कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

रेल सञ्जाल बढाउँदै बेलायत

पछिल्लो समय मेट्रो र मोनोरेल सपना देखेको नेपालले विश्वमै पहिलोपटक रेल सञ्चालनमा ल्याउने बेलायतबाट धेरै सिक्न सक्छ
नवीन पोखरेल

लन्डन — संसारमै पहिलोपटक रेल यातायात सुरु गरेको बेलायतमा हाल ११ भूमिगत रेल लाइन छन् । जसमा दैनिक करिब ५० लाख मानिसले यात्र गर्छन् । तर यात्रुको बढ्दो चापसँगै लन्डनमा रेल सञ्जाल विस्तार कार्य धमाधम भइरहेको छ । 

रेल सञ्जाल बढाउँदै बेलायत

११७ किमि दूरीको ‘क्रस रेल’ का लागि सेन्ट्रल लन्डनमा हाल २१ किमि लामो भूमिगत सुरुङ मार्ग (ट्वीन टनेल) निर्माण भइरहेको छ । क्रस रेलले पश्चिममा पेडिङटन र पूर्वमा स्ट्राटफोर्ड र क्यानरी वार्फ जोड्ने छ ।

क्रस रेल लाइन (एलिजावेथ लाइन पनि भनिन्छ) ले वर्षमा दुई सय मिलियन यात्रु ओसारपसार गर्ने अनुमान छ । यो लाइन बनेपछि अन्य लाइनमा भइरहेको यात्रुको चाप घट्ने अपेक्षा छ । क्रस रेल सञ्चालनपछि लन्डनको अर्थतन्त्रमा ४२ बिलियन पाउन्डको आर्थिक क्रियाकलाप बढाइदिने जानकारहरूको भनाइ छ ।

बेलायतस्थित ‘द स्टकटन एन्ड डार्लिङटन रेलवे’ कम्पनीले पहिलोपटक सन् १८२५ को सेप्टेम्बर २७ मा रेलसेवा सुरु गरेको हो । विश्वकै पहिलो भूमिगत रेल सेवा भने लन्डनमा सन् १८६३ को जनवरीबाट सञ्चालनमा आएको हो ।

‘ट्रान्सपोर्ट फर लन्डन’ का अनुसार व्यस्त समयमा करिब ५५० रेल लन्डनको जमिनमुनि हुइँकिरहेका हुन्छन् । लन्डन अन्डरग्राउन्डले ४०२ किमि भूभाग कभर गरेको छ भने सहरका विभिन्न स्थानमा रहेका २ सय ७० स्टेसनबाट यात्रुहरू चढ्ने र उत्रने गर्छन् ।

रोजगारी

बेलायतको रेल उद्योगले हाल १ लाख १५ हजारलाई रोजगारी दिएको छ । यसको सप्लाई चेनमार्फत थप २ लाख ५० हजारले रोजगारी पाएका जनाइएको छ । १६ हजार ५०० किलोमिटर ट्र्याक रहेको बेलायतको रेल सेवाले वार्षिक करिब पौने दुई अर्ब यात्रु बोक्ने गर्दछ ।

औद्योगिक क्रान्तिको सफलताको मुख्य खुड्किलोको मानिने बेलायतको रेल सेवाले वार्षिक ११० मिलियन टन कार्गो बोक्ने गरेको तथ्यांक उपलब्ध छ । युरोपको सबैभन्दा सुरक्षित ठानिएको लन्डन अन्डरग्राउन्डमा आगामी वर्षदेखि भूमिगत केही भागमा ‘४–जी’

मोबाइल सेवा पनि उपलब्ध गराउने तयारी गरिरहेको छ ।

नेपालका लागि उदाहरण

केपी ओली नेतृत्वको नेपाल सरकारले रेल सञ्चालनलाई प्राथमिकता राखेको बताउँदै अध्ययन, अनुसन्धान भइरहेको बताउँदै आएको छ । तर प्रगति हेर्दा भने रेल गुड्न लामै प्रतीक्षा गर्नुपर्ने निश्चित छ । पछिल्लो समय मेट्रो र मोनोरेल सपना देखेको नेपालले पनि विश्वमै पहिलो पटक रेल सञ्चालनमा ल्याउने बेलायतबाट धेरै सिक्न सक्छ ।

काठमाडौं उपत्यकाभर २ सय किमि लामो दूरीको लामो मेट्रो रेल नेटवर्कको विकास आवश्यक रहेको बताउँछन् लन्डनमा परामर्शदाताका रूपमा कार्यरत इन्जिनियर डा. विनोदलाल अमात्य । काठमाडौं उपत्यकामा पाटन लाइन र काठमाडौं लाइनलाई प्राथमिकताका साथ अगाढि बढाउनुपर्ने उनले सुझाए ।

पाटन लाइन करिब २५ किमि लामो हुने र यसले बाँसबारी, भृकुटीमण्डप, सातदोबाटो हुँदै दक्षिणमा चापागाउँ, गोदावरी र उत्तरमा बूढानीलकण्ठ जोड्ने छ । सहरको भित्री भाग हुँदै जाने भएकाले यो लाइनमा करिब १२ किमि सुरुङमार्ग आवश्यक देखिन्छ ।

त्यस्तै, काठमाडौं लाइन झन्डै ५५ किमि लामो हुने छ र यसले कलंकी, भृकुटीमण्डप, कोटेश्वर, बौद्ध हुँदै पूर्वमा बनेपा र साँखु र पश्चिममा थानकोट जोड्ने छ ।

यो लाइनमा पनि सहरको भित्री भागमा करिब १७ किमि लामो सुरुङमार्ग आवश्यक देखिन्छ । यी दुई लाइनको सुरुङमार्गको प्रकार, गहिराइ, यसले हाम्रा सहरी संरचनामा पार्ने प्रभाव र लागतबारे इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका विद्यार्थीले हाल गरिरहेका छन् ।

काठमाडौं उपत्यकाको जमिन कमसल छ, भूमिगत पानीको मात्रा बढी छ, भूकम्प आइरहन्छ, यस्तो ठाउँमा सुरुङमार्ग सुरक्षित हुँदैन भन्ने सर्वसाधारणको धारणा छ । तर, यस्तो धारणा गलत हो र यस्तो जमिन र भौगोलिक संरचनामा पनि भूमिगत रेल सेवा सुरक्षित किसिमले विकास गर्न सकिन्छ भन्ने कुरा बेलायतको वारविक युनिभर्सिटीले सन् २०१८ मा गरेको अध्ययनले देखाएको छ ।

जीर्ण सडक, ट्राफिक जाम, दुर्घटना, वायु प्रदूषण आदिले काठमाडौं अहिले बस्नै नहुने सहरमा परिणत भइरहेको छ । मेट्रो विकासले अव्यवस्थित उपत्यकाको मुहार परिवर्तन गर्न सकिने, सार्वजनिक यातायातमा भरपर्दो व्यवस्था, हजारौं रोजगारी सृजना, वातावरणीय तथा सामाजिक गुणस्तर वृद्धि, धुवाँ प्रदूषण न्यून (ग्रिन मोबिलिटी), पेट्रोल डिजेल प्रयोग कम, विद्युतीय रेल चलेपछि ट्राफिक व्यवस्थापन र पब्लिक हेल्थमा हुने करोडौं खर्च जोगिने विज्ञहरू बताउँछन् । काठमाडौं उपत्यकामा ट्राफिक जाम भएर वर्षमा एक सय ५० मिलियन अमेरिकी डलर घाटा भइरहेको एक अध्ययनले देखाएको थियो ।

‘मेट्रो बनाउनु खर्च होइन, यो लगानी हो,’ डा. अमात्य भन्छन्, ‘यो हाम्रो पुस्ताका लागि मात्र होइन, भावी सन्ततिका लागि पनि हो । काठमाडौं उपत्यकामा १८ नगरपालिका छन् । ती नगरपालिकालाई मेट्रोले जोड्नेबित्तिकै आर्थिक क्रियाकलाप बढाउन सकिने अमात्यको विश्वास छ ।

प्रकाशित : भाद्र २१, २०७६ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?