कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'तालिबानसँगको सम्झौता रद्द’

एजेन्सी

वासिङटन/काबुल — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिबानसँगको शान्ति सम्झौता रद्द भएको घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले यसअअघि ट्वीट गर्दै अफगान राष्ट्रपति असरफ घानी र तालिबानका वरिष्ठ नेतासँग भेट्ने कार्यक्रम तय भएको जनाएका थिए तर उनले तालिबानले आक्रमणका गतिविधि नरोकेको भन्दै घानी र तालिबान नेतासँग हुने भनिएको बैठक रद्द गरिएको बताएका हुन् । 

'तालिबानसँगको सम्झौता रद्द’

ट्रम्पको घोषणासँगै १८ वर्षदेखि अफगानिस्तानमा जारी युद्ध अन्त्यको पहल जोखिममा परेको छ तर काबुलमा भएको पछिल्लो आक्रमणमा एकजना अमेरिकी सेनाको पनि ज्यान गएको तालिबान समूहले स्विकारेपछि उनले उक्त बैठक स्थगित गरेका हुन् ।

सन् २००१ को सेप्टेम्बर ११ मा आफ्नो देशमा आक्रमण गर्ने अल कायदालाई सुरक्षित स्थान दिएको भन्दै अमेरिकाले तालिबान सरकारविरुद्ध आक्रमण गरेको थियो ।

दोहोस्थित तालिबानको राजनीतिक कार्यालय स्रोतलाई उद्धृत गर्दै बीबीसीले ट्रम्पको पछिल्लो घोषणाबारे छलफल गर्न तालिबानको ‘जरुरी आन्तरिक बैठक’ बसेको जनाएको छ । यद्यपि, बैठकको निर्णयबारे केही जानकारी प्राप्त भइसकेको छैन ।

अफगान राष्ट्रपति कार्यालयले भने तालिबान र सरकारबीचको वार्ताले मात्र देशमा वास्तविक शान्ति स्थापना हुने उल्लेख गरेको छ तर तालिबानले अफगान सरकार अमेरिकाको कठपुतली भन्दै वार्ता अस्वीकार गर्दै आएको छ ।

यसअघि अमेरिकी वार्ताकार जाल्मे खलिलजादले तालिबानसँग शान्ति सम्झौता टुंगोमा पुगेको गतसाता घोषणा गरेका थिए । सम्झौताअनुसार अमेरिकाले २० साताभित्र ५ हजार ४ सय सैनिक अफगानिस्तानबाट फिर्ता लैजाने खलिलजादले बताएका थिए ।

यद्यपि, उनले निर्णय कार्यान्वयन हुनुअघि ट्रम्पले स्वीकृत गर्नुपर्ने बताएका थिए । अफगानिस्तानमा अहिले १४ हजार अमेरिकी सेना छन् । देशको सुरक्षा बजेट कटौतीका पक्षमा रहेका राष्ट्रपति ट्रम्पले पटकपटक अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गरिनुपर्ने बताउँदै आएका छन् ।

खलिलजादले ‘कतारको राजधानी दोहामा भएका ९ चरणका वार्तापछि निष्कर्षमा पुगिएको’ बताएका थिए । सैनिक फिर्ताको बदलामा तालिबानले अमेरिका र उसका साझेदारविरुद्ध आक्रमण गर्नेका लागि अफगानिस्तानलाई अखडा बन्न नदिने सुनिश्चित गरेको जनाइएको थियो । उनको भनाइलाई तालिबान प्रवक्ताले समेत पुष्टि गरेका थिए ।

तर बिहीबार तालिबानले गरेको एक कार बम आक्रमणपछि स्थिति उल्टेको छ । तालिबानले जिम्मेवारी लिएको आक्रमणमा एक अमेरिकी सेनासहित १२ को ज्यान गएकाले आफू वार्ताबाट पछि हट्न बाध्य भएको ट्रम्पले बताए । उत्तर एटलान्टिक सन्धि संगठन नेटोअन्तर्गत खटिएका एक रोमानियाका सैनिक पनि उक्त आक्रमणमा मारिएका थिए ।

पछिल्लो हमलासँगै तालिबानसँग अमेरिकाले गर्ने वार्ताले अफगानिस्तानमा दैनिक हुने हिंसा र सर्वसाधारणको हताहती अन्त्य नहुने देखिएको छ । सन् २००१ मा अमेरिकी आक्रमणपछि अहिले तालिबानले सबैभन्दा धेरै क्षेत्र नियन्त्रणमा लिएका छन् । हाल अफगानिस्तानको करिब ७० प्रतिशत भूभागमा तालिबान क्रियाशील छन् । तालिबानले सन् १९९६ देखि २००१ सम्मको आफ्नो शासनका बेला महिलाहरूमाथि निर्मम व्यवहार गर्नुका साथै धर्मसम्बन्धी कानुन कडा पारेको थियो ।

सन् २००१ को अमेरिकी हस्तक्षेपछि अफगानिस्तानमा गठबन्धन राष्ट्रका करिब ३ हजार ५ सय सुरक्षाकर्मीको ज्यान गइसकेको छ । त्यसमध्ये २ हजार ३ सयभन्दा बढी अमेरिकी छन् । सर्वसाधारण, लडाकु र सरकारी फौजको मृत्युको भने एकिन तथ्यांक छैन । सन् २०१९ को फेब्रुअरीमा सार्वजनिक एक प्रतिवेदनअनुसार युद्धका कारण ३२ हजार सर्वसाधारणले ज्यान गुमाइसकेका छन् । ब्राउन विश्वविद्यालयस्थित वाट्सन इन्स्टिच्युटका अुनसार ५८ हजार सुरक्षाकर्मी तथा ४२ विद्रोही युद्धका क्रममा मारिएका छन् ।

प्रकाशित : भाद्र २३, २०७६ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?