कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेजनमा भीषण डढेलो 

विश्वको सबैभन्दा ठूलो ‘रेन फरेस्ट’ अमेजनले पृथ्वीको २० प्रतिशत अक्सिजन उत्पादन गर्छ
एजेन्सीहरू

साओ पाउलो/पेरिस — ‍विश्वकै ठूलो वनक्षेत्र अमेजनमा लागेको डढेलोले फैलिँदै गएपछि त्यसले अन्तर्राष्ट्रिय चासो बढाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार गत सोमबारदेखि ब्राजिलको अमेजन क्षेत्रमा फैलिएको डढेलो हाल २ हजार ५ सयभन्दा बढी स्थानमा सक्रिय छ ।

अमेजनमा भीषण डढेलो 

अमेजन वनक्षेत्र लागेको डढेलोबाट आएको धुवाँका कारण करिब २ हजार ७ सय किलोमिटर टाढाको साओ पाउलोमा दिउँसै अन्धकारसमेत भएको जनाइएको छ ।

डढेलो फैलिँदै गएपछि ब्राजिलको छिमेकी देश बोलिभियामा समेत ठूलो असर पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अधिकारीहरूका अनुसार देशको दक्षिण–पूर्वी सन्तक्रुज प्रान्तको ५ लाख हेक्टर क्षेत्र डढेलोले नष्ट भइसकेको छ ।

विश्वको निकै गरिबमध्येको एक बोलिभियाले डढेलो नियन्त्रणका लागि छिमेकी पाराग्वे र ब्राजिललाई सहयोग गर्न आग्रह गरेको छ । राष्ट्रपति इभो मोरालेसले अग्नि नियन्त्रण हवाईजहाज सुपर ट्यांकर ७४७ भाडामा लिएर डढेलो नियन्त्रण प्रयास गरेको बताएका छन् । जहाजले ७० हजार लिटर पानी बोक्न सक्छ । यद्यपि, उक्त जहाज कहिलेसम्म आइपुग्ने भन्ने स्पष्ट छैन ।


वातावरण क्षेत्रमा क्रियाशील संस्था तथा अनुसन्धानमर्कीले डढेलो फैलिनुमा मानिस जिम्मेवार भएको बताएका छन् । गैरनाफामूलक संस्था ‘अमेजन वाच’ का कार्यक्रम निर्देशक क्रिस्टियन पोइरियरले भनेका छन्, ‘अमेजनमा फैलिएका मध्ये अधिकांश डढेलो मानिसले लगाएका हुन् ।’ उनका अनुसार त्यसका लागि गोठाला र कृषकहरू जिम्मेवार छन् । वातावरणविद्का अनुसार डढेलोका लागि जंगल फँडानी गरी बस्ती विस्तार गर्न खोज्नेहरू जिम्मेवार छन् ।


फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले अमेजनमा फैलिएको दशकयताकै ठूलो डढेलोलाई ‘अन्तर्राष्ट्रिय संकट’ को संज्ञा दिएका छन् । म्याक्रोंले उक्त विषय आसन्न ‘जी–७’ सम्मेलनको प्राथमिकताको विषय हुनुपर्ने बताएका छन् ।

ठूला अर्थतन्त्रहरूको समूह जी–७ सम्मेलन शनिबार फ्रान्सको राजधानी पेरिसमा सुरु हुँदै छ । सम्मेलनको आयोजकका तर्फबाट म्याक्रोंले अमेजनको स्वास्थ्यसँग अन्तर्राष्ट्रिय सरोकार जोडिएको बताएका छन् ।


‘हाम्रो घर जलिरहेको छ,’ म्याक्रोंले ट्वीटरमा लेखेका छन्, ‘पृथ्वीमा २० प्रतिशत अक्सिजन उत्पादन गर्ने अमेजन अहिले आगोमा छ ।’ उनले भनेका छन्, ‘यो अन्तर्राष्ट्रिय संकट हो । जी–७ सम्मेलनका सदस्यहरू, आउनुस् यो आपत्कालीन अवस्थाबारे कुरा गरौं ।’


ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारूले यसअघि डढेलोसँग जुध्न साधनस्रोतको अभाव रहेको बताएका थिए । वातावरणसम्बन्धी नीतिका कारण आलोचित बोल्सोनारूले गैरसरकारी पक्षहरूले डढेलो फैल्याएको दाबी गरेका छन् । तर काठ व्यापारी र कृषकलाई जमिन खाली गर्न बोल्सोनारूको सरकारले प्रोत्साहन गरेपछि अमेजनको यस्तो हबिगत भएको संरक्षणकर्मीहरूको आरोप छ ।


बोल्सोनारूले फ्रान्सका राष्ट्रपति म्याक्रोंको ट्वीटप्रति कडा टिप्पणी गरेका छन् । म्याक्रोंले ब्राजिलको आन्तरिक विषयलाई ‘आफ्नो राजनीतिक फाइदा’ को विषय बनाएको उनको आरोप छ ।


बोल्सोनारूले आफू अमेजनबारे छलफल गर्न तयार रहेको बताउँदै त्यो ‘वस्तुगत विवरण र आपसी सम्मान’ मा आधारित हुनुपर्ने बताए । तर त्यो ‘जी ७’ जस्तो अन्तर्राष्ट्रिय मञ्चमा छलफल गर्नुपर्ने विषय नभएको उनको भनाइ छ ।

बोल्सोनारूले सामाजिक सञ्जालमार्फत् ‘अमेजन वनक्षेत्र पर्ने देशहरू जी–७ मा नभएकाले फ्रेन्च राष्ट्रपतिको सुझाव अप्रासंगिक भएको जनाएका छन् । उनले भनेका छन्, ‘म्याक्रोंको सोच उपनिवेशवादी हो, २१ औं शताब्दीमा यस्तो सोचलाई कुनै स्थान छैन ।’


संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले अमेजन वनक्षेत्र जैविक विविधताको मुख्य स्रोत रहेको भन्दै ‘संरक्षणका लागि सक्रिय’ हुनुपर्ने बताएका छन् । गुटेरसले ट्वीट गरेका छन्, ‘विश्वव्यापी रूपमा जलवायु संकट बढिरहेका बेला हामी अक्सिजन र जैविक विविधतामा थप क्षति बेहोर्न सक्दैनौं । अमेजनको संरक्षण हुनैपर्छ ।’


‘नेसनल इन्स्टिच्युट फर स्पेस रिसर्च’ (आईएनपीई) का अनुसार गतवर्षको तुलनामा यस वर्ष ब्राजिलमा डढेलोको संख्या ८५ प्रतिशतले बढेको अन्तरिक्षबाट लिइएका विवरणले पुष्टि गरेको जनाएको छ । तीमध्ये अधिकांश अमेजन वनक्षेत्रमा फैलिएको हो ।


आईएनपीईले गत जनवरीदेखि अगस्टसम्ममा ७२ हजार स्थानमा डढेलो लागेको पहिचान भएको जनाएको छ । सन् २०१३ पछिकै यो सबैभन्दा बढी संख्या हो ।


ब्राजिलको उत्तरी राज्य रोराइमाको वनक्षेत्रमा संकटकाल घोषणा गरिएको छ । अन्तरिक्षबाट खिचिएका तस्बिरमा उक्त क्षेत्रका अधिकांश भाग कालो मुस्लोले ढाकेका देखिन्छ । सुक्खायाममा डढेलो लाग्ने क्रम ब्राजिलमा नौलो नभए

पनि गैरकानुनी रूख कटान गर्ने र पशुपालनका लागि मानिसले जानीजानी आगो लगाउन थालेको बताइन्छ ।


अन्तरिक्षबाट संकलित तथ्यांकअनुसार नयाँ बाली लगाउनुअघि किसानले खोस्टा जलाएपछि डढेलो फैलिएको दाबी गरिएको छ । विश्वको सबैभन्दा ठूलो ‘रेन फरेस्ट’ अमेजन कार्बन भण्डारण भएको मुख्य क्षेत्र हो । यद्यपि, विश्वव्यापी तापमान वृद्धिसँगै त्यो घट्दो क्रममा छ ।

प्रकाशित : भाद्र ७, २०७६ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?