कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्ट्रेलियामा दुई राज्यका दर्जनाैं स्थानमा आगलागी, आगो नियन्त्रण बाहिर

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियाका दुई राज्यका दुर्गम क्षेत्रहरु आगलागीको चपेटामा परेका छन् । केही दिनदेखि क्यून्सल्याण्ड तथा न्यू साउथ वेल्सका केही क्षेत्रहरुका दर्जनाैं स्थानमा लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन् ।

अस्ट्रेलियामा दुई राज्यका दर्जनाैं स्थानमा आगलागी, आगो नियन्त्रण बाहिर

करिब ३ दिनदेखि आगलागीका कारण अहिलेसम्म करिब डेढ दर्जन घर जलेर नष्ट भइसकेका छन भने दर्जनौं स्थानीयवासी घरविहीन बनेका छन् । न्यू साउथ वेल्स र क्यून्सल्याण्डका विभिन्न क्षेत्रहरुका अहिले पनि १ सय बढी स्थानमा आगलागी भइरहेको र तीमध्ये करिब ३ दर्जन स्थानमा आगो नियन्त्रणबाहिर रहेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।


न्यू साउथ वेल्सका ६० स्थानमा आगलागी भइरहेको छ भने क्यून्सल्याण्डका विभिन्न क्षेत्रहरुमा पनि सोही संख्यामा आगलागी भइरहेको छ ।

अस्ट्रेलियाका प्रायः सबै राज्यहरु हरेक वर्ष जंगलमा हुने आगलागीको चपेटामा पर्ने गरेका छन् । यसवर्ष गर्मी समयमा आगलागी सुरु भएकाले यो क्रम अझ बढ्नसक्ने संकेत गरेको न्यू साउथ वेल्सको रुरल फायर सर्भिसले जनाएको छ ।


अहिले क्यून्सल्याण्डको बिन्ना बुरा क्षेत्र सबैभन्दा बढी पीडित भएको क्यून्सल्याण्डको आगलागी नियन्त्रण केन्द्रले जनाएको छ । उक्त स्थानमा करिब एक सय वर्ष अघिदेखि धरोहरस्थलका रुपमा रहेको ऐतिहासिक बिन्ना बुरा लजसमेत आगलागीले क्षतिग्रस्त भएको छ ।


कतिपय स्थानका स्थानीयलाई सरकारले आगलागीका कारण क्षति हुनसक्ने भन्दै आफ्नो क्षेत्र खाली गर्न आदेश दिएको छ भने केहीलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ । आगलागीका कारण सोमबार उक्त क्षेत्रका दर्जनौ विद्यालयहरु बन्द गरिने भएको छ ।


न्यू साउथ वेल्सको बिज नेस्टमा ५६ हजार बढी हेक्टर जमिन आगलागीको चपेटामा परेको छ भने लङ्ग गल्ली रोडमा २२ हजारबढी जमिन आगलागीमा परेको छ । न्यू साउथ वेल्सका फायर तथा रेस्क्यु कमिस्नर पउल ब्याक्स्टरले लगातार चलिरहेको हावा नै मुख्य चिन्ताको विषय भएको बताएका छन् ।


क्यून्सल्याण्डको आगलागी नियन्त्रण केन्द्रले अहिले भइरहेको आगलागी पूर्णत नियन्त्रणमा आउन अझै केहीदिन लाग्नसक्ने जनाएको समाचारहरुमा उल्लेख गरिएको छ ।


सर्वसाधारणहरुको सम्पत्तिलाई विमा गराउने संस्था इन्सुरेन्स काउन्सिलले पनि अहिले भएको आगलागीलाई विनाशकारी संज्ञा दिँदै आगलागीमा परेर घर तथा सम्पत्ति नष्ट भएकाहरुलाई प्राथमिकता दिइने जनाएको छ ।

प्रकाशित : भाद्र २२, २०७६ १३:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?