कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जीपीएमबीको ‘जोखिममा विश्व’ प्रतिवेदन : ‘फ्लुले ३६ घण्टामै ८ करोडको ज्यान लिन सक्छ’

एजेन्सीहरू

लन्डन — फ्लु संक्रमणबाट फैलिने रोगको प्रकोप विश्वभर ३६ घण्टामै फैलिएर ८ करोड मानिसको ज्यान लिन सक्ने चेतावनी अन्तर्राष्ट्रिय स्वास्थ्य विशेषज्ञहरूले दिएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का पूर्वप्रमुखको नेतृत्वमा रहेको विश्वका उच्च तहका विशेषज्ञसहित टोलीले उक्त चेतावनी दिएको बेलायती सञ्चारमाध्यमहरूले बुधबार जनाएका छन् ।

जीपीएमबीको ‘जोखिममा विश्व’ प्रतिवेदन : ‘फ्लुले ३६ घण्टामै ८ करोडको ज्यान लिन सक्छ’

बुधबार सार्वजनिक गरिएको ‘ए वर्ल्ड एट रिक्स (जोखिममा विश्व)’ प्रतिवेदनमा भनिएको छ, ‘सन् १९१८ को फ्लुजस्तो महामारी हिजोआज तीव्र गतिमा फैलिन सक्छ । यसको नियन्त्रण गर्ने प्रयास हालसम्म अपर्याप्त रहेको छ ।’


शताब्दीअघि ‘स्पेनिस फ्लु’ को महामारीबाट विश्वका एक तिहाइ जनसंख्या संक्रमित भएको र ५ करोड मानिसको मृत्यु भएको थियो । यदि त्यस्तै महामारी आजको विश्वमा फैलिएमा त्यसले झनै भयावह अवस्था आउन सक्ने चेतावनी प्रतिवेदनमा छ । अन्तर्राष्ट्रिय स्वास्थ्य विशेषज्ञहरू सम्मिलित टोलीले ‘ग्लोबल प्रिपेयर्डनेस मनिटरिङ बोर्ड (जीपीएमबी)’ का लागि तयार पारेको प्रतिवेदनले उक्त भयावह अवस्थाबाट बच्न मुलुकका सरकारलाई सचेत, गम्भीर र समाधानका लागि थप उपाय अवलम्बन गर्न सुझावसमेत दिएको छ । प्रतिवेदनमा भनिएको छ, ‘इबोलाजस्तो संकटलाई मध्यनजर गर्दै प्रकोपहरूबाट बच्न गरिएको प्रयास अत्यन्तै अपर्याप्त थिए, त्यो अवस्था आज पनि छ ।’



जीपीएमबीका नेतृत्व गरिरहेका नर्वेका पूर्वप्रधानमन्त्री तथा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक डा. ग्रो हार्लेम ब्रन्डल्यान्ड र इन्टरनेसनल फेडरेसन अफ रेडक्रस र रेड क्रिसेन्ट सोसाइटीका महासचिव अलहड्ज एस साइको टोलीले तयार पारेको प्रतिवेदन बुधबार सार्वजनिक गरिएका छ । संस्थाले आफ्नो प्रतिवेदनमा अगाडि भनेको छ, ‘यसअघिको प्रतिवेदनमा बचाउका लागि सुझाएको उपायहरूलाई विश्वका नेताहरूले बेवास्ता गरेका छन् । जीपीएमबीले दिएको सुझावहरूको समीक्षा गर्दा नेताहरूले कि त विल्कुलै लागू गरेका छैनन् वा गम्भीर रूपमा नलिएको देखिन्छ ।’ प्रतिवेदनमा महामारी फैलिएको अवस्थामा त्रास र उपेक्षाको एउटा चक्रबाट गुज्रिने अनुमति दिने गरेको उल्लेख छ ।


‘तत्कालै त्यसको समाधानको प्रयास गरिए पनि दीर्घकालीन उपायको अवलम्बन अझैसम्म गरिएको पाइँदैन, यस प्रकारको क्रियाकलाप विश्वका नेताहरूका लागि अभिनय गर्ने एउटा टुल्स मात्रै बनेको छ,’ जीपीएमबीको प्रतिवेदनमा छ, ‘विश्वभरि फैलिने महामारीको खतरा वास्तविक हो । तीव्र गतिमा फैलिने संक्रमणले लाखौं मानिसको मृत्यु हुने, अर्थव्यवस्था चौपट पार्ने र राष्ट्रिय सुरक्षालाई समेत अस्थिर पार्ने क्षमता राख्छ ।’ प्रतिवेदनमार्फत् सम्भावित फ्लुको महामारी फैलिन सक्ने सूचीसहित विश्वको एउटा नक्सासमेत सार्वजनिक गरिएको छ, जसमा प्रकोपले प्रभाव पर्ने क्षेत्रहरूको कल्पना पनि गरिएको छ । त्यसमा फ्लुको नाम पनि उल्लेख छ । यसमा फैलिन सक्ने नयाँ र पुरानो संक्रमणहरूसमेत समेटिएका छन् । पूर्वमा इबोला, जिका र निपा भाइरसलगायत पाँच प्रकारका फ्लू थिए । पछि वेस्ट नील भाइरस, एन्टिबायोटिक प्रतिरोध, दादुरा, एक्युट फ्लासिड मायलाइटिस, पित्त ज्वरो, डेंगु, प्लेग र ह्युमन मंकिपक्ससहित थपिए ।


प्रतिवेदनले सन् १९१८ को ‘स्पेनिस फ्लु’ महामारीबाट भएको क्षतिको चर्चा व्यापक रूपमा गरिएको छ । भनिएको छ, ‘अन्तर्राष्ट्रिय यात्रामा आधुनिकताले रोग तीव्र रूपमा फैलिन सहयोग गरेकै छ । दिनहुँ ठूलो संख्यामा मानिस विमानबाट विश्वका विभिन्न मुलुकमा ओहोरदोहर गर्छन, वायुजन्य रोग/संक्रमण अब विश्वभरि ३६ घण्टाभन्दा कम समयमै फैलिन सक्छ । यसले ५ करोडदेखि ८ करोड मानिसको ज्यान लिन सक्छ ।’ जीपीएमबीको रिपोर्टमा चेतावनी दिँदै भनिएको छ, ‘५ देखि ८ करोड मानिसको मृत्यु श्वासप्रश्वासबाट फैलिने र घातक महामारीको रूप लिन सक्ने कुरो एउटा वास्तविक खतरा हो । विश्वको अर्थव्यवस्थाको झन्डै पाँच प्रतिशतलाई हानि पुर्‍याउन सक्छ ।


यसले विश्वभरि महामारीको खतरनाक अवस्था आउने छ, जसबाट ठूलो जनधनको क्षति, अस्थिरता र असुरक्षा पनि पैदा गर्न सक्छ । तर विश्व यी समस्याबाट बच्नका लागि अझै तयारी गरेको देखिन्न ।’ विशेषज्ञहरूको टोलीले एउटा महामारीले धेरै मुलुकको स्वास्थ्य प्रणाली, खासगरी गरिब मुलुकलाई धराशायी बनाउन सक्ने बताएका छन् । विश्व बैंकका कार्यकारी प्रमुख अधिकारी र प्यानेलका सदस्य एक्सेल भान ट्रोट्सनवर्गले भने, ‘गरिब र संक्रामक रोग बढिरहेको मुलुकलाई सहयोग गर्दै समाधानको उपायतर्फ उन्मुख हुनुपर्ने बेला आइसकेको छ ।’ अन्तर्राष्ट्रिय समुदायले संक्रमण/महामारी नियन्त्रणभन्दा बाहिर जानबाट रोक्ने सुरक्षाका उपायहरूबारे प्रतिवेदनहरू तयार गर्दै अघि बढ्नुपर्ने उनले बताए ।


डब्लूएचओका महानिर्देशक ट्रेड्रोन एडनोम घेब्रेयेससले विश्वका सरकार प्रमुखलाई आग्रह गर्दै भनेका छन्, ‘विभिन्न समयमा मुलुकहरूमा फैलिएको वा फैलिने गरेको महामारी/प्रकोपले हामीलाई पाठ सिक्न सहयोग गरिरहेको छ । त्यसैले वर्षा हुनुभन्दा पहिले हामीले आफ्नो छतलाई मर्मत गर्न सक्नुपर्छ ।’ उनले यसका लागि चाहिने रकमको बन्दोबस्त सरकारहरूले गर्नुपर्ने बताए ।


विभिन्न समूह राष्ट्र ‘जी–७’, ‘जी–२०’ र ‘जी–७७’ मुलुकहरूले बाँकी विश्वले अनुसरण गर्न सक्ने खालको मोडेलको भूमिका निर्वाह गर्नुपर्ने उनले बताए । उनले भनेका छन्, ‘हामी सबै खराब दिनहरूबाट बच्नका लागि तयार हुनै पर्छ । मुलुकहरूले महामारीबाट बच्ने उपायका लागि बढी लगानी गर्नुपर्छ । संयुक्तराष्ट्र संघले अन्तर्राष्ट्रिय रूपमा थप प्रयास गर्नुपर्ने टड्कारो भइसकेको छ ।’ डब्लूएचओले यो वर्षको सुरुमा भनेको थियो, ‘फ्लुको एउटा अर्को

महामारी जुन वायुजन्य भाइरसका कारण हुन्छ, त्यसबाट बच्नका लागि मुलुक तयारी गर्नुपर्छ । ’


प्रकाशित : आश्विन २, २०७६ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?