कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इराकमा प्रदर्शन, २ को मृत्यु

एजेन्सी

बग्दाद — इराकको राजधानी बग्दादमा शुक्रबार गरिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा कम्तीमा २ जनाको मृत्यु भएको छ । 
रोजगार तथा सार्वजनिक सेवा सुधारको माग गर्दै बग्दादमा केही दिन यता नियमित प्रदर्शन गरिँदै आएको छ । प्रदर्शनकारीलाई भगाउन प्रहरीले शुक्रबार अश्रुग्यास तथा रबरका गोली हालेको थियो । 

इराकमा प्रदर्शन, २ को मृत्यु

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार प्रहरीले हालेको अश्रुग्यासको सेल लागेर २ प्रदर्शनकारीको मृत्यु भएको हो । घटनामा केही घाइते छन् । यसै महिनाको सुरुमा गरिएको यस्तै प्रदर्शनमा गरिएको प्रहरी दमनका कारण कम्तीमा १५० जना घाइते भएका थिए । प्रदर्शनका क्रममा प्रहरीले अत्यधिक बल प्रयोग गरेको एक सरकारी प्रतिवेदनमा उल्लेख छ ।


बिहीबार इराकी प्रधानमन्त्री अदेल अब्दुल महदीले जनताले शान्तिपूर्वक विरोध तथा प्रदर्शन गर्न पाउने बताएका थिए । यद्यपि, उनले ‘हिंसा अस्वीकार्य भएको’ भन्दै प्रदर्शनकारीलाई चेतावनी दिएका थिए ।


महदी प्रधानमन्त्रीमा चयन भएको शुक्रबार एक वर्ष पुगेको छ । उनले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तथा सुधारका कार्यक्रम ल्याउने बताए पनि प्रदर्शनकारी आश्वस्त भएका छैनन् ।


बग्दादस्थित ताहरी स्क्वायरमा बिहीबार रातिदेखि नै भेला भएका सयौं प्रदर्शनकारी शुक्रबार बिहानै सरकारी कार्यालयहरू रहेको स्थानको नजिकै पुगेका थिए । प्रत्यक्षदर्शीका अनुसार सुरक्षाकर्मीले उनीहरूलाई उक्त स्थानबाट भगाउन दर्जनौं सेल अश्रुग्यास प्रहार गरेका थिए ।


इराकी मानवअधिकार आयोगका सदस्य अली बयातीले अश्रुग्यासको सेलले लागेर कम्तीमा दुई जनाको ज्यान गएको पुष्टि गरे । इराकका दक्षिणी सहर दिवानिया, नाजाफ र नसिरियामा पनि सयौं प्रदर्शनकारी सरकारको विरोधमा सडकमा उत्रेका बीबीसीले जनाएको छ ।


अक्टोबर १ देखि सुरु भएको प्रदर्शनका सहभागीमध्ये अधिकांश युवा तथा बेरोजगार छन् । सरकारद्वारा गठित एक अनुसन्धान समितिका अनुसार अक्टोबर १ देखि ६ सम्म भएका प्रदर्शनका क्रममा कम्तीमा १४९ सर्वसाधारण तथा ८ सुरक्षाकर्मी मारिएका जनाएको छ ।


तीमध्ये तीन चौथाइको राजधानी बग्दादका प्रदर्शनका क्रममा मृत्यु भएको हो । समितिले दर्जनौं वरिष्ठ सुरक्षाकर्मीलाई बर्खास्त गर्नुपर्ने तथा घटनामा संलग्नलाई मुद्दा चलाउनुपर्ने सिफारिस गरेको थियो । यद्यपि, प्रधानमन्त्री तथा केही वरिष्ठ अधिकारीलाई दोषी ठहर गर्दै घटना सामसुम पारिएको थियो ।

प्रकाशित : कार्तिक ९, २०७६ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?