कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कश्मीर मुद्दामा ट्रम्पको चासो

भारत र पाकिस्तानका प्रधानमन्त्रीलाई टेलिफोन
सुरेशराज न्यौपाने

(नयाँदिल्ली) — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कश्मीर मुद्दाप्रति विशेष चासो राख्दै भारत र पाकिस्तानलाई आपसी तनाव कम गर्न आग्रह गरेका छन् । ट्रम्पले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई पालैपालो फोन गरेर त्यस्तो आग्रह गरेका हुन् । 

कश्मीर मुद्दामा ट्रम्पको चासो

दुई प्रधानमन्त्रीसँगको कुराकानीलाई टीटमार्फत् सार्वजनिक गर्दै ट्रम्पले भनेका छन्, ‘व्यापार, रणनीतिक साझेदारी अझ त्योभन्दा पनि कश्मीर मुद्दालाई लिएर दुई मुलुकबीच देखिएको तनाव कम गर्ने विषयमा मेरा दुई असल मित्रहरू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग कुराकानी भयो । यो अनुपयुक्त समय भए पनि निकै राम्रो कुराकानी भयो ।’


त्यसको जवाफमा भारतीय प्रधानमन्त्री मोदीले ‘भारतविरुद्धको हिंसा र बयानबाजी यस क्षेत्रमा शान्ति कायम गर्न प्रतिकूल भएको बताएका’ भारतको विदेश मन्त्रालयले जनाएको छ । ‘प्रधानमन्त्रीले आतकंवाद एवं हिंसामुक्त माहोल बनाउन र सीमापार आतकंवादमा रोक लगाउने विशेष जोड दिनुभयो,’ मन्त्रालयले मोदीको भनाइ उद्धृत गर्दै विदेश मन्त्रालयले भनेको छ । मोदी र ट्रम्पबीचको टेलिफोन वार्ता करिब ३० मिनेट चलेको थियो ।


‘प्रधानमन्त्रीले गरिब, निरक्षरता एवं रोगको विरुद्ध सहयोगका लागि जुनसुकै देशलाई पनि सहयोग गर्न भारत तयार छ,’ भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


उता ट्रम्पसँगको कुराकानीमा खानले ‘कश्मीरमा मानवसंकट आउन लागेको र त्यसका लागि अन्तर्राष्ट्रिय मानवअधिकार संगठनका पर्यवेक्षक पठाउनुपर्ने आवश्यकता रहेको’ बताएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । खानले दुई सातादेखि कश्मीरमा कफर््यु लगाइएको र आफूहरूलाई प्राप्त सूचनाअनुसार स्थानीय नेतालगायत हजारौं कश्मिरीलाई नियन्त्रण लिइएको उल्लेख गरेका थिए । टेलिफोन वार्ताका क्रममा खानले कपितयलाई कश्मिरीलाई अन्यत्र जान बाध्य पारिएको समेत ट्रम्पलाई जानकारी गराएका पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरेसीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । नरेन्द्र मोदी नेतृत्वको सरकारले अगस्ट ५ मा जम्मु–कश्मीरको विशेषाधिकार खारेज गर्ने निर्णय गरेपछि भारत र पाकिस्तानबीचको सम्बन्ध थप तनावपूर्ण बनेको छ । दुवैले अन्तर्राष्ट्रिय समुदायलाई आफ्नो पक्षमा पार्ने प्रयास जारी राखेका छन् । भारतले उक्त निर्णयलाई आफ्नो आन्तरिक मामिला बताउँदै आएको छ भने पाकिस्तानले सिमला सम्झौता र संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले गरेको यसअघिको निर्णय भारतले उल्लंघन गरेको दाबी गर्दै आएको छ ।


गत शुक्रबार पाकिस्तानको विशेष अनुरोधपछि भारतको धारा ३७० खारेज गर्ने निर्णय र जम्मु–कश्मीरको विषयमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा अनौपचारिक छलफल भएको थियो । पाकिस्तानले यस विषयमा सुरक्षा परिषद्मा विशेष छलफल हुनुपर्ने माग राख्दै पत्र लेखेपछि त्यस विषयमा छलफल भएको हो । सुरक्षा परिषद्का स्थायी सदस्य राष्ट्रहरूमध्ये चीनले पाकिस्तानको पक्षमा उभिँदै छलफल राख्नुपर्ने बताएको थियो ।


स्थायी र अस्थायी सबै सदस्यहरूबीच शुक्रबार भएको छलफल भने अनौपचारिक थियो । बैठक बसे पनि जम्मु–कश्मीर र भारतको पछिल्लो निर्णयका विषयमा छलफल भए पनि त्यसले कुनै निर्णय भने गरेन । बैठकले भारत र पाकिस्तान दुवैलाई विगतका सम्झौता र समझदारीका आधारमा जम्मु–कश्मीरको विवाद सुल्झाउन सुझाव दिइएको बताइएको छ ।


अनौपचारिक भए पनि बैठक र त्यसको सुझावलाई भारत र पाकिस्तान दुवै आआफ्नोअनुकूल व्याख्या गरेका थिए । भारतले सुरुदेखि नै धारा ३७० खारेजीको निर्णयलाई आफ्नो आन्तरिक मामिला भन्दै भएको छ र सुरक्षा परिषद्ले पनि त्यससम्बन्धमा कुनै ठोस निर्णय गर्नुले पनि त्यसको पुष्टि भएको उसको दाबी छ । अर्कोतर्फ पाकिस्तानले भने सुरक्षा परिषद्मा जम्मु–कश्मीरको विषयमा छलफल हुनुले नै यो विषय भारतको आन्तरिक विषय मात्र नभएको प्रमाणित भएको दाबी गरेको छ ।


प्रकाशित : भाद्र ४, २०७६ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?