कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डोरियन आँधीले ५ को मृत्यु

एएफपी

फ्लोरिडा — अमेरिकाको बहमास द्वीपलाई केन्द्रबिन्दुमा पारेर आएको डोरियन आँधीका कारण ५ को मृत्यु भएको छ । समुद्रको छाल र भीषण वर्षाका कारण बहमासको जनजीवन अस्तव्यस्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

डोरियन आँधीले ५ को मृत्यु

बहमासका प्रधानमन्त्री हुबेर्ट मिनिसले सोमबार बहमास द्वीपका जनताका लागि डोरियन ‘इतिहासकै दुःखान्त’ भएको बताएका थिए । बहमास द्वीपबाट सोमबार र मंलबार उद्धार गरिएका हजारौं स्थानीय अमेरिकी पूर्वी तटीय इलाकामा आइपुगेका छन् ।


बहमासमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री मिनिसले भने, रोयल बहमास प्रहरीले अबाकोमा उद्धारका क्रममा ५ जनाको शव भेटेको छ ।’ मौसमविद्हरूले आइतबार डोरियन आँधी पाँचौं श्रेणी (क्याटेगोरी–५) को भएको बताएका थिए । राष्ट्रिय आँधीसम्बन्धी केन्द्र (एनएचसी) का अनुसार मंगलबारका डोरियन केही मत्थर भएर तेस्रो श्रेणीमा पुगेको बताएको छ ।


ग्रान्ड बहमा निवासी एक महिला केन्ड्रा विलियम्सले भनेकी छन्, ‘यहाँ जताततै पानी छ । हामी घरको छतमा छौं । कसैले हामीलाई उद्धार गर्न सक्ला ? कृपया सहयोग गर्नु है । म, मेरा छोरा र छ जना नातिनातिना सबै छतमा छौं ।’


मौसदव्दिका अनुसार आँधीले अमेरिकाको फ्लोरिडामा पनि असर पुर्‍याएको छ । मियामीस्थित एनएचसीका अनुसार फ्लोरिडामा डोरियनले टोर्नाडो (भीषण आँधी) ल्याउने सक्ने चेतावनी दिएको छ ।


अमेरिकाको फ्लोरिडामा १२१ अस्थायी शिविरमा ९ हजार ५ सयभन्दा बढी आँधीपीडितले शरण लिएका छन् । दुई बालबच्चा र आमासहित शिविर पुगेकी ३० वर्षीया स्टेफानी पासिक्सले भनिन्, ‘म हिजो यहाँ आइपुगें । मेरो बुबा घरमै हुनुहुन्छ, तर हामी भाग्यौं । उहाँलाई शिविरमा बस्न मन नलाग्ने भएकाले बिरालो हेरेर घरमै बसिरहनुभएको छ,’ पासिक्सले भनिन् ।


मौसम पूर्वानुमान विभागका अनुसार आँधीले अमेरिकी पूर्वी तटीय राज्यहरू फ्लोरिडा, जर्जिया तथा उत्तर र दक्षिण क्यारोलिनामा प्रभाव पार्ने छ । आँधीका कारण करिब १० लाख मानिस प्रत्यक्ष रूपमा प्रभावित हुने अनुमान गरिएको छ ।

प्रकाशित : भाद्र १८, २०७६ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?