कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिलीको प्रदर्शन हिंसात्मक, ३ को मृत्यु

(एजेन्सी)

सान्टिआगो — चिलीको राजधानी सान्टिआगोमा मेट्रो रेलको टिकटको मूल्य बढाइएको विरोधमा गरिएका प्रदर्शनका क्रममा कम्तीमा ३ जनाको ज्यान गएको छ । 

चिलीको प्रदर्शन हिंसात्मक, ३ को मृत्यु

अधिकारीका अनुसार सान्टिआगोको एक सुपरमार्केमा लगाइएको आगोमा उनीहरूको ज्यान गएको हो । दुई जनाको घटनास्थलमै र एकको अस्पताल लैजाने क्रममा मृत्यु भएको मेयर कार्ला रुबिलारले बताए ।


प्रदर्शन हिंसात्मक बन्दै गएपछि सरकारले शनिबार राजधानी सान्टिआगोमा संकटकाल घोषणा गरेको थियो । तर त्यसका बाबजुद प्रदर्शन नरोकिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।


संकटकाल तथा रात्रिकालीन कफ्र्युपछि राजधानीका विभिन्न स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी तथा सैनिक टयांकहरू तैनाथ छन् । बीबीसीका अनुसार सन् १९९० मा अगस्तो पिनोचेतको तानाशाही शासनविरुद्धको आन्दोलनयता सरकारले ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको हो ।

विरोध प्रदर्शनका क्रममा ३ सय जनालाई पक्राउ गरिएको छ । अधिकारीका अनुसार १ सय ५६ जना प्रहरी तथा ११ सर्वसाधाराण घाइते छन् । अधिकांश प्रदर्शनकारी विद्यार्थी छन् । अधिकारीहरूले हिंसात्मक घटनाका कारण ठूलो क्षति पुगेको जनाएका छन् ।


झन्डै ६० लाख मानिसको बसोबास रहेको चिलीको राजधानी सान्टिआगोमा केही समय अघिदेखि सर्वसाधारणले महँगी निकै बढेको गुनासो गर्दै आएका थिए । उनीहरूको गुनासोसँगै खासगरी सान्टिआगोमा आर्थिक सुधारको माग उठिरहेको थियो ।


पछिल्लो मूल्य वृद्धिले जनताले सडकमा उक्त रोष पोखेका समेत कतिपयको विश्लेषण छ । बीबीसीका अनुसार विरोध प्रदर्शनले देशमा व्याप्त धनी–गरिबबीचको विभाजन बाहिर ल्याएको छ । ल्याटिन अमेरिकाको धनी राष्ट्रमध्ये एक भए पनि चिलीमा धनी र गरिबबीच ठूलो असमानता छ ।


यसअघि शनिबार एक टेलिभिजनमार्फत सम्बोधन गर्दै चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले ‘सार्वजनिक र व्यक्तिगत सम्पत्ति तोडफोडका घटनालाई उचित ठान्न नसकिने’ बताएका थिए । उनले ‘भाडा वृद्धिले मर्का परेकासँग वार्ता गर्न सरकारले कदम चाल्ने’ जनाएका थिए ।


चिली सरकारले अक्टुबरको सुरुतिर ‘इन्धनको मूल्य बढेको र मुद्रा अवमूल्यन भएको’ कारण देखाउँदै मेट्रो रेलको भाडादर बढीमा १.१७ डलरले बढाएको थियो । विरोधका क्रममा लाखौं डलर बराबरको क्षति पुगेको अधिकारीहरूको भनाइ छ ।


प्रकाशित : कार्तिक ४, २०७६ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?