कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिका–चीन व्यापार युद्ध : चीनको जवाफी कार्वाही

लक्ष्मी लम्साल

बेइजिङ — अमेरिका विरूद्धको व्यापार युद्ध निरन्तर चर्किने संकेत स्वरूप चीनले पनि जवाफी कार्वाही सुरू गरेको छ। अमेरिकी व्यापार प्रतिनिधि कार्यालयले चीनबाट आयात गर्ने करिब ३ खर्ब अमेरिकी डलरका सामानमाथि दुई चरणमा १० प्रतिशत भन्सार कर असुल्ने घोषणा गरेको दश दिन पनि नबित्दै चीनले जवाफी कार्वाहीको घोषणा गरेको हो। 

अमेरिका–चीन व्यापार युद्ध : चीनको जवाफी कार्वाही

अमेरिकाले गत अगष्ट १५ तारिख गरेको भन्सार कर वृद्धिको घोषणा क्रमशः सेप्टेम्बर १ र डिसेम्बर १५ तारिखदेखि कार्यान्वयनमा आउनेछ। बदलास्वरूप चीनले पनि शुक्रबार एउटा घोषणा गर्दै अमेरिकामा उत्पादित ५ हजार ७८ वटा वस्तुका करिब ७५ अर्ब डलरका सामानमाथि क्रमशः १० र ५ प्रतिशत भन्सार कर बढाएको छ। जुन अमेरिकाले घोषणा गरेकै मितिदेखि लागू हुनेछ।


यसअघि चीन र अमेरिकी शीर्ष नेताबीच अर्जेन्टिना वार्तामा गत वर्षको डिसेम्बर १४ मा यस वर्षको जनवरीदेखि तीन महिनासम्म वृद्धि गरिएको भन्सार कर नअसुल्ने र वार्ता जारी राख्ने सहमति भएको थियो।


गत अप्रिलदेखि स्थगित भन्सार कर निरन्तर राख्ने चीनको सदाशयताका बाबजुद अमेरिकाले मे १० देखि २ खर्ब डलरको चिनियाँ सामानमा १० प्रतिशतको भन्सार कर २५ प्रतिशतसम्म बढाउने घोषणा गरेपछि स्थिति बिग्रिएको हो। त्यसपछि अगष्ट १५ मा अमेरिकाले फेरि ३ खर्ब डलरका चिनियाँ सामानमा १० प्रतिशत भन्सार कर थप्ने घोषणा गर्यो। चीनले भनेको छ, ‘अमेरिकाका यी कदमले आपसी व्यापार संघर्ष बढाएको छ र शीर्ष नेताबीचको अर्जेन्टिना र ओसाका सहमति भंग गरेको छ।’


अमेरिकाका लागि चीन नै सबैभन्दा ठूलो वैदेशिक बजार हो। सन् २०१७ मा अमेरिकाले निर्यात गर्ने भटमासको ५७ प्रतिशत चीनमा बेचिएको थियो। तर सन् २०१८ मा अमेरिकी भन्सार नीति र चीनको जवाफी कदमले अमेरिकी भटमासको चीनतर्फ निर्यात मात्रा करिब १८ प्रतिशतमा झरेको थियो।


अर्जेन्टिना वार्तापछि चीनले अमेरिका उत्पादित मोटर गाडी र कलपूर्जामा थप भन्सार कर असुल्न रोकेको थियो तर अमेरिकाले सर्त तोडेको आरोपमा चीनले पनि फेरि अमेरिकी पार्टपूर्जामा पुनः भन्सार असुल्नेछ। चीनले आफ्नो कदम अमेरिकाको एकपक्षीयतावाद र व्यापारिक संरक्षणवादको प्रतिकारमा भएको दावी गरेको छ। उसले भनेको छ, ‘आर्थिक तथा व्यापारिक विवादमा चीनले सदैव सहयोगको तरीकामार्फत समाधान खोज्न चाहन्छ तर महत्वपूर्ण सैद्धान्तिक मामिलामा पछि हट्दैन।’

प्रकाशित : भाद्र ७, २०७६ १३:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?