कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदर्शन चर्केपछि इक्वेडरमा सेना खटाइयो

एएफपी

काठमाडौँ — इक्वेडरमा सरकार विरोधी प्रदर्शनका क्रममा हिंसा भड्किएपछि राष्ट्रपति लेनिन मोरेनोले राजधानीमा कर्फ्यु लगाउनुका साथै सेना परिचालनको आदेश दिएका छन् । 

प्रदर्शन चर्केपछि इक्वेडरमा सेना खटाइयो

स्थानीय सुरक्षा अधिकारीका अनुसार विरोध प्रदर्शनका क्रममा ६ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अुनसार करिब २ हजारलाई गिरफ्तार गरिएको छ ।


प्रदर्शनकारीले एक टेलिभिजन स्टेसन र अखबारको कार्यालयमा आक्रमण गर्नुका साथै महालेखा परीक्षकको कार्यालयमा आगजनी गरेका छन् । इक्वेडरस्थित राष्ट्रसंघीय कार्यालय तथा क्याथोलिक चर्चले संयुक्त विज्ञप्ति जारी गर्दै राष्ट्रपति र आदिवासी नेताबीच वार्ता हुन लागेको जनाएका छन् । बीबीसीका अनुसार इन्धनको मूल्यमा केही सहुलियत दिन राष्ट्रपति लचिलो भएपछि वार्ता हुन लागेको हो ।


राष्ट्रपति मोरेनोले इन्धनमा दिँदै आइएको अनुदान कटौती गर्ने घोषणा गरेसँगै देशव्यापी प्रदर्शन सुरु भएको हो । इक्वेडरले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट करिब ४ अर्ब २० करोड अमेरिकी डलर ऋण प्राप्त गर्न सम्झौता गरेसँगै तेलमा दिइएको अनुदान कटौती गरिएको थियो । अनुदान कटौतीपछि इन्धन मूल्य दोब्बर भएको जनाइएको छ ।

इक्वेडरका आदिवासीहरूको जनसंख्या करिब १ करोड ७३ लाख छ । अमेजन र एन्डिसका अवसरविहीन समुदायका हजारौं मानिस क्विटोमा विरोध प्रदर्शनमा सहभागी छन् । प्रदर्शनकारीले इन्धनमा दिँदै आइएको अनुदान जारी रहनुपर्ने माग गर्दै आएका छन् ।

प्रकाशित : आश्विन २७, २०७६ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?