कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेइजिङमा एक महिनापछि सीपीसीको बैठक

काठमाडौँ — एक महिनापछि चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) १९औं केन्द्रीय समितिको चौथो पूर्ण बैठक बस्ने भएको छ । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको बेइजिङमा बसेको बैठकले अक्टुबरमा उक्त बैठक गर्ने निर्णय गरेको हो । मुलुकको भावी नीति तथा कार्यक्रम तय गर्नु नै यस बैठकको मुख्य एजेण्डा हुनेछ ।

बेइजिङमा एक महिनापछि सीपीसीको बैठक

चौथो पूर्ण बैठकमा सीपीसीले पोलिटिकल ब्यूरोले कार्य प्रतिवेदनमाथि छलफल गर्नुका साथै चासोका महत्वपूर्ण मुद्दामाथि समीक्षा गर्ने बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ । त्यस्तै बैठकले चिनियाँ विशेषतायुक्त समाजवाद प्रणाली तथा शासन प्रणाली क्षमताको आधुनिकीकरण लगायत विषयमा अध्ययन तथा समीक्षा गर्ने चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।


चिनियाँ कम्युनिष्ट पार्टी महासचिव सी चिनफिङको अध्यक्षतामा शुक्रबार बसेको बैठकले स्थापनायता चिनियाँ कम्युनिष्ट पार्टीले एकीकृत भएर नेतृत्व गरेको निष्कर्ष निकाल्दै मार्क्सवादको सिद्धान्तलाई चिनियाँ विशेषतायुक्त विशिष्ट परिस्थितिमा सम्मिलन गर्नुपर्नेमा जोड दिएको छ। चिनियाँ क्रान्तिले विजय हासिल गरेका कारण स्वदेश तथा विदेशबाट प्राप्त भएका सकारात्मक तथा नकारात्मक अनुभवको सारांश गरिएको छ साथै समाजवादी व्यवस्थामा सुधार, पार्टी नेतृत्व तथा आर्थिक, राजनीतिक, सांस्कृतिक, सामाजिक, सैन्य र विदेश मामिला लगायत पहलको सुदृढीकरणमा पनि बैठकमा जोड दिइएको छ।


बैठकले जनगणतन्त्र चीन स्थापनाको ७० वर्षयता आर्थिक विकास तथा राजनीतिक स्थिरतामा चमत्कार पैदा गर्नु दुनियाँका लागि दुर्लभ भएको ठहर गरेको छ । चिनियाँ विशेषताको समाजवादी प्रणाली तथा राष्ट्रिय शासन प्रणाली चीनमा निहीत रहेको व्याख्या गर्दै चीनले आफ्नो खुट्टामा उभिएर गरिबी विरूद्ध छलाङ मारेको जनाएको छ। ‘चिनियाँ विशेषतायुक्त राजनीतिक प्रणालीले अब गहिरो जरा गाडेको छ र यसलाई जनसमर्थन पनि प्राप्त भएको छ’ बैठकले निचोड निकालेको छ ।


यस वर्ष नयाँ चीन स्थापनाको ७० वर्ष हुनुका साथै चीनले अघि सारेको दुई वटा शताब्दी लक्ष्य प्राप्तिको गन्तव्य वर्ष पनि हो । विगत एक शताब्दीमा विश्वमा विशाल परिवर्तन भएसँगै चीन पनि कायापलट गर्ने महत्वपूर्ण अवधिमा पदार्पण गरेको छ । सी चिनफिङ विचारधारालाई नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादको कार्यान्वयनको मार्गदर्शनका रूपमा लिनुपर्नेमा पनि बैठकले मतैक्यता जनाएको छ। पार्टीको १८औं कांग्रेसपछि शासन प्रणालीमा व्यवहारिक उपलब्धि हासिल गरेको पनि बैठकको सार भएको चिनियाँ संस्करणको सिन्ह्वानेटले लेखेको छ।

प्रकाशित : भाद्र १४, २०७६ १३:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?