४, २०७६ २१:४२

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

इराकमा प्रदर्शन, २ को मृत्यु

एजेन्सी

बग्दाद — इराकको राजधानी बग्दादमा शुक्रबार गरिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा कम्तीमा २ जनाको मृत्यु भएको छ । रोजगार तथा सार्वजनिक सेवा सुधारको माग गर्दै बग्दादमा केही दिन यता नियमित प्रदर्शन गरिँदै आएको छ । प्रदर्शनकारीलाई भगाउन प्रहरीले शुक्रबार अश्रुग्यास तथा रबरका गोली हालेको थियो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार प्रहरीले हालेको अश्रुग्यासको सेल लागेर २ प्रदर्शनकारीको मृत्यु भएको हो । घटनामा केही घाइते छन् । यसै महिनाको सुरुमा गरिएको यस्तै प्रदर्शनमा गरिएको प्रहरी दमनका कारण कम्तीमा १५० जना घाइते भएका थिए । प्रदर्शनका क्रममा प्रहरीले अत्यधिक बल प्रयोग गरेको एक सरकारी प्रतिवेदनमा उल्लेख छ ।

बिहीबार इराकी प्रधानमन्त्री अदेल अब्दुल महदीले जनताले शान्तिपूर्वक विरोध तथा प्रदर्शन गर्न पाउने बताएका थिए । यद्यपि, उनले ‘हिंसा अस्वीकार्य भएको’ भन्दै प्रदर्शनकारीलाई चेतावनी दिएका थिए ।

महदी प्रधानमन्त्रीमा चयन भएको शुक्रबार एक वर्ष पुगेको छ । उनले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तथा सुधारका कार्यक्रम ल्याउने बताए पनि प्रदर्शनकारी आश्वस्त भएका छैनन् ।

बग्दादस्थित ताहरी स्क्वायरमा बिहीबार रातिदेखि नै भेला भएका सयौं प्रदर्शनकारी शुक्रबार बिहानै सरकारी कार्यालयहरू रहेको स्थानको नजिकै पुगेका थिए । प्रत्यक्षदर्शीका अनुसार सुरक्षाकर्मीले उनीहरूलाई उक्त स्थानबाट भगाउन दर्जनौं सेल अश्रुग्यास प्रहार गरेका थिए ।

इराकी मानवअधिकार आयोगका सदस्य अली बयातीले अश्रुग्यासको सेलले लागेर कम्तीमा दुई जनाको ज्यान गएको पुष्टि गरे । इराकका दक्षिणी सहर दिवानिया, नाजाफ र नसिरियामा पनि सयौं प्रदर्शनकारी सरकारको विरोधमा सडकमा उत्रेका बीबीसीले जनाएको छ ।

अक्टोबर १ देखि सुरु भएको प्रदर्शनका सहभागीमध्ये अधिकांश युवा तथा बेरोजगार छन् । सरकारद्वारा गठित एक अनुसन्धान समितिका अनुसार अक्टोबर १ देखि ६ सम्म भएका प्रदर्शनका क्रममा कम्तीमा १४९ सर्वसाधारण तथा ८ सुरक्षाकर्मी मारिएका जनाएको छ ।

तीमध्ये तीन चौथाइको राजधानी बग्दादका प्रदर्शनका क्रममा मृत्यु भएको हो । समितिले दर्जनौं वरिष्ठ सुरक्षाकर्मीलाई बर्खास्त गर्नुपर्ने तथा घटनामा संलग्नलाई मुद्दा चलाउनुपर्ने सिफारिस गरेको थियो । यद्यपि, प्रधानमन्त्री तथा केही वरिष्ठ अधिकारीलाई दोषी ठहर गर्दै घटना सामसुम पारिएको थियो ।

प्रकाशित : कार्तिक ९, २०७६ ०८:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×