१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

जनरल मोटर्सका हजारौं मजदुर हड्तालमा

एएफपी

डेट्रोएट — अमेरिकास्थित युनाइटेड अटो वर्कर्स युनियनले जनरल मोटर्स (जीएम) विरुद्ध सोमबार राष्ट्रव्यापी हड्ताल सुरु गरेको छ । मजदुरसँगको सम्झौताका विषयमा विवाद उत्पन्न भएपछि अमेरिकाभरका करिब ४६ हजार मजदुर हड्तालमा उत्रिएका हुन् ।

जनरल मोटर्सका हजारौं मजदुर हड्तालमा

वाल स्ट्रिट जर्नलका अनुसार एक दशकमा पहिलो पटकजीएमविरुद्ध देशव्यापी यति ठूलो हड्ताल भएको हो । जीएमसँग मजदुरहरूको चारवर्षे करार समाप्त भएको र नयाँ करार गर्न आनाकानी गरेपछि मजदुरहरू आन्दोलित भएका हुन् ।


डिट्रोइटमा आइतबार राति स्थानीय युनियन नेताहरूको बैठकले हड्तालमा जानैपर्ने निर्णय गरेको युनाइटेड अटो वर्कर्स युनियनले ट्वीटमार्फत् जानकारी दिएको थियो । ‘यो अन्तिम विकल्प हो,’ जीएमसँग युनियनका मुख्य वार्ताकार टेरी डिटेसले भने, ‘हामी देशका श्रमजीवी मजदुरका आधारभूत अधिकारका पक्षमा अडिग छौं ।’


यूएडब्लूका अधिकारीहरूले दुवै पक्षबीचको छलफल बिनानिष्कर्ष टंगिएको बताएका छन् । दुवै पक्षबीच ज्याला, स्वास्थ्य सेवा, अस्थायी कामदारको स्थिति र रोजगारीको सुरक्षाका विषयमा विमति रहेको थियो । ‘हाम्रा साथीहरूले आफ्ना माग राख्नुभयो, हामीले यस विषयलाई हल्का रूपमा लिने कुरै छैन,’ यूएडब्लूका राष्ट्रिय मध्यस्थता समितिका अध्यक्ष टेड क्रुमले बताए ।


हड्ताल सुरु भएको केही घण्टाअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै दुवै पक्षले सम्झौता गर्नुको विकल्प नभएको बताएका थिए । उनले ट्वीटरमा लेखेका थिए, ‘जनरल मोटर्स र युनाइटेड अटो वर्कर्सले मिलेर कुनै सम्झौतामा पुग्नुको विकल्प छैन ।’

वाल स्ट्रिट जर्नलका अनुसार जीएममा सन् २००७ मा पछिल्लो पटक हड्ताल भएको थियो । त्यसबखत देशभर रहेका ८९ भन्दा बढी कारखानाका करिब ७३ हजार मजदुरले दुई दिनसम्म काम बन्द गरेर हड्तालमा उत्रिएका थिए ।


जीएमले एक वक्तव्य प्रकाशन गरी यूएडब्लूले हड्तालमा उत्रिने निर्णय गर्नु दुर्भाग्यपूर्ण रहेको जनाएको छ । जीएमले मजदुरका लागि निकै आकर्षक प्रस्ताव अघि सारेको स्पष्ट गरेको छ । ‘हामीले असल मनसायका साथ वार्तामा सहभागी भएका थियौं । हाम्रो एक मात्र लक्ष्य हाम्रा कर्मचारी र हाम्रो व्यवसायको राम्रो भविष्य सुनिश्चित गर्नु हो ।’


फोर्ड र फिएट क्रिस्लरमा कार्यरत मजदुरले भने आफ्नो करार नवीकरण गर्न सहमति जनाइसकेका छन्, तर जीएमको व्यवस्थापनले शनिबार मजदुरको करार नवीकरण तत्काल नगर्ने जनाएको थियो ।


जीएमको बजार तुलनात्मक रूपमा निकै बलियो मानिन्छ । गत वर्ष कम्पनीले करिब ११ अर्ब ८० करोड अमेरिकी डलर सञ्चालन मुनाफा कमाएको थियो । तर अमेरिका र अरू मुलुकबीचको व्यापार तनावले जीएम पनि मन्दीको सिकार हुने अनुमान गरिएको छ । त्यही जोखिमका कारण कम्पनीले मजदुरको संख्यामा निरन्तर कटौती गरिरहेको छ ।


जीएमले गत नोभेम्बरमा उत्तर अमेरिकाका ५ वटा कार निर्माण कारखाना बन्द गर्ने घोषणा गरेको थियो जसमा अमेरिकाका मिसिगन र ओहायोका कारखाना पनि छन् ।

प्रकाशित : भाद्र ३१, २०७६ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?