कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालबालिकालाई औषधिजन्य गाँजा प्रयोगमा अनुमति

कान्तिपुर संवाददाता

अस्ट्रेलिया — औषधिका रूपमा गाँजाको प्रयोग मिर्गी रोग लागेका बालबालिकामा प्रभावकारी भएपछि यसलाई विस्तार गर्ने भएको छ । गाँजाबाट निर्मित तेल औषधिका रूपमा प्रयोग गर्न कानुनी आधार दिएको अस्ट्रेलियास्थित भिक्टोरिया राज्यले सिजर (मिर्गी) रोग लागेका बालबालिकाहरूको उपचारमा अझ विस्तृत रूपमा यसको प्रयोगमा ल्याउन सुरु गरेको हो । 

मिर्गी रोगका कारण पीडित बनेका बालबालिकाहरूमा गाँजा औषधिका रूपमा प्रभावकारी देखिएपछि यसलाई अझ विस्तृत रूपमा अघि बढाइने भएको हो । राज्यका स्वास्थ्यमन्त्री जेनी मिकाकोसले यो कार्यक्रम अहिले रहेको ६० बालबालिकाहरूबाट ९० जनामा विस्तार गर्न लागिएको जानकारी दिएकी छन् । यो औषधिको प्रयोगले सिजरका कारण पीडित बालबालिकाहरूलाई राहत हुने विश्वास उनले लिएकी छन् । यसका लागि थप ३७ लाख अस्ट्रेलियन डलर लाग्ने बताइएको छ । क्यानाडाको फार्मेसीको गुणस्तरको गाँजाबाट निर्मित तेल उपचारका लागि प्रयोग गरिने समाचारहरूमा जनाइएको छ ।


अस्ट्रेलियास्थित भिक्टोरिया राज्यले सन २०१६ देखि गाँजालाई औषधिका रूपमा प्रयोग गर्न दिनेगरि कानुन निर्माण गरेको थियो । भिक्टोरियास्थित रोयल चिल्ड्रेन अस्पतालका बालरोग विशेषज्ञ जेरेमी फ्रिम्यानले यो औषधिको प्रयोग अन्य औषधिसँग प्रयोग गरेर फाइदा पुगेको बताएका छन् । उनले यो औषधिको प्रयोग गरेका र सफल भएका बालबालिकाहरूको स्वास्थ्य अवस्था चाँडै सुधार भएको बताएका छन् । सरकारको यो कार्यक्रमअन्तर्गत अहिले दर्जनभन्दा बढी बालबालिकाले स्वास्थ्य सेवा लिइरहेको समाचारहरूमा जनाइएको छ ।


अस्ट्रेलियामा औषधिजन्य प्रयोगका लागि गाँजाको प्रयोगलाई कानुनी मान्यता दिइएको छ । हरेक राज्यहरूमा कडा प्रावधानका साथ कानुनी अनुमति दिइएको भए पनि भिक्टोरिया राज्य पहिलोपटक औषधिका रूपमा प्रयोग गर्न दिने कानुन निर्माण गर्ने पहिलो हो । उपचारका लागि गाँजालाई कानुनी आधार दिइएको भए पनि यसलाई धूमपानको माध्यमबाट प्रयोग गर्न भने बन्देज गरिएको छ । यसका साथै अस्ट्रेलियाली सरकारले सरकारी स्तरमा गोप्य रुपमा यसको उत्पादन गरिरहेको सञ्चारमाध्यमहरूले जनाएका छन् ।


सर्वसाधारणलाई औषधिका लागि प्रयोग गर्न कानुनी आधार दिइएको भए पनि बिरामीले चिकित्सकहरूको सल्लाह रिफर गरेपछि निवेदन प्रक्रिया पूरा गरेपछि मात्र पाउने गरेका छन् । केही समयअघि मात्र यहाँस्थित एसीटी सरकारले मनोरञ्जन प्रयोगका लागि ५० ग्रामसम्म गाँजा आफ्नो साथमा राख्न पाउने र प्रतिव्यक्ति २ वटा गाँजाको बोट वा प्रतिपरिवार ४ वटासम्म बोट आफ्नो घरमा रोप्न पाउने कानुन पारित गरेको छ ।


प्रकाशित : आश्विन २९, २०७६ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?