कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थाई राजाले खोसे पत्नीको उपाधि

(एजेन्सी)

बैंकक — थाइल्यान्डका राजा महाभाजिरालंकर्ण आफ्नी पत्नीका राजकीय उपाधि खोस्ने अप्रत्याशित निर्णय गरेका छन् । 

थाई राजाले खोसे पत्नीको उपाधि

राजदरबारको एक औपचारिक घोषणामा सिनिनात वङ्वाचिरापक्दी ‘निकै महत्त्वाकांक्षी’ बनेकी र उनले ‘आफूलाई महारानीको हैसियतमा पदोन्नति गर्ने प्रयास गरेको’ भन्दै राजकीय उपाधि खोरिएको उल्लेख छ ।


घोषणाअनुसार वङ्वाचिरापक्दीका अधिकांश व्यवहार अपमानजनक ठहरिएकाले उपाधि खोस्नुपरेको समेत उल्लेख छ । महाभाजिरालंकर्ण उनलाई गत जुलाई महिनामा राजकीय उपाधि प्रदान गरेका थिए ।


महाभाजिरालंकर्ण राजा बन्नुभन्दा पहिला वङ्वाचिरापक्दी उनकी भित्रिनी थिइन् । उनी सन् २०१६ मा थाइल्यान्डको राजा बनेका हुन् । तर राजाले पत्नीसरहको उपाधि दिइएको केही महिनामै वङ्वाचिरापक्दीले ‘विश्वासघात गरेकी’ भन्दै निर्णय लिएका हुन् ।


महाभाजिरालंकर्णले चौथो पत्नीका रूपमा सुथिदासँग बिहे गरेको ३ महिना नबित्दै वङ्वाचिरापक्दीलाई ‘चाओ खुन फ्रा सिनिनात बिलासकलयानी’ को उपाधि दिएका थिए । बीबीसीका अनुसार थाई राजपरिवारमा उक्त उपाधि झन्डै एक शताब्दीमा पहिलोपटक दिइएको थियो ।


वङ्वाचिरापक्दी यस वर्षको सुरुमा सेनाको मेजर जेनरल पदमा नियुक्त भएकी थिइन् । उनी तालिमप्राप्त विमानचालक, नर्स तथा अंगरक्षक हुन् । गत अगस्टमा उनले सैन्य पोसाकमा जेट विमान चलाइरहेका विभिन्न फोटा सार्वजनिक गरेकी थिइन् । तर उपाधि खोसिएसँगै उनका ती तस्बिरहरूसमेत आधिकारिक वेबसाइटबाट हटाइएको छ ।


भूतपूर्व विमान परिचारिका तथा राजाको अंगरक्षक समूहकी प्रमुख ४१ वर्षीया रानी सुथिदा लामो समयदेखि राजा भाजिरालंकर्णकी साथी थिइन् । विवाहपूर्व उनलाई कैयौं वर्षदेखि सार्वजनिक समारोहमा तत्कालनी युवराजसँगै देखिन्थ्यो ।


भाजिरालंकर्णले चारवटा विवाह गरे । उनको पहिलो वैवाहिक सम्बन्ध १९७७ देखि १९९३ सम्म चल्यो । त्यसपछि १९९४ मा दोस्रो विवाह गरेका उनी युवाथिदा फोल्प्रसिथसँग दुई वर्ष विताए । तेस्री श्रीमती श्रीरात सुवादीसँग भने उनी २००१ देखि १३ वर्ष सँगै रहे । उनले सुथिदासँग गत मेमा विवाह गरेका हुन् ।


थाइल्यान्डमा राजदरबारसम्बन्धी विषयलाई अतिगोप्य राखिने भएकाले वङ्वाचिरापक्दीको शाही उपाधि खोसिनुको कारण सार्वजनिक नहुन सक्छ । थाइल्यान्डको कानुनअनुसार कसैले पनि राजसंस्थाबारे प्रश्न गर्न पाउँदैन ।  


प्रकाशित : कार्तिक ६, २०७६ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?