कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जिब्राल्टरले छाड्यो इरानी ट्यांकर 

एएफपी

जिब्राल्टर — अमेरिकाको आग्रह अस्वीकार गर्दै जिब्राल्टारले इरानी तेल ट्यांकर रिहा गरेको छ । रिहा भएलगत्तै ट्यांकर ग्रिसको कलम्टाका लागि प्रस्थान गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

जिब्राल्टरले छाड्यो इरानी ट्यांकर 

जिब्राल्टरको तटीय इलाकाबाट गत जुलाई ४ मा नियन्त्रणमा लिइएको इरानी सुपर–ट्यांकर ‘ग्रेस–१’ लाई आइतबार छाडिएको हो । जिब्राल्टरको सर्वोच्च अदालतका एक न्यायाधीशले गत बिहीबार ट्यांकर छाड्न आदेश दिएका थिए । इरानले ट्यांकरको नाम परिवर्तन गरी ‘एड्रियन डार्‍या–१’ राखेको जनाएको छ ।


जिब्राल्टर अदालतको आदेशलगत्तै इरानले नयाँ चालक दल जिब्राल्टर पठाएको थियो । ट्यांकर छाड्नुअघि इरानले युरोपेली संघका प्रतिबन्ध भएका मुलुकमा नपठाउने लिखित प्रतिबद्धता जिब्राल्टर सरकारसमक्ष व्यक्त गरेको जनाइएको छ । जिब्राल्टर अदालतको आदेशपछि अमेरिकी न्याय मन्त्रालयले ट्यांकर पुनः नियन्त्रणमा लिन पक्राउ पुर्जी जारी गरेको थियो । अमेरिकी आग्रहको अवज्ञा गर्दै जिब्राल्टारले ट्यांकर छाडेको हो ।


जिब्राल्टारद्वारा जारी विज्ञप्तिमा ‘इरानविरुद्ध अमेरिकाले लगाएको प्रतिबन्ध युरोपेली संघमा लागू नहुने’ उल्लेख गरेको छ । उसले भनेको छ, ‘इस्लामिक रेभोलुसनरी गार्ड कोर्प्सलाई अमेरिकालेजस्तो युरोपेली संघले आतंकवादी संगठनका रूपमा हेरेको छैन ।’ जिब्राल्टर बेलायत नियन्त्रित टापु हो ।


अमेरिकाले उक्त ट्यांकरले इरानी तेल तस्करी गरी सिरिया लैजान खोजेको दाबी गरेको थियो । जिब्राल्टरले युरोपेली संघका प्रतिबन्ध उल्लंघन गरी ट्यांकरले सिरियातर्फ इन्धन लगेको आशंकामा नियन्त्रणमा लिएको जनाएको थियो । जिब्राल्टरको कदमपछि बेलायत र इरानबीचको सम्बन्धमा गतिरोध आएको थियो । इरानले पटकपटक आफूले कुनै नियम उल्लंघन नगरेको दाबी गर्दै आएको थियो ।


जिब्राल्टरको कदमको विरोधमा इरानले बेलायती ध्वजाबाहक ‘स्टेना इम्पेरो’ नामक तेल ट्यांकर कब्जामा लिइसकेको छ । ‘स्ट्रेट अफ होर्मुज’ बाट बेलायती नियन्त्रणमा लिइएको ट्यांकर हालसम्म पनि इरानको नियन्त्रणमा छ । ‘एड्रियन डार्‍या–१’ (ग्रेस–१) को रिहाइसँगै इरानले उक्त ट्यांकर छाड्नेसमेत अनुमान गरिएको छ ।


इरानी विदेश मन्त्रालयका प्रवक्ताले ‘आफूहरूले ट्यांकर रिहा गर्नेबारे अदालको आदेश पर्खिरहेको’ जनाएका छन् । उनले ‘अन्तर्राष्ट्रिय जलक्षेत्रका पानीजहाज नियन्त्रणमा लिने प्रयास नगर्न अमेरिकालाई चेतावनी’ समेत दिएका छन् ।


इरानले ‘आफ्नो माछा मार्ने डुंगालाई ठक्कर दिएर पनि कुनै वास्ता नगरेपछि ट्यांकर नियन्त्रणमा लिएको’ जनाएको थियो । यद्यपि, ट्यांकर मालिकले ‘स्टेना इम्पेरो’ ले कुनै अन्तर्राष्ट्रिय नियम उल्लंघन नगरेको तथा नियन्त्रण लिइएका बेला अन्तर्राष्ट्रिय जलक्षेत्रमा रहेको’ दाबी गर्दै आएका छन् ।


पर्सियन र ओमानको खाडीबीचको २१ मिटर चौडा ‘स्ट्रेट अफ होर्मुज’ खाडीको रणनीतिक क्षेत्र हो । खाडी क्षेत्रबाट तेल ओसापसारका लागि प्रयोग हुने मुख्य नाका ‘स्ट्रेट अफ होर्मुज’ बन्द भए विश्व अर्थतन्त्रमाथि नै नकारात्मक असर पर्छ । जुलाई सुरुमा बेलायतको सहयोगमा जिब्रल्टारमा इरानी ट्यांकर नियन्त्रणमा लिइएपछि स्ट्रेट अफ होर्मुजमा तनाव बढेको हो । बेलायतले सिरियाविरुद्ध युरोपेली संघले लगाएको प्रतिबन्ध उल्लंघन गरेको जनाउँदै ट्यांकर नियन्त्रणमा लिएको बताएको थियो तर इरानले त्यसको खण्डन गर्दै ‘बेलायती ट्यांकर नियन्त्रणमा लिने’ चेतावनी दिएको थियो ।

प्रकाशित : भाद्र ३, २०७६ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?