कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हङकङमा सुपुर्दगी विधेयक फिर्ता हुन्छ : लाम

एजेन्सीहरू

हङकङ — हङकङकी कार्यकारी प्रमुख क्यारी लामले बुधबार विवादास्पद सुपुर्दगीसम्बन्धी विधेयक फिर्ता लिने बताएकी छन् । बीबीसीका अनुसार लामले एउटा भिडियो सम्बोधनमार्फत् तीन महिनासम्म जारी प्रदर्शनपछि विधेयक पूर्णरूपमा फिर्ता लिने बताएकी हुन् । 

हङकङमा सुपुर्दगी विधेयक फिर्ता हुन्छ : लाम

अप्रिलमा ल्याइएको प्रस्तावित विधेयकमा संदिग्ध अपराधीलाई मुख्य भूमि चीनमा सुपुर्दगीका लागि अनुमति प्रदान गर्ने व्यवस्था गरिएको थियो । लामले आफ्नो सम्बोधनमा भनेकी छन्, ‘हामीले समाजमा रहेका असन्तोषलाई समाप्त पार्ने उपायहरूको खोजी गर्नुपर्छ, समस्याको समाधानतर्फ अग्रहर हुनुपर्छ ।’


लामले जूनमा विधेयकलाई ‘मृत्त’ भनेकी थिइन् । त्यसपछि विधेयक स्थगित गरिएको थियो । तर फिर्ता हुनबाट रोकिएको

थियो । लामले विधेयक कुनै पनि हालतमा फिर्ता नहुने बताउँदै आएकी थिइन् । कार्यकारी प्रमुखको अडानपछि हङकङमा व्यापक प्रदर्शनकारी सुरु भयो ।


प्रदर्शनकारीले पाँच मागमध्ये विधेयक पूर्णरूपमा फिर्ता हुनुपर्ने प्रमुख माग अघि सारेका थिए । उनीहरूले पूर्ण लोकतान्त्रिक अधिकारको मागसमेत गरेका थिए ।


पछिल्ला प्रदर्शनमा लामको राजीनामा तथा प्रहरी दमनको स्वतन्त्र छानबिन मागसमेत गरिएका छ । विरोध प्रदर्शन चर्कंदै गएपछि चीनले प्रदर्शनकारीलाई लक्षित गरी कडा चेतावनी जारी गरेको थियो ।


सन् १९९७ मा स्वतन्त्र हुनुअघि बेलायतको उपनिवेश हङकङलाई चीनले आफ्नो ‘विशेष प्रशासकीय क्षेत्र’ बताउने गर्छ । त्यसयता हङकङलाई ‘एक देश, दुई व्यवस्था’ अन्तर्गत शासन गर्दै आएको चीनले सीमावर्ती क्षेत्र सेन्जेनमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ

गरेको छ ।


प्रदर्शनको नेतृत्व गरेका संघसंस्था तथा मानवअधिकारवादी समूहहरूलाई सहरी क्षेत्रमा ‍र्‍याली आयोजना गर्न भने रोक लगाइएको थियो । ‘सिभिल राइट्स ह्युमन फ्रन्ट’ का अनुसार भिक्टोरिया पार्कमा प्रदर्शनका लागि अनुमति दिइएको थियो ।


विरोध प्रदर्शन क्रममा प्रहरीसँग भिडन्त भएपछि उनीहरूले हङकङ अन्तर्रार्िष्ट्रय विमानस्थल ठप्प पनि पारेका थिए । प्रदर्शनकारीको भीडका कारण अस्तव्यस्त भएपछि विमानस्थल प्रशासनले सबै उडान रद्दको घोषणा गर्दै यात्रुलाई आवतजावत नगर्न सूचना जारी गर्नुपरेको थियो । चीन तथा अमेरिकालगायत देशले हङकङमा जारी प्रदर्शनप्रति चासो व्यक्त गर्दै चीनलाई शान्तिपूर्ण रूपमा समस्या समाधान गर्न आग्रह गरिसकेका छन् ।


चीनले हङकङमा भएका सरकारविरोधी प्रदर्शनलाई ‘भयावह घटना’ को संज्ञा दिँदै यसका लागि ‘कट्टरपन्थी तत्त्वहरू जिम्मेवार’ रहेको समेत दाबी गरेको थियो । चीनस्थित हङकङ तथा मकाउ मामिला कार्यालय (एचकेएमएओ) प्रवक्ता याङ गुआङले

विज्ञप्तिमार्फत् हङकङको प्रदर्शनले ‘कानुनी शासनमाथि नै गम्भीर असर पु‍र्‍याएको’ दाबी गरेका थिए ।


विरोध प्रदर्शनको प्रमुख कारण अपराध तथा बलात्कार आरोपीलाई मुख्यभूमि चीनमा सुपुर्दगी गर्ने प्रावधानसहितको विधेयक ल्याएपछि हङकङमा प्रदर्शन चर्केको हो । स्वतन्त्रताविरोधी चिनियाँ न्याय प्रणालीले हङकङका जनता पीडित हुने दाबी प्रदर्शनकारीले गर्दै आएका छ ।


विधेयकले हङकङको स्वतन्त्रतालाई अवमूल्यन गर्ने र राजनीतिक कार्यकर्ता निसानामा पर्न सक्ने भन्दै प्रदर्शनकारीहरू ठूलो संख्यामा सडकमा उत्रेका थिए । हङकङका अधिकारीले भने सुपुर्दगीसम्बन्धी अन्तिम निर्णय घटनाको प्रकृतिमा भर पर्ने भएकाले विधेयकको विरोध गर्नु उचित नहुने प्रतिक्रिया दिँदै आएका थिए ।

प्रकाशित : भाद्र १९, २०७६ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?