कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किन घोषणा गर्‍यो टर्कीले सिरियामा युद्धविराम ?

एजेन्सी

टेक्सास/बेरुत — सिरियाको उत्तरी क्षेत्रमा हवाई तथा स्थलगत कारवाही गर्दै आएको छिमेकी देश टर्कीले यद्धविराम घोषणा गरेको छ । 
टर्कीले गत अक्टोबर ९ देखि उत्तरी सिरियाका विभिन्न स्थानमा कुर्दिस लडाकु लक्षित आक्रमण गर्दै आएको थियो । आक्रमणका कारण करिब ५ सय जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मारिनेमा प्राय:कुर्द समुदायका छन् । 

किन घोषणा गर्‍यो टर्कीले सिरियामा युद्धविराम ?

समाचार संस्था एएफपीले एक मानवअधिकारवादी संस्थालाई उद्धृत गर्दै कारबाहीका कारण ३ लाखभन्दा बढी मानिस विस्थापित भएको जनाएको छ । इस्लामिक स्टेट्सविरुद्धको लडाइँमा कुर्दहरूसँगै रहेका अमेरिकी सेना फर्काउने राष्ट्रपति ट्रम्पको घोषणालगत्तै टर्कीले त्यस क्षेत्रमा हवाई र स्थलगत आक्रमण सुरु गरेको थियो ।


सैन्य आक्रमणको विरोध गर्दै अमेरिकाले टर्कीका दुइटा मन्त्रालय तथा तीन वरिष्ठ अधिकारीलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको छ । त्यसका साथै अमेरिकाले स्टिलमा लगाउँदै आएको कर बढाउने र व्यापार सम्झौतासम्बन्धी वार्तासमेत स्थगित गरेको जनाएको छ । अमेरिकी उपराष्ट्रपति माइक पेन्सका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीका राष्ट्रपति रेसेप तैयप इर्दोगानलाई टेलिफोन गरी तत्काल युद्धविराम नगरे अझै कडा चेतावनीसमेत दिएका छन् ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार उत्तरी सिरियामा भएको अस्थायी युद्धविरामको स्वागत गरेका छन् । आक्रमणमा अमेरिकी नागरिकको एक थोपा पनि रगत नबगेको भन्दै राष्ट्रपति ट्रम्पले ‘सिरियाबारे आफ्नो रणनीति सफल भएको’ दाबी गरेका छन् ।


ट्रम्पले तत्कालका लागि पाँचदिने युद्धविराम भएको जनाए । ‘अमेरिकाका लागि यो महान् दिन हो,’ टेक्सास राज्यमा आयोजित निर्वाचन र्‍यालीलाई सम्बोधन गर्दै ट्रम्पले संवाददाताहरूसँग भने, ‘यो टर्की र कुर्दहरूका लागि अनि मानव सभ्यताका लागि पनि महान् दिन हो ।’


अमेरिकासँगको सहमतिपछि टर्की ५ दिने युद्धविरामका लागि सहमत भएको हो । स्वतन्त्र मुलुकको माग गर्दै वर्षौंदेखि सशस्त्र आन्दोलन गरिरहेका कुर्द लडाकुले सिरिया-टर्की सीमा क्षेत्र छाड्नुपर्ने टर्कीको सर्तमा अमेरिकाले सहमति जनाएको एएफपीले जनाएको छ ।


टर्कीले सीमावर्ती सिरियाली भूभागमा भीषण सैन्य कारबाही थालेपछि वार्ता गर्न अमेरिकी उपराष्ट्रपति माइक पेन्स बिहीबार टर्की पुगेका थिए । उनले ‘सिरियामाथिको आक्रमण तत्काल रोक्न’ टर्कीका राष्ट्रपति रेसेप तैयप इर्दोगानलाई सहमत गराएका हुन् ।


सिरियाली कुर्द लडाकुहरूका विरुद्धमा जारी घातक आक्रमणलाई लिएर संयुक्त राष्ट्रसंघले पनि गम्भीर चासो व्यक्त गरेको छ । राष्ट्रसंघीय सुरक्षा परिषद् बैठकमा सिरियाको उत्तरी क्षेत्रमा जारी आक्रमणबाट भएको क्षतिबारे छलफल भएको थियो ।

बैठकमा सुरक्षा परिषद्का सदस्य राष्ट्रहरूबीच आक्रमण रोक्नुपर्ने विषयमा आवश्यक परामर्श र छलफल भएको र त्यस विषयमा सहमति पनि भएको बताइएको थियो ।


सिरियाली आईएसलाई परास्त गर्ने अमेरिकी अभियानमा कुर्द नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्सेस (एसडीएफ) ले सघाउँदै आएको थियो । तर एसडीएफलाई टर्कीले आतंककारी समूह बताउँदै गतसातादेखि उनीहरू लक्षित आक्रमण गरेको हो । टर्कीले आफ्नो देशमा रहेका ३० लाखभन्दा बढी सिरियाली शरणार्थी सिरियामा पुनःस्थापित गराउने कारबाही चलाएको बताएको थियो ।

प्रकाशित : कार्तिक २, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?