कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एक्लिए चाम्लिङ

पर्वत पोर्तेल

सिक्किम, गान्तोक — १० औं राज्य विधानसभा निर्वाचनअघिसम्म सिक्किममा पवन चाम्लिङको एकछत्र राज थियो । २५ वर्ष सिक्किम हाँकेका चाम्लिङ अहिले एक्लिएका छन् । 

एक्लिए चाम्लिङ

उनको पार्टी सिक्किम डेमोक्रेटिक फन्टबाट विजयी १० सांसद गतसाता भारतीय जनता पार्टी (भाजपा) प्रवेश गरे । त्यसैगरी, दुई सांसद जीटी ढुंगेल र एमप्रसाद सत्तारुढ पार्टी सिक्किम क्रान्तिकारी मोर्चा प्रवेश गरे ।

१२ सांसद पार्टी छाडेर अन्यत्र गएपछि अब एसडीएफमा चाम्लिङ एक्लै छन् । चाम्लिङले नाम्चीको सिंगिथाङबाट जितेका थिए । पार्टीमा चाम्लिङको निरंकुशता बढेको भन्दै सांसदहरूले उनलाई एक्ल्याएका हुन् । ‘पछिल्लो समय पार्टीमा मतभेद बढेको थियो,’ पीएस गोलेको पार्टी प्रवेश गर्नुअघि सांसद ढुंगेलले भनेका थिए, ‘मतभेदबीच पार्टीमा बसिरहनु उपयुक्त लागेन ।’

दुई सांसद आएपछि सिक्किम क्रान्तिकारी मोर्चाको १८ सिट पुगेको छ । भाजपा १० र एसडीएफ १ सिटमा छ । बाँकी ३ सिटमा उपनिर्वाचन हुँदै छ । तर, सबै सिटमा क्रान्तिकारी मोर्चाले जित्ने अनुमान छ ।

मुख्यमन्त्री गोले भाजपाको सिक्किम प्रवेशले आफ्नो पार्टीलाई कुनै असर नपर्ने जनाए । उनले भने, ‘सिक्किमे जनता कहिल्यै पनि भाजपाको पक्षमा छैनन् ।’ विगतमा भापजाले सिक्किमबाट जितेको इतिहास छैन । नेपालीभाषी बाहुल्य यो सानो राज्यमा केन्द्रीयभन्दा क्षेत्रीय पार्टीहरूकै दबदबा छ ।

पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीको पार्टी सिक्किम संग्राम परिषद् त्यागेर चाम्लिङ एडीएफले सन् १९९३ मा एसडीएफ गठन गरेका थिए । पार्टी गठनलगत्तै उनले भण्डारीको पार्टीलाई अल्पमतमा पारेका थिए । सन् १९९९ को निर्वाचनपछि चाम्लिङले बहुमत पाएर सरकार बनाएका थिए । गोलेको एसकेएम पार्टी सन् २०१४ मा स्थापना भएको हो ।

चाम्लिड सन् १९९४ देखि निरन्तर मुख्यमन्त्री बन्दै आएका छन् । उनी सिक्किमका पाँचांै मुख्यमन्त्री हुन् । सबभन्दा लामो समय मुख्यमन्त्रीको कुर्सीमा बस्ने उनी पहिलो भारतीय हुन् । उनी २५ वर्षदेखि मुख्यमन्त्रीको कुर्सीमा थिए । उनले पश्चिम बंगालका तत्कालीन मुख्यमन्त्री ज्योति वसुको नामको रेकर्ड पनि तोडेका छन् । यसअघि वसु सबभन्दा बढी समय मुख्यमन्त्री हुने नेता थिए ।

पहिलो मुख्यमन्त्री काजी लेन्डुप दोर्जे हुन् । इन्डियन नेसनल कंग्रेसबाट जितेका उनी सन् १९७५ मे १६ देखि १८ अगस्ट १९७९ सम्म मुख्यमन्त्री भएका थिए । त्यसपछि करिब तीन महिना अर्थात् १८ अगस्ट १९७९ देखि १८ अक्टोबर १९७९ सम्म राष्ट्रपति शासन लागू भएको थियो ।

करिब तीन महिना लामो संक्रमणकालीन अवस्थापछि नरबहादुर भण्डारी सिक्किमको मुख्य मन्त्री बने । १८ अक्टोबर १९७९ देखि ११ मे १९८४ सम्म । उनी सिक्किम जनता परिषद् नामक पार्टीको नेता थिए । ११ मे १९८४ देखि २५ मे १९८४ सम्म करिब १५ दिन इन्डियन नेसनल कंग्रेसका नेता बीबी गुरुड मुख्यमन्त्री बने । करिब ११ महिनासम्म पुन: राष्ट्रपति शासन लागू भयो ।

८ मार्च १९८५ देखि १७ जुन १९९४ सम्म पुन: नरबहादुर भण्डारी मुख्यमन्त्री बने । त्यो बेला यिनको दलको नाम फेरिएर सिक्किम संग्राम परिषद् बनिसकेको थियो । हाल सिक्किममा यो दलको कुनै अस्तित्व नै छैन । भण्डारीपछि १७ जुन १९९४ देखि १२ डिसेम्बर १९९४ सम्मको करिब ७ महिना सञ्चमान लिम्बू मुख्यमन्त्री बने । सञ्चमानपछि १२ डिसेम्बर १९९४ यता उनी सिक्किममा निरन्तर मुख्यमन्त्री रहे ।

प्रकाशित : भाद्र ५, २०७६ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?