कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हङकङ आन्दोलनबारे अस्ट्रेलियामा प्रदर्शन

नारायण खड्का

अस्ट्रेलिया — हङकङमा जारी आन्दोलनले ११ साता नाघिसक्दा यसको असर अस्ट्रेलियामा समेत देखिएको छ । ठूलो संख्यामा चिनियाँ नागरिक बसोबास गरिरहेका अस्ट्रेलियाका विभिन्न सहरमा हङकङमा भइरहेको आन्दोलनको समर्थन र विरोधमा प्रदर्शन गरिएको छ । 

हङकङ आन्दोलनबारे अस्ट्रेलियामा प्रदर्शन

अस्ट्रेलियाको सिड्नी, मेलबर्न, ब्रिसबेन, एडिलेडलगायतका प्रमुख सहरमा हङकङमा जारी आन्दोलनको समर्थन र विरोधमा प्रदर्शन भएका हुन् । सयौंको संख्यामा रहेका प्रदर्शनकारीले हङकङमा भइरहेको प्रहरी दमन रोक्न तथा लोकतान्त्रिक मूल्य र मान्यता पालना गर्न माग गरे ।

हङकङमा जारी सरकाविरोधी आन्दोलनलाई समर्थन गर्दै प्रदर्शनकारीले शान्तिपूर्वक समाधानका लागि अस्ट्रेलियालगायतका देशलाई सहयोग गर्नसमेत आग्रह गरे । मुख ढाकेर शान्तिपूर्वक प्रदशर्नमा उत्रेका प्रदर्शनकारीले अस्ट्रेलियामा जस्तै हङकङमा पनि स्वतन्त्रता र लोकतन्त्रको अनुभूति गर्न पाउनुपर्ने माग गरे ।


हङकङका आन्दोलनकारीको पक्षमा शान्तिपूर्वक प्रदर्शन भइरहेका बेला चीन समर्थितसमेत सडकमा उत्रेका छन् । प्रदर्शनकारीले हङकङलाई माया नगर्नेले हङकङ तथा चीनलाई माया नगर्नेले हङकङ छाड्नुपर्ने माग गरेका थिए । प्रदर्शनमा अस्ट्रेलियामा अध्ययनरत चिनियाँ विद्यार्थी, दोस्रो तथा तेस्रो पुस्ताका चिनियाँ मुलका नागरिकका साथै भर्खरै आएका आप्रवासी सहभागी रहेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । विरोध कार्यक्रममा आयोजकमध्येका एक युवाले हङकङको पछिल्लो अवस्थाबारे जानकारी दिन प्रदर्शन गरिएको बताए ।


प्रदर्शनका क्रममा ठूलो मात्रामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो । केही स्थानमा हङकङको पक्ष र विपक्षका प्रदर्शनकारीबीच सामान्य झडप भए पनि अधिकांश प्रदर्शन शान्तिपूर्ण रहे । हङकङमा जन्मिएर केही महिनाअघि सम्पन्न निर्वाचनबाट सांसद बनेकी अस्ट्रेलियाली राजनीतिज्ञ ग्लाडिस ल्यूले आन्दोलनको शान्तिपुर्ण समाधान हुनुपर्ने बताएकी छन् । उनले हङकङमा विकसित घटनाक्रम पीडादायी भन्दै शान्तिपूर्ण समाधानको विकल्प नरहेको जनाइन् ।


यसैबीच, अस्ट्रेलियाका लागि चिनियाँ राजदूत चेङ जिङयेले विज्ञप्ति जारी गर्दै हङकङमा भइरहेका प्रदर्शन आन्तरिक मामिला भएको बताउँदै पक्ष वा विपक्षमा नउत्रन अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गरेका एबिसीले जनाएको छ । उनले हङकङमा ‘हिंसात्मक र गैरकानुनी प्रदर्शन गरिएको’ दाबी गर्दै ‘एक देश दुई शासन प्रणाली’ अनुसार चीनले हङकङमा शासन सञ्चालन गर्दै आएको स्मरण गराएका छन् ।

प्रकाशित : भाद्र २, २०७६ २०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?