कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जापानी सम्राट्को राज्यारोहण

(एजेन्सी)

टोकियो — जापानका सम्राट् नारूहितोले एक भव्य समारोहबीच सोमबार औपचारिक राज्यारोहण गरेका छन् । पिता अकिहितोले राजगद्दी परित्याग गरेपछि ५९ वर्षीय नारूहितो गत मे १ मा जापानको सम्राट् बनेका थिए । छोराको राज्यारोहण समारोहमा पूर्वसम्राट् अकिहितो पनि उपस्थित थिए ।

जापानी सम्राट्को राज्यारोहण

विभिन्न परम्परागत विधि सम्पन्न गरेपछि नारूहितोले मंगलबार औपचारिक रूपमा राजगद्दी आरोहण गरेका हुन् । जापानमा केही साताअघि आएको समुद्री आँधी ‘हगिबिस’ का कारण ८० जनाको मृत्यु भएको थियो । आँधीपीडितप्रति सहानुभूति प्रकट गर्न राज्यारोहणका अवसरमा आयोजना गरिने शोभायात्रा स्थगित गरिएको थियो ।


नारूहितो साढे ६ मिटर अग्लो ‘ताकामिकुरा’ राजगद्दीभित्र बसेका थिए । विशेष अवसरमा सम्राट्हरूले लगाउने परम्परागत पहेंलो–सुन्तला रंगको वस्त्र धारण गरेर राजगद्दीमा बसेका उनले लिखित मन्तव्य वाचन गरेका थिए ।

‘राष्ट्र र जनताको एकताको प्रतीकका रूपमा म आफ्नो उत्तरदायित्व बहन गर्न सदैव संविधानअनुसार काम गर्ने शपथ लिन्छु,’ मन्तव्य वाचनका क्रममा उनले भने । राज्यारोहण विशेष समारोहमा जापानको राजकीय शक्तिको संकेतका रूपमा लिइने प्राचीन तरबार र रत्न पनि राखिएका थिए ।


समारोहमा उनकी पत्नी साम्राज्ञी मासाको १२ पत्र भएको वस्त्र लुगा लगाएर सँगै रहेको अर्को आसनमा बसेकी थिइन् । राज्यारोहण समारोहका क्रममा जापानी प्रधानमन्त्री सिन्जो अबेले सम्राट्लाई बधाई ज्ञापन गर्दै सम्बोधन गरेका थिए । त्यसलगत्तै उनको नेतृत्वमा उपस्थित मानिसले ‘बान्जाई’ अर्थात् ‘सम्राट् चिरायू रहून्’ भन्दै हर्षोल्लास गरेका थिए ।


समारोहमा बेलायती राजकुमार चार्ल्स, जर्मनीका राष्ट्रपति फ्रांक वाल्टर स्टेनमेइर, स्विडेनका राजा कार्ल १६ औं गुस्ताफ, स्पेनका राजा फेलिप छैटौं, फिनल्यान्डका राष्ट्रपति सौली निनिस्टो, मलेसियाका राजा सुल्तान, भुटानका राजा जिग्मे केशर नाम्गेल वाङचुक, फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेलगायत विशिष्ट पाहुनाहरूको उपस्थिति थियो । सम्राट्ले विदेशबाट आएका शाही प्रतिनिधिका लागि चियापान तथा प्रधानमन्त्रीले सबै अतिथिका लागि रात्रिभोज आयोजना गरे ।


जापानमा संवैधानिक राजतन्त्र छ र सम्राट्को भूमिका प्राय: आलंकारिक हुन्छ । उनले नागरिकहरूसँग अन्तरक्रिया गर्ने तथा विदेशी पाहुनासँग भेट गर्ने गर्छन् । जापानमा ३ दशकअघि यस्तो समारोहको आयोजना गरिएको थियो । सन् १९९० मा जापानका पूर्वसम्राट् अकिहितोले राज्यारोहण गरेका थिए ।


जापानी सम्राट् अकिहितोले स्वास्थको कारण देखाउँदै राजगद्दी त्याग गरेका थिए । उनी २ सय वर्षयता स्वास्थ्यका कारण राजगद्दी त्याग गर्ने पहिलो सम्राट् हुन् ।


प्रकाशित : कार्तिक ६, २०७६ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?