कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२२७ जना बालबालिकाको सामूहिक चिहान भेटियो

एएफपी

लिमा — दक्षिण अमेरिकी राष्ट्र पेरुका पुरातत्वविदहरुले २ सय २७ जना बालबालिकाको सामूहिक चिहान फेला पारेको जनाएका छन् । कोलम्बियाली चिमु संस्कृतिभन्दा धेरै अघिको अनुमान गरिएको यो चिहान आजसम्म फेला पारिएकोमा सबैभन्दा ठूलो हो।राजधानी लिमाभन्दा उत्तरतर्फको तटीय सहर हुआनचाकोमा गरिएको उत्खननका क्रममा यो सामूहिक चिहान भेटिएको हो ।

२२७ जना बालबालिकाको सामूहिक चिहान भेटियो

पुरातत्वविदहरुले यो स्थानमा गत वर्षदेखि उत्खननको काम सुरु गरेका थिए । हुआनचाकोमा प्रागऐतिहासिक कालका अनौठा चालचलनका भग्नावशेष पाइन्छन् ।


यो स्थानमा बालबालिकाको बली दिने पुरानो चलन रहेको किंवदन्तीमा पढ्न पाइन्छ । “यो ठाउँमा बली चढाइएका बालबालिकाको अहिलेसम्मकै सबैभन्दा ठूलो सामूहिक चिहान भेटिएको हो,” प्रमुख पुरातत्वविद फारेन क्यास्टिल्लोले बताए ।


क्यास्टिल्लोले चारदेखि १४ वर्ष उमेरका यी बालबालिकालाई चिमु संस्कृतिका देवता खुसी पार्न बली चढाइएको बताए । उनले अझै पनि यस्ता चिहान भेटिन सक्ने बताए । “यो हृदयविदारक छ, बालबालिकामाथि यतिसम्मको अन्याय । जहाँ खन्यो, त्यहाँ बच्चाका अवशेष पाइन्छ,” क्यास्टिल्लोले भने ।


यी बच्चाका शरीर सबैजसो समुद्रतर्फ फर्किएको अवस्थामा भेटिएका छन् । कतिपयको त अझै पनि छाला र कपाल भेटिएको छ । हुआनचाकोमा चिमु सांस्कृतिक कालमा धेरै बालबालिकालाई बली चढाइएको थियो । यो कालखण्ड सन् १२०० देखि १४०० रहेको थियो ।


पुरातत्वविदहरुले पहिलो बच्चाको अवशेष पाम्पा ला क्रुज सहरमा सन् २०१८ मा भेटेका थिए । पाम्पा ला क्रुज हुआनचाकिटोबाट नजिकमा पर्दछ । हुआनचाकिटोमा पनि अप्रिल २०१८ मा बली चढाइएका १४० जना बालबालिकाको अवशेष फेला परेको थियो । चिमु सभ्यता पेरुको तटीय इलाकादेखि इक्वेडरसम्म फैलिएको थियो, तर इन्काहरुले परास्त गरेपछि चिमु सभ्यता सन् १४७५ मा पतन भएको थियो ।

प्रकाशित : भाद्र ११, २०७६ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?