कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हरियाणा र महाराष्ट्रमा विधानसभा चुनावमा भाजपा निकै बलियो

सुरेशराज न्यौपाने

(नयाँदिल्ली) — भारतका दुइटा राज्य हरियाणा र महाराष्ट्रमा आज विधानसभा चुनाव हुँदै छ । यस चुनावलाई भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको मोदीको सरकारको पहिलो जनपरीक्षाका रूपमा लिइएको छ । 

हरियाणा र महाराष्ट्रमा विधानसभा चुनावमा भाजपा निकै बलियो

मोदी गत वैशाखमा दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा चुनिएका थिए । खासगरी गत अगस्ट ५ मा जम्मुकश्मीरलाई विशेषाधिकार प्रदान गर्ने संविधानको ३७० धारा खारेज गर्ने मोदी सरकारको निर्णयप्रति हरियाणा र महाराष्ट्रका मतदाताको जवाफ चुनावमार्फत देखिने भएकाले पनि यसलाई महत्त्वका साथ हेरिएको छ ।


त्यति मात्र होइन भारतीय अर्थतन्त्रमा पछिल्लो समय देखिएको मन्दी र बेरोजगारी वृद्धिप्रति पनि मतदाताले अभिमत प्रकट गर्ने विश्वास गरिएको छ ।

साथै, चुनावलाई हरियाणाका मुख्यमन्त्री मनोहरलाल खट्टर र महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फड्नाविसको समेत जनपरीक्षा ठानिएको छ । हरियाणा र महाराष्ट्रको विधानसभाका अतिरिक्त विभिन्न १८ राज्यका ५१ विधानसभा र दुई लोकसभा सिटमा पनि सोमबार नै चुनाव हुनेछ ।


भूगोल र मतदाताका हिसाबले सानो भए पनि छिमेकी हरियाणाले दिल्लीको राजनीतिमा राम्रो प्रभाव राख्छ । हरियाणा कृषि उत्पादन, उद्योग तथा व्यवसायका लागि भारतको महत्त्वपूर्ण राज्यका रूपमा चिनिन्छ । त्यसकारण हरियाणाको आर्थिक गतिविधिले भारतको समग्र अर्थव्यवस्थाको तस्बिर देखाउने दाबी भारतीय राजनीतिमा छ । विधानसभाका लागि हरियाणाका जम्मा ९० सिट छन् । तीमध्ये आज २१ सिटका लागि निर्वाचन हुँदै छ । सन् २०१४ को विधानसभा चुनावमा भाजपाले ४७ सिट जितेर सरकार बनाएको थियो ।


हरियाणाको राजनीतिमा भाजपा र भारतीय राष्ट्रिय कंग्रेका अतिरिक्त पूर्वमुख्यमन्त्री ओमप्रकाश चौटालाको भारतीय राष्ट्रिय लोक दल (आईएनएलडी) प्रमुख राजनीतिक शक्तिका रूपमा चिनिन्छन् । ५ वर्षअधिको चुनावमा आईएनएलडीले २४.११ प्रतिशत भोटसहित १९ सिट जितेको थियो । २०.५८ प्रतिशत भोट ल्याएको कंग्रेस भने १५ सिटमा सीमित भएको थियो । चुनावलगत्तै आईएनएलडीका निर्वाचित १७ विधायकले भाजपा प्रवेश गरेर राज्यको राजनीतिक समीकरण भाजपाअनुकूल बनाइदिएका थिए । त्यसलगत्तै भाजपाले राज्यमा आफ्नो प्रभाव थप बलियो बनाउँदै लगेको हो ।


भारतीय राजनीतिमा भाजपाको बढ्दो प्रभावका कारण गत जेठमा भएको लोकसभा चुनावमा दुवै पार्टीले नमीठो हार बेहोरे । चुनावमा भाजपा एक्लैले ५८.२१ प्रतिशत मत पायो र राज्यका सबै दस सिटमा कब्जा जमाएको थियो ।


त्यसमाथि राज्यको परम्परागत राजनीतिक शक्ति कंग्रेस आन्तरिक कलहका कारण दिशाहीन बन्न पुग्यो । पूर्वमुख्यमन्त्री भूपिन्दरसिंह हुड्डा र राज्यका अन्य नेताबीचको बढ्दो असमझदारीले हरियाणामा कंग्रेसको चुनाव प्रचार भाजपाको तुलनामा फितलो देखिएको छ । त्यसका साथै प्रदेशका पूर्व पार्टी प्रमुख अशोक तन्वरले पार्टी त्याग गरेकाले पनि कंग्रेसले थप धक्का बेहोरेको छ । जुन चुनावमा प्रस्टै देखिन आकलन राजनीतिक विश्लेषकहरूको छ ।


एकातिर प्रदेशभित्रै पार्टीमा विवाद देखिएको छ भने अर्कोतर्फ केन्द्रीय नेतृत्वले पनि प्रस्ट मार्गचित्र बनाउन नसकेको देखिन्छ । चुनाव प्रचार–प्रसारका क्रममा अध्यक्ष सोनिया गान्धी र महासचिव प्रियंका गान्धी वाड्राको अनुपस्थितिका कारण पूर्वअध्यक्ष राहुल गान्धी मात्र सहभागी भए । हरियाणाको महेन्द्रगढमा सोनिया गान्धीले चुनावी र्‍यालीलाई सम्बोधन गर्ने कार्यक्रम रहे पनि आन्तरिक किचलोका कारण अन्तिम समयमा स्थगित गरिन् । तर भाजपाका तर्फबाट प्रधानमन्त्री मोदी र गृहमन्त्री अमित शाहले दर्जनौं र्‍याली तथा चुनावी सभामा सम्बोधन गरे ।


विपक्षीहरूले सत्तारूढ भाजपाविरुद्ध बलियो चुनाव मुद्दासमेत अघि सार्न असफल देखिएका छन् । विपक्षीहरूले आर्थिक मन्दी र बेरोजगारीलाई चुनावी मुद्दा बनाउने प्रयास गरे पनि भाजपाले मोदीको नेतृत्व र जम्मुकश्मीरको मुद्दालाई बढी प्रभावकारी ढंगले उठाएको छ । त्यसैको प्रभावस्वरूप चुनावअघिका विभिन्न मत सर्वेक्षणले सोमबार हुने विधानसभा चुनावमा पनि भाजपाले सहज जित हात पार्ने पूर्वानुमान गरिएको छ ।


एकातर्फ भाजपाको बलियो संगठन र आक्रामक चुनावी अभियान र अर्कोतर्फ विपक्षी विभाजित भएकाले मोदीका विश्वास पात्र मुख्यमन्त्री मनोहरलाल खट्टरको नेतृत्वमा भाजपाले लगातार दोस्रोपटक जित दर्ता गर्ने सहजै अनुमान गर्न सकिन्छ ।


भारतको प्रमुख आर्थिक र औद्योगिक राज्य महाराष्ट्रमा पनि भाजपा गठबन्धन र कांग्रेस गठबन्ध आमनेसामने छन् । ५ वर्षअघिको चुनावमा भाजपा गठबन्धनले २८८ सिटमध्ये १८५ सिट जितेर सरकार बनाएको थियो । सोमबार हुने चुनावमा पनि भाजपा र शिवसेनाबीच गठबन्धन छ भने कांग्रेसले शरद पवार नेतृत्वको राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) सँग चुनावी तालमेल गरेको छ ।

हरियाणामा जस्तै यस राज्यमा पनि सत्तारूढ गठबन्धनको तुलनामा विपक्षीहरूको चुनावी अभियान कमजोर देखिएको छ । विपक्षीबीच चुनावी अभियानमा तालमेल अभाव देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


खासगरी गत लोकसभा चुनावपछि कंग्रेस पार्टीको महाराष्ट्र एकाइभित्र देखिएको विवादले पूरै चुनावी अभियानलाई प्रभावित छ । सञ्जय निरूपम र मिलिन्द देवराबीचको कलहले पार्टीको पूरै प्रदेश संरचनालाई नै अस्थिर बनाएको छ, जसको प्रत्यक्ष प्रभाव चुनावी अभियानमा पनि देखिएको छ ।


महाराष्ट्रको चुनावमा पनि विपक्षीले किसानहरूको बढ्दो आत्महत्या र बढ्दो बेरोजगारीलाई प्रमुखताका साथ उठाएका थिए भने भाजपा गठबन्धनले मोदी ‘फयाक्टर’ लाई अघि सारेको थियो । भाजपा गठबन्धनले भने धारा ३७० खारेजीको निर्णयलाई मोदी सरकारको सफलताको रूपमा अघि सार्दै मतदातालाई आफ्नो पक्षमा पार्ने प्रयास गर्दै आएको छ । प्रारम्भिक मत सर्वेक्षणमा महाराष्ट्रमा पनि भाजपा गठबन्धनले सहज जित हात पार्ने देखिएको छ ।


महाराष्ट्रको चुनाव भारतीय राजनीतिका भेट्रान शरद पवारका लागि महत्त्वपूर्ण ठानिन्छ । गत लोकसभा चुनावमा नमीठो हार बेहोरेपछि पूर्वकेन्द्रीयमन्त्रीसमेत रहेका पवारले विधानसभा चुनावलाई प्रतिष्ठाको विषय बनाएका छन् । त्यसकारण चुनावी अभियानमा कंग्रेसको उपस्थिति फितलो देखिएपछि पवार आफैं भाजपा नेतृत्वको सत्तारूढ गठबन्धनविरुद्ध उत्रिएका थिए । चुनावी प्रचार अन्त्य हुनुअघिसम्म पवार एक्लैले महाराष्ट्रका २१ वटा जिल्लामा आयोजित ६० चुनावी सभालाई सम्बोधन गरेका थिए ।

प्रकाशित : कार्तिक ४, २०७६ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?