कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जम्मु–कश्मीर विवाद : नेपालीबारे दूतावासको सुरक्षा चासो

सुरेशराज न्यौपाने

नयाँदिल्ली — जम्मु–कश्मीरमा रहेका नेपालीहरूको पछिल्लो अवस्थाका सम्बन्धमा दिल्लीस्थित नेपाली दूतावासले यहाँका प्रवासी नेपालीहरूका संगठनका प्रतिनिधिहरूसँग छलफल गरेको छ ।

जम्मु–कश्मीर विवाद : नेपालीबारे दूतावासको सुरक्षा चासो

नरेन्द्र मोदी सरकारले गत साता जम्मु–कश्मीरको विशेषाधिकार खारेजलगायतका निर्णयले भारत र पाकिस्तानबीचको सम्बन्ध तनावपूर्ण बन्दै गइरहेका बेला त्यहाँ विभिन्न पेसाव्यवसाय गर्दै आएका करिब ८० हजारको संख्यामा रहेका नेपालीको सुरक्षाबारे छलफल केन्द्रित थियो ।

छलफलमा भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले प्रवासी संगठनका प्रतिनिधिहरूसँग जम्मु–कश्मीरमा रहेका नेपालीको सुरक्षालगायतका विषयमा के–कसरी अगाडि बढ्न सकिन्छ भन्ने जिज्ञासा राखेका थिए । राजदूत आचार्यसँगको छलफलमा नेपाल कम्युनिस्ट पार्टी, नेपाली कंग्रेस, राष्ट्रिय जनमोर्चालगायता राजनीतिक दलनिकट प्रवासी संगठनका प्रतिनिधि र दूतावासका अन्य अधिकारीको समेत उपस्थिति थियो ।

साथै, प्रवासी संगठनका प्रतिनिधिहरूले जम्मु–कश्मीरमा देखिएका पछिल्लो तनावका कारण त्यहाँ स्थायी र अस्थायी रूपमा बस्दै आएका नेपालीहरूले भोग्नुपरेका समस्याको जानकारी गराएका थिए । विशेषगरी कश्मीर उपत्यकामा नेपालीहरूको जीवनयापन दिन प्रतिदिन कष्टकर बन्दै गएको र नेपाल सरकारले भारत सरकारसँगको समन्वयमा आवश्यक पहल थाल्नुपर्ने सुझाव पनि उनीहरूले दिएका थिए ।

‘जम्मु–कश्मीरका नेपालीले भोग्नुपरेको समस्याका बारेमा थाहा पाएसम्मका जानकारी राख्यौं,’ छलफलमा सहभागी पूर्व एकीकृत नेकपा माओवादीनिकट पूर्वअखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय सचिव आरबी खड्काले भने । प्रवासी नेपाली संगठनहरूका अनुसार जम्मु–कश्मीरका कठुवा, साम्बा, जम्मु सहर, उद्यमपुर, कश्मीरको श्रीनगर, पहलगाम, कार्गिल, लेह–लद्दाक, बारामुला, पुलवामा, गुलमोहर लगायत स्थानमा नेपालीको बाक्लो उपस्थिति छ । तिनीहरूमध्ये धेरैजसो मजदुरी, चौकीदारी, कुक, भरिया र साना व्यापारलगायतका काममा संलग्न रहेको बताइन्छ ।

मोदी सरकारले गत सोमबार जम्मु–कश्मीरले उपभोग गर्दै आएको संविधानको धारा ३७० र धारा ३५ (क) खारेज गरे पछि त्यहाँको परिस्थिति तनावपूर्ण बनेको हो जम्मु र लेह–लद्दाक क्षेत्रमा परिस्थिति केही सहज भए पनि कश्मीर उपत्यकाभित्र त्यसमा पनि श्रीनगरको स्थिति भने अझै असहज रहेको छ । ईदका लागि आइतबार सुरक्षा व्यवस्था केही खुकुलो बनाइएको भए पनि बुधबार स्वतन्त्रता दिवसलाई ध्यानमा राख्दै पुनः कडाइ गरिएको छ ।

जसका कारण विशेषगरी श्रीनगर र आसपासका जिल्लामा रहेका नेपालीलाई दैनिक उपभोग्य सामान किन्न पनि कडाइ भएको धारणा दूतावासमा भएको छलफलमा सहभागी प्रवासी नेपाली संगठनका प्रतिनिधिहरूले राखेका थिए । साथै, जम्मु–कश्मीरमा देखिएको तनावपूर्ण स्थितिले त्यहाँको पर्यटन क्षेत्रमा ठप्प भएको हुँदा त्यस क्षेत्रमा काम गर्ने नेपालीको रोजगारी नै संकट परेको समेत उनीहरूले बताएका थिए ।

साथै आफूहरूले जम्मु–कश्मीरमा रहेका नेपालीको अवस्था बुझ्न दूतावास र प्रवासी संगठनहरूको प्रतिनिधिहरू सम्मिलित संयुक्त टोली पठाउनका पहल गर्नसमेत दूतावासलाई आग्रह गरेको समेत उनले जानकारी दिए ।

प्रकाशित : श्रावण ३०, २०७६ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?