हङकङमा मास्क लगाउन नपाइने  

लक्ष्मी लम्साल

बेइजिङ — हङकङमा शनिबारदेखि मास्क लगाउन नपाइने भएको छ । मास्क लगाएर मुख लुकाउनेलाई जरिवाना सहित जेल सजाय हुनेछ।

अक्टोबर ४ तारिख मध्य राति १२ बजेदेखि यस्तो नियम लागू हुनेछ। नियम उल्लंघन गर्नेलाई २५ हजार हङकङ डलर जरिवानाका साथै १ वर्षसम्म कैद गर्न सकिनेछ ।

शुक्रबार हङकङ विशेष प्रशासनिक क्षेत्रकी मुख्य प्रशासक क्यारी ल्यामले विशेष प्रशासनिक बैठकको आह्वान गरेर यस्तो निर्णय गरेको बेइजिङस्थित सञ्चारमाध्यमहरूले जनाएका छन्।

विवादास्पद सुपुर्दगी विधेयक फिर्ताका बाबजुद प्रदर्शनकारीहरूले हङकङमा तोडफोड जारी राखेका छन्। गत जुलाईदेखि भइरहेका तोडफोडमा संलग्नहरूले मुख छोपेका कारण पहिचानमा कठिनाइ भएपछि हङकङले ‘मास्क निषेध’को नयाँ नीति ल्याएको हो।

सो बैठकले आपतकालीन व्यवस्था नियमावलीलाई आधार मान्दै सामाजिक परिपाटी पुनस्थापित गर्ने तथा हङकङमा जारी प्रदर्शनहरू रोक्ने उद्देश्यले कसैले पनि मुख लुकाएर हिँड्न नपाउने गरी ‘मास्क निषेध’को निर्णय तर्जुमा गरेको हो ।

'विगत ४ महिनादेखि मुख लुकाएर प्रदर्शनकारीहरु हिंसात्मक गतिविधिमा उत्रिएका छन्' प्रमुख क्यारीले भनिन्,‘मास्क निषेध गर्ने नियमबाट सुरक्षा निकायलाई कानुन बमोजिम कारबाही अघि बढाउन सहयोग पुग्नेछ।’

प्रकाशित : आश्विन १७, २०७६ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्

दुई दिनमा ४ लाख ५० हजारले काठमाडौं उपत्यका छाडे

रासस

काठमाडौँ — दसैं मनाउन दुई दिनमा ४ लाख ५० हजारभन्दा बढी मानिसले राजधानी छाडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँका अनुसार यही असोज १५ गते दुई लाख १५ हजार र १६ गते दुई लाख ४२ हजारले राजधानी छाडेका छन् ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रविराज पौडेलले यही असोज ५ गतेदेखि शुक्रबार बिहानसम्म १६ लाख ५६ हजारले राजधानी छाडेको जानकारी दिए। यो बीचमा झण्डै ७ लाख यात्रु राजधानी भित्रिएका पौडेलले बताए। अहिले राजधानीमा भित्रिने क्रम भने न्यून छ।

उनका अनुसार पछिल्ला दुई दिनमा १ लाख ४० हजारको हाराहारीमा यात्रु भित्रिएका छन्। “समग्रमा आजसम्म राजधानीबाट बाहिरिएको खुद सङ्ख्या भने नौ लाख हाराहारीमा पुग्यो, अहिले उपत्यका, नागढुङ्गालगायत क्षेत्रमा सुरक्षा व्यवस्था राम्रो छ, केही व्यापारिक क्षेत्रहरुमा मानवीय चाप बढी भएकाले क्यूमा गाडी गुडिरहेका छन्”, उनले भने। उनले राजधानीमा हजारभन्दा बढी ट्राफिक प्रहरी खटाइएको र नागढुङ्गामा र्‍याकरसहित ट्राफिक प्रहरी तैनाथ रहेको जानकारी दिए।

प्रकाशित : आश्विन १७, २०७६ १७:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्