जापान र अमेरिकाबीच व्यापार सम्झौतामा सहमति

एएफपी

टोकियो — जापान र अमेरिकाबीच व्यापार सम्झौतामा सहमति भएको छ । विश्वका प्रमुख औद्योगिक राष्ट्रहरुको समूह (जी ७) को बैठकमा दुवै मुलुकका नेताबीच फ्रान्समा वार्ता हुनुअघि नै यस्तो सहमति भएको समाचार सार्वजनिक भएको छ ।

अमेरिकासँगको व्यापार वार्ताको जिम्मेवारी सम्हालेका जापानका अर्थमन्त्री तोशिमिचु मोटेगीले संवाददाताहरुसँग वासिंगटनमा शनिबार संक्षिप्त प्रतिक्रिया दिँदै भने, “वार्तामा ठूलो प्रगति भएको छ ।” मन्त्री मोटेगीको जापानी प्रतिनिधिमण्डल र अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटिजरबीच तीन दिन व्यापार वार्ता भएको थियो ।

“वार्तामा भएका प्रगतिका बारेमा जापान–अमेरिका सम्मेलनमा सार्वजनिक गरिनेछ,” मोटेगीले भने । उक्त सम्मेलन फ्रान्समा आयोजना हुने जी७ को बैठककै अवसरमा फ्रान्समा हुँदैछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सिन्जो आबेबीच निकै सुमधुर सम्बन्ध रहेको छ तर राष्ट्रपति ट्रम्पले जापानमाथि द्विपक्षीय व्यापारमा अमेरिकाबाट अनपेक्षित लाभ पाइरहेको आरोप लगाउँदै आएका छन् । उनले दुवै मुलुकबीचको व्यापारिक सम्बन्धलाई बढी समावेशी बनाउनुपर्नेमा जोड दिइरहेका छन् ।

लाइटिजर र मोटेगी दुवैबीच जापानले अमेरिकी कृषिजन्य वस्तुमाथि लाग्दै आएको करलाई ट्रान्स–प्यासिफिक पार्टनरसिप (टिपीपी) सम्झौता बमोजिम अरु देश सरह बनाउन सहमति भएको छ । साथै जापानले अमेरिकाबाट आयात हुने मासुजन्य वस्तुको कर घटाउने तथा दुधजन्य वस्तुमा लागिआएको कोटा नराख्ने सहमति भएको जापानी प्रसारण संस्था एनएचकेले जनाएको छ ।

जापानले यसअघि टिपीपी सम्झौता बमोजिम कृषिजन्य वस्तुका सन्दर्भमा अरु मुलुक सरहको व्यवहार गर्ने वचन दिँदै आएको छ ।

पछिल्लो सहमतिमा अमेरिकाले जापानी औद्योगिक वस्तुमाथि अतिरिक्त कर नलगाउने जनाएको छ । तर जापानलाई टाउको दुखाई भएको जापानी सवारी साधनमाथि लाग्ने अमेरिकी करहरुका बारेमा भने अहिल्यै कुनै सहमति भएको छैन ।

तर दुवै मुलुकबीच अन्तिम सम्झौता अगामी सेप्टेम्बर महिनाको अन्त्यसम्ममा हुने जापानी अखबारहरुले जनाएका छन् ।

प्रकाशित : भाद्र ८, २०७६ १४:२९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

चीन-अमेरिका व्यापार युद्ध : चिनियाँको अठोटलाई हल्का रूपमा नलिन चेतावनी

लक्ष्मी लम्साल

बेइजिङ — चीनले अमेरिकाको भन्सार कर वृद्धि विरूद्धको कदम चाले लगत्तै अमेरिकाले पनि पुनः भन्सार कर थप्ने अर्को घोषणा गरेको छ। शुक्रबार चीनले ७५ अर्ब अमेरिकी डलर बराबरको अमेरिकी सामानको आयातमा नयाँ कर वृद्धि गर्दै गत मे १० र अगष्ट १५ को अमेरिकी घोषणाको बदला लिने निर्णय गरेको थियो।

चीनको घोषणा लगत्तै अमेरिकाले पनि शनिबार लगभग ५ खर्ब ५० अर्ब अमेरिकी डलरका चिनियाँ सामानका लागि भन्सार कर थप्ने घोषणा गरेपछि चीन झन् चिढिएको छ।

चिनियाँ वाणिज्य मन्त्रालयले परिस्थितिको गलत फैसला नगर्न र चिनियाँ जनताको अठोटलाई हल्का रूपमा नलिन चेतावनी दिएको छ। आफ्ना गलत गतिविधि तुरून्तै रोक्न ताकिता गर्दै चीनले अमेरिकाको एकपक्षीय बदमासीले व्यापारिक संरक्षणवादलाई प्रोत्साहन गर्नुका साथै चीन र अमेरिकाका शीर्ष नेतृत्वबीचको सहमति उल्लंघन गर्दै आपसी सम्मान, समानता तथा हितको सिद्धान्त पनि तोडेको टिप्पणी गरेको छ।

‘अमेरिकाको प्रतिशोधको भावनाले बहुपक्षीय व्यापारिक प्रणाली र सामान्य अन्तर्राष्ट्रिय व्यापार व्यवस्थामा समेत गम्भीर असर पार्ने भएकाले उप्रान्त उत्पन्न हुने कुनै पनि नकारात्मक नतिजाको जिम्मेवारी अमेरिकाले वहन गर्नुपर्छ,’ चीनले भनेको छ।

गत वर्षको डिसेम्बर १४ मा चीन र अमेरिकी शीर्ष नेताबीच अर्जेन्टिनामा भएको भेटवार्तामा जनवरीदेखि तीन महिनासम्म वृद्धि भन्सार कर नअसुल्ने र वार्ता गर्ने सहमति भएको थियो। तर वार्ता परिणामुखी नभएसँगै अमेरिकाले मे १० मा २ खर्ब डलरको चिनियाँ सामानमा २५ प्रतिशतसम्म र अगष्ट १५ मा फेरि ३ खर्ब डलरका चिनियाँ सामानमा १० प्रतिशत भन्सार कर थप्ने घोषणा गरेको थियो। चीनले पनि अमेरिकाको घोषणाको प्रतिकार गर्न उसैगरी सेप्टेम्बर १ र डिसेम्बर १५ देखि लागू हुने गरी शुक्रबार मात्रै नयाँ कर वृद्धि योजना प्रस्तुत गरेको थियो।

यसैबीच अमेरिकासँग डिजिटल करको संघर्षबाट व्यापारिक तनाव झेलिरहेको फ्रान्सले पनि व्यापारिक युद्ध परित्याग गर्न अपील गरेको छ। क्यानडा, जर्मनी, अमेरिका, बेलायत, इटाली, जापान र फ्रान्स सम्मिलित सात आर्थिक समूह जी-७ को बैठकमा राष्ट्रपति इम्यानुअल म्याक्रोनले ती देशका नेतागणमाझ भने, ‘तनावपूर्ण व्यापारिक परिस्थिति विश्वका लागि फाइदाजनक छैन।’ आपसी प्रयासमा व्यापारिक संघर्ष अन्त्य गर्दै विश्व अर्थतन्त्रको पुनरूत्थानमा लाग्नुपर्ने उनको सुझाव थियो।

प्रकाशित : भाद्र ८, २०७६ १४:०६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT